ढुङ्गानाको गैरकानुनी हर्कत

■ श्रीविक्रम भण्डारी
घटना र विचारमा प्रकाशित समाचारलाई आधार बनाई गत चैत १८ गते राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले एक छानबिन समिति गठन गरेका थिए । उक्त तीन सदस्यीय छानबिन समिति परिषद्का सदस्य देवकुमार अधिकारी (बद्री)को संयोजकत्वमा गठन गरिएको थियो । जसमा राखेपका प्रशासन विभाग प्रमुख सुरेशकुमार ढुङ्गाना र कानुन शाखाका प्रमुख नारायणराज अर्याल सदस्य रहेका थिए । तर, विडम्बना ! छानबिन समितिका सदस्य एवम् सदस्यसचिव विष्टका विश्वासपात्र सुरेशकुमार ढुङ्गानाले गैरजिम्मेवारी कार्य गर्दै हिँडेपछि छानबिन कमिटीको औचित्यमाथि नै प्रश्नचिह्न खडा भएको छ । जसले गर्दा राखेपले गठन गरेको छानबिन समिति छानबिन गर्नुअघि नै विवादमा तानिएको छ ।
प्राप्त जानकारीअनुसार छानबिन समितिले कार्य प्रारम्भ गर्नुअघि नै छानबिन समितिका सदस्य एवम् परिषद्का जिम्मेवार प्रशासन विभागीय प्रमुख सुरेशकुमार ढुङ्गानाले छानबिन गर्नुपर्ने व्यक्ति कमल खनालसँग साँठगाँठ गरी उनलाई जोगाउन हिँडेपछि छानबिन समिति विवादमा तानिएको हो । स्मरणीय छ, ढुङ्गाना खनाललाई जोगाउन आवश्यक कागजात बोकी घटना र विचारमा समेत पुगेका थिए । खनाललाई जोगाउन ढुङ्गानाले घटना र विचारलाई दिएको कागजपत्र सुरक्षित राखिएको छ । यो विषयमा कमल खनालसँग सम्पर्क गर्दा आफूले नै ढुङ्गानालाई आवश्यक कागजपत्र दिएर पठाएको बताएका थिए । यसरी छानबिन समितिको सदस्य नै छानबिन गर्नुपर्ने व्यक्तिलाई बचाउन ज्यान छोडेर लागेपछि छानबिन समितिको औचित्यसमेत धरापमा परेको छ । अब सदस्यसचिव विष्टले यस्तो गैरकानुनी कार्य गर्ने ढुङ्गानालाई कस्तो कारबाही गर्छन् त्यो चासोको विषय बनेको छ । अन्यथा छानबिन समिति अर्थहीन हुने कुरामा दुईमत छैन ।
राखेपका सदस्यसचिव केशवकुमार विष्टले घटना र विचारमा प्रकाशित समाचार र विधिविज्ञान प्रयोगशालाको पत्रसमेतलाई आत्मसात् गर्दै छानबिन समिति गठन गरेका थिए । त्यस्तै, विगतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कमल खनाल र विभागीय प्रमुख कुलबहादुर थापाको नियुक्ति ‘राजनियुक्ति’ र गैरकानुनी भएको भन्दै उजुरी परेको थियो । त्यसपछि अख्तियारले सो विषयमा छानबिन गर्न युवा तथा खेलकुद मन्त्रालयलाई निर्देशन दिएको थियो । मन्त्रालयले उपसचिव गणेशप्रसाद देवकोटाको संयोजकत्वमा तीनसदस्यीय छानबिन समिति गठन गरेको थियो । तर, विडम्बना ! मन्त्रालयले छानबिन समिति गठन गरे पनि उक्त छानबिन समितिले खनाल र थापाको मुद्दामा छानबिन गर्नुको साटो उल्टै उनीहरूलाई उन्मुक्ति दिने कार्य गरेको थियो । प्राप्त जानकारीअनुसार त्यसबेला देवकोटाको छानबिन कमिटी आर्थिक प्रलोभनमा परी छानबिन कार्यलाई फितलो बनाई मनगढन्ते, कपोलकल्पित र भ्रामक भनी छानबिन नै नगरी मन्त्रालयमै फाइल गायब गरिएको थियो । परिणाम, उनीहरूको नियुक्तिमा अहिलेसम्म पर्दा परेको थियो ।
वर्तमान अवस्थामा अहिले पुनः यो पर्दा उघ्रिएको छ । पर्दा उघार्ने कार्य घटना र विचारले गरेको छ । त्यसलाई मूर्तरूप दिन राखेपका सदस्यसचिव विष्टले साहस देखाएका छन । तर, परिषदको आन, बान र शान दाउमा लागेको अवस्थामा परिषद्कै जिम्मेवार कर्मचारी ढुङ्गानाले यसमा भाँजो हाल्ने दुस्साहस गरिरहेका छन् । खनाल बचाउन सदस्यसचिव विष्टसामु मनगढन्ते कुरा गर्न थालेका छन् । परिषद्मा रहेका आवश्यक दस्तावेज लुकाएर राखेका छन् ।

यसबारे विष्टले ढुङ्गानासँग कुरा गर्दा उनी केही नभएकोे जस्तो गरी सतही पारामा सदस्यसचिवलाई कागजपत्र देखाउन आनाकानी गरिरहेको स्रोतले बताएको छ । प्राप्त जानकारीअनुसार खनालका बारेमा घटना र विचारमा प्रमाणसहित प्रकाशित समाचारको सम्बन्घमा छानबिन समिति गठन गर्न टिप्पणी उठाउन सदस्यसचिव विष्टले ढुङ्गानालाई निर्देशन दिएका थिए । तर, ढुङ्गानाले पत्रपत्रिकामा निस्केको समाचारकै आधारमा छानबिन समिति गठन गर्नु नपर्ने बताउँदै टिप्पणी उठाउन आलटाल गरेपछि सचिवालयका एक कर्मचारीले टिप्पणी उठाएर छानबिन समिति गठन गरिएको थियो । साथै सो अवसरमा ढुङ्गानाले खनाल र थापाको सबै कुरा मन्त्रालयले मिलाइसकेको जानकारीसमेत विष्टलाई गराएका थिए । ढुङ्गानाको यो हर्कतबाट उनी खनाललाई जोगाउन ज्यान छोडेर लागेको पुष्टि हुन्छ । अन्यथा एक छानबिन समितिको सदस्यले छानबिन गर्नुको साटो छानबिनको दायरामा परेको व्यक्तिलाई बचाउन खोज्नुको अर्थ के हुन्छ ? जोकोहीले पनि सोझै अनुमान लगाउन सक्छ ।
त्यस्तै ०५२ मा तत्कालीन राखेपका उपाध्यक्ष सोमनाथ प्यासीको स्वकीय सचिवको रूपमा राजनीतिक नियुक्ति लिई कुलबहादुर थापा परिषद्मा छिरेका थिए । अख्तियारले थापाको नियुक्तिबारे पनि छानबिन गर्न निर्देशन दिएको थियो । तर, मन्त्रालयले अहिलेसम्म यो विषयमा कुनै सुनुवाइ गरेको छैन । खनाल र थापा दुवै प्रक्रियागतभन्दा पनि राजनीतिक शक्ति र ऐन–कानुनविपरीत गलत तरिकाले खेलकुदमा भित्रिएको प्रस्ट रूपमा थाहा पाउन सकिन्छ । तर, दुर्भाग्य ! ढुङ्गाना परिषद्को प्रशासन विभागको प्रमुख भएर आएपछि खनाल र थापालाई जोगाउने मेरो जिम्मेवारी हो भन्दै हिँडेको अहिले खेलकुदमा चर्चाको विषय बनेको छ । यसरी गैरकानुनी कार्य गर्नेलाई खुलेआम बचाउने र जोगाउने भन्दै आएका ढुङ्गानाको हर्कतबाट छानबिन समितिले कस्तो छानबिन गर्ला– सोझै अनुमान गर्न सकिन्छ । यसबाट छानबिन समितिले सत्यतथ्य बाहिर ल्याउँछ भन्ने कुरामा शङ्का गर्नु स्वाभाविकै हो । अर्कोतर्फ यतिबेला खनाल आफ्नो जागिर बचाउन राजनीतिक शक्तिकेन्द्रदेखि राखेपका कर्मचारीलाई परिचालन गरिरहेका छन् । यसको पुष्टि खनाल र ढुङ्गानाको अनैतिक साँठगाँठबाट पनि प्रस्ट हुन्छ ।
तर, आँट र साहस जुुटाएर छानबिन समिति गठन गर्ने सदस्यसचिव विष्ट र परिषद्का सदस्यमध्ये राम्रो छवि बनाएका देवकुमार अधिकारी (बद्री) को अग्निपरीक्षा भने अब सुरु भएको छ । अधिकारीको काँधमा मन्त्रालयले समेत गर्न नसकेको ठूलो जिम्मेवारी अवसर प्राप्त भएको छ । अब उनी यसमा कति खरो उत्रिन्छन् त्यो हेर्न बाँकीअ नै छ । यसर्थमा कि छानबिन समितिका एक सदस्यले छानबिन कमिटीको अस्तित्वमाथि नै चुनौती पेस गरेका छन् । अब छानबिन समितिले आगामी दिनमा कसरी आफ्नो कार्य अगाडि बढाउँछ छानबिन समितिको कामको आधारमा नै सबै कुरो मूल्याङ्कन हुनेछ । यदि छानबिन कमिटी असफल भयो भने सदस्यसचिव विष्ट पनि असफल हुनेछन् । तसर्थ छानबिन समितिलाई निष्पक्ष र स्वतन्त्र बनाउन राखेपले विशेष कदम चाल्नुपर्ने देखिएको छ । यसका लागि राखेपले संयोजक अधिकारीलाई लडखडाउन नदिन सहयोगी भूमिकासमेत निर्वाह गर्नुपर्छ । अन्यथा दुई दशकदेखि किर्ते गरी नियुक्ति, बढुवा र पुनर्वहालीका नाममा खेलकुदमा रजाइँ गर्दै आएका धमिराहरूले अझै ठूलो गुँड नलगाउलान् भन्न सकिँदैन । तसर्थ खेलकुदलाई स्वस्थ खेलकुद बनाउन अधिकारीको भूमिका अहिले विशेष बनेको छ । हेरौँ, अधिकारीले खुट्टा कमाउँछन् कि फतेह गर्छन् अब ।
प्रतिक्रिया