लण्डन । एकजना बृद्धा महिलाको कंकालरुपी लाश आठ वर्षसम्म उनकै घरभित्र रहेको अवस्थामा भेट्टाएको समाचार प्राप्त भएको छ । अस्ति मंगलवारको दिनमा उनको लाशको अवशेष प्रहरीले फेला पारेको थियो । न्यू साउथ वेल्श स्टेट अस्ट्रेलियाका प्रहरीलाई मृतककी बुहारीले मृतक महिलाबारे सन् २००३ सालबाट कहिल्यै सम्पर्क नभएको खबर गरेपछि प्रहरी त्यस महिलाको घरमा गएको थियो । अर्को महिनामा महिला ८७ वर्षको उमेर पूरा गर्ने थिईन् । अहिलेसम्म उनका बारेमा हराएको भनेर कसैले खबर दिएका थिएनन् । छिमेकीहरुका अनुसार त्यस महिलालाई वर्षौंसम्म नदेखेपछि अन्यत्र सरेर गएकी होलिन् भनेर सोचेका थिए । उनका यस संसारमा आफन्त भन्ने एकमात्र जेवलान नाम गरेकी बुहारी छिन् र उनी छुट्टै बस्दै आएकी छिन् । बुहारीसँग सन् २००३ मा झगडा भएकोले गर्दा त्यसबेलादेखि नै मुख बोल्ने थिएनन् । बृद्धा महिलाको नाम खुलाएको छैन । तर, सरकारको सेन्टरलिङ्क, वेल्फेयर विभागले भने लगातार उनको ब्याङ्क खातामा राहत पैसा पर्ठाई नै रहेको थियो । वर्षौंसम्म बिजुली, पानी र ग्याँसको पैसा नतिरेकोले सबै सप्लाइ बन्द गरिएको थियो । ब्याङ्कमा वेल्फेयर विभागले पठाएको पैसा कसैले चलाएको थिएन । मृत्युलाई लिएर कसैले मारेको होला भन्ने केही शंका गर्ने ठाउँ थिएन किनभने त्यस घरभित्र कुनै व्यक्ति प्रवेश गरेको चिन्ह थिएन । प्रहरीले घरलाई मरम्मत गरेर राखेको अवस्थामा रहेको भेट्टाएको थियो । बृद्धा महिलाको कंकालरुपी लाशलाई प्रहरीले थप अनुसन्धानका लागि राखेको छ । अस्ट्रेलियाई सरकारले मृत्यु भएको ८ वर्षसम्म कुनै बृद्धा महिला मरेकी थाहा नहुँदा तथा ८ वर्षसम्म सरकारको वेल्फेयर विभागले लगातार चेक काटेर पैसा पठाइरहँदासम्म कसैले जाँचबुझ नगरेकोमा यससम्बन्धी अनुसन्धान गर्नकालागि आदेश जारी गरेको छ । श्रोत – नेट, सुमल, मेस ।
प्रतिक्रिया