राष्ट्रपति ट्रम्पका पाँच घुम्ती

राष्ट्रपति ट्रम्पका पाँच घुम्ती


Manoj Rijal

■ मनोज रिजाल, न्युयोर्क

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका धेरै आलोचक छन् । तर, उनले कम्तीमा पनि पाँच आमसरोकारका क्षेत्रमा आफ्नो पहिलेको धारणामा परिवर्तन ल्याएर आलोचकलगायत सबैलाई एक संयुक्त उत्तर दिएका छन् । संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिको कार्यभार सम्हालेको पहिलो तीन महिनाभित्रै राष्ट्रपति ट्रम्पले अन्तर्राष्ट्रिय सम्बन्धका चार र घरेलु मामिलाको एक गरी कुल पाँच उल्लेखनीय क्षेत्रमा आफ्नो नयाँ दृष्टिकोणको विकास गरेका छन् । सबैभन्दा पहिलो र अग्रपङ्क्तिमा रहेको सरोकारको विषय भनेको अवश्य पनि सिरियासम्बन्धी मामिला नै हो ।

गत जनवरी २०, २०१७ मा आफ्नो कार्यकाल सुरु गर्नुअघिसम्म राष्ट्रपति ट्रम्पको विचारमा सिरियाली राष्ट्रपति बसर अल असदलाई सत्ताच्युत गर्नु जरुरी थिएन, किनभने उनको विचारमा अमेरिकाको लडाइँ असदविरुद्ध होइन, तर आइसिस भनिने सशस्त्र समूह (इस्लामिक स्टेट इन सिरिया एन्ड इराक)का विरुद्धमा थियो । तर हालसालै असदको सत्ताले दर्जनौँ निर्दोष केटाकेटी, दूधे बालबालिकाको समेत ज्यान जाने गरी गरेको क्रूर, अमानवीय रासायनिक आक्रमणपछि राष्ट्रपति ट्रम्पले अमेरिका–सिरिया सम्बन्धमा दीर्घकालीन असर पर्ने निर्णय गरेका छन् । उनको निर्णयअनुसार सिरियाको भविष्य निर्माणमा असदको कुनै भूमिका हुनुहुँदैन र अमेरिकाले असदको सत्ता र आइसिसविरुद्ध एकै समयमा लडाइँ लड्नेछ ।

राष्ट्रपति ट्रम्पको दोस्रो दृष्टिकोण परिवर्तन रुसको सम्बन्धमा रह्यो । उनले रुसलाई सकारात्मक रूपमा नै लिएका थिए । उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई कहिल्यै भेटेका थिएनन्, तर पुटिनको बारेमा कुरा गर्नुपर्दा ‘वास्तविक बलियो मान्छे’ भन्ने गर्थे । सिरियामा भएको रासायनिक आक्रमणपछि राष्ट्रपति ट्रम्पले रुसलाई सिरियासँगको रक्षा सम्बन्ध तोड्न र सिरियाली राष्ट्रपति असदलाई रुसले दिएको समर्थन अन्त्य गर्न आग्रह गरे । अमेरिकी विदेशमन्त्री रेक्स टिलरसन आफ्ना रुसी समकक्षी सर्गेई लाभरोभ र राष्ट्रपति पुटिनसँग वार्ता गर्न मस्को पुगे । विश्व समुदायको अपेक्षाविपरीत पुटिनले रासायनिक आक्रमण बसरको सत्ताले गराएको हो भन्ने तथ्य नै मान्न चाहेनन् । पुटिनले आरोपहरू जति सबै बसरविरुद्ध लडाइँ गर्दै आएका सिरियाली विद्रोहीमाथि थोपरे । पुटिनले यतिसम्म भने कि उनी असद र सिरिया सरकारसँगको कुनै पनि रक्षा–प्रतिरक्षासम्बन्धी रुसी सम्बन्ध तोड्न चाहँदैनन् । अमेरिका र रुसको सिरियासम्बन्धी बिल्कुलै विपरीत अडानले अमेरिका–रुस सम्बन्धलाई एक न्यूनतम बिन्दुमा झारिदिएको छ । र, अमेरिकी राष्ट्रपति ट्रम्पको विचारमा अमेरिकाको युरोप सरहको मित्रराष्ट्र बन्नका लागि रुसले विश्व रंगमञ्चमा धेरै लामो यात्रा तय गर्नुपर्ने हुन्छ ।

राष्ट्रपति ट्रम्पको विचारले तेस्रो मोड उत्तर एटलान्टिक सन्धि सङ्गठन वा नाटोका सम्बन्धमा लिएको देखिन्छ । नाटो वा नर्थ एटलान्टिक ट्रिटी अर्गनाइजेसनबारे भन्नुपर्दा उनले युरोप र अमेरिकाको यो संयुक्त सुरक्षा सङ्गठन काम नलाग्ने, पुरानो र उनकै शब्दमा भन्नुपर्दा अब्सोलिट अवस्थामा पुगिसकेको थियो । साथै, अमेरिकाले मात्रै यो सङ्गठनका लागि धेरै रकम योगदान गर्ने, तर अन्य मित्रराष्ट्रहरूले अत्यन्त न्यून रकम मात्रै योगदान गर्ने अवस्थाको पनि अन्त्य हुनुपर्छ भन्ने गर्थे । युरोप स–साना देशहरूले भरिएको यस्तो महादेश हो, जसलाई हरहमेसा आफूभन्दा तुलनात्मक रूपमा ठूलो एक छिमेकीको डर रही नै रहेको हुन्छ र त्यो छिमेकी हो– रुस । रुसले सिरियाको सम्बन्धमा अमेरिकालाई चिसो जवाफ दिइसकेको हुनाले विश्व घटनामा आफ्नो अभिमत परिवर्तन अनि युरोपसँग मित्रता गर्न अझै तयार नभइसकेको सन्देश दिएको छ । यसको अर्थ हुन्छ, अमेरिकाले युरोपको सन्दर्भमा रहेको उसको सुरक्षा जिम्मेवारीबाट अहिले नै पन्छिहाल्ने अवस्था छैन । ‘मैले यसलाई पहिले अब्सोलिट भनेको थिएँ । म आफ्नो भनाइ फिर्ता लिन्छु । नाटो अब्सोलिट छैन,’ राष्ट्रपति ट्रम्पले भनेका छन् । उनले नाटोले बरु आफ्नो सान्दर्भिकता बढाउँदै लैजानका लागि आइसिसजस्तो आतङ्ककारी सङ्गठनविरुद्ध लड्नुपर्ने तथ्यमा जोड दिएका छन् र यसमा नाटोको नेतृत्व तहले पनि सहमति जनाएको छ ।

trump

राष्ट्रपति ट्रम्पको चौथो मोड चीनको बारेमा उनको विचार र बुझाइमा परिवर्तन हो । उनको चीनप्रतिको मुख्य आरोप भन्नु नै चीनले अमेरिकाबाट रोजगारी छिनेर आफ्नो देशमा रोजगारीका अवसरहरू सिर्जना ग¥यो भन्ने थियो । साथै, एप्पललगायत अन्य अमेरिकी कम्पनीहरू जसको कारखाना चीनमा छ, उनीहरूलाई फर्काएर अमेरिकामा नै कारखाना खोल्न लगाउने उद्देश्य पनि राष्ट्रपति ट्रम्पको थियो । चीनले जानीजानी आफ्नो मुद्राको साख घटाउने वा बढाउने गर्छ र चीनसँग अब अमेरिकाको एक अत्यन्त ठूलो व्यापार–युद्ध हुनेवाला छ पनि उनी भन्ने गर्थे । तर, अहिले आएर राष्ट्रपति ट्रम्प चीनप्रति सकारात्मक हुन थालेका छन् । उनका अनुसार चीनले मुद्राको साख आफैँ घटाउने–बढाउने गर्दैन र चीनसँगको विशाल व्यापारघाटा सहन गर्नसमेत अमेरिका तयार छ । तर, यसको लागि चीनले आफ्नो छिमेकमा रहेको अहंकारी राष्ट्र उत्तर कोरियालाई तह लगाउन अमेरिकालाई सहयोग गर्नुपर्नेछ । साथै, उनको भनाइमा चीनले सहयोग गरे पनि नगरे पनि अमेरिकाले उत्तर कोरियालाई तह लगाएरै छोड्नेछ । ‘मलाई पुटिन कस्ता छन् थाहा छैन, तर म यी भद्र पुरुषलाई राम्ररी चिन्दछु,’ राष्ट्रपति ट्रम्पले एक पत्रकार सम्मेलनमा हालसालै अमेरिकाको आधिकारिक भ्रमण सम्पन्न गरेका चिनियाँ राष्ट्रपति सी जिनपिङप्रति इङ्गित गर्दै भने । चीनले पनि राष्ट्रपति ट्रम्पको उत्तर कोरियालाई नियन्त्रणभित्रै राख्ने चाहना बुझेर चीन निर्यातका लागि कोइला बोकी हिँडेका उत्तर कोरियाली ट्रकहरूलाई आफ्नो सिमानाबाट उत्तर कोरियातर्फ नै फिर्ता पठाइदिएको छ ।

सिरिया, रुस, नाटो र चीन गरी यी चार अन्तर्राष्ट्रिय मामिलाका अतिरिक्त राष्ट्रपति ट्रम्पको पाँचौँ घुम्ती भने उनको एक महत्वपूर्ण घरेलु मामिलामा देखिएको छ । अघिल्ला राष्ट्रपति बाराक ओबामाले लागू गरेको स्वास्थ्य बिमासम्बन्धी कार्यक्रम जसलाई अफोर्डेबल हेल्थ केयर एक्ट वा ओबामा केयर पनि भनिन्छ, यो राख्ने वा नराख्ने भन्ने सम्बन्धमा अमेरिकी आन्तरिक राजनीति निकै समयसम्म तात्यो । राष्ट्रपति ट्रम्प पनि ओबामा केयर विस्थापित हुनुपर्छ भन्ने पक्षमा थिए । अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्स वा कंग्रेसले ओबामा केयरलाई विस्थापित गर्ने कानुन मस्यौदा ग¥यो, तर सत्तारुढ रिपब्लिकन पार्टीभित्रै उक्त नयाँ कानुनप्रति समर्थन जुटाउन सकिएन भनी उक्त प्रस्ताव तल्लो सदनबाटै फिर्ता लिइयो । राष्ट्रपति ट्रम्पले पनि उक्त विधेयक पुनः प्रस्तुत गरी ओबामा केयरलाई विस्थापित गर्ने जाँगर देखाएनन् । यस परिप्रेक्ष्यमा राष्ट्रपति ट्रम्पले ओबामा केयरमा समयसापेक्ष केही हेरफेर गरे पनि प्रतिस्थापन नै चाहिँ गर्दैनन् भन्ने अड्कल गरिएको छ । साथै, उक्त स्वास्थ्यसम्बन्धी बिमाको नाम परिवर्तन गरी ओबामा–ट्रम्प केयर राखिने सम्भावना पनि देखिँदै छ, ता कि रिपब्लिकन र डेमोक्रेटिक दुवै पार्टीले उक्त कार्यक्रमको स्वामित्व ग्रहण गरून् र राष्ट्रिय एकता पनि कायम रहोस् ।

मानिसहरू स्वाभावैले गतिशील हुन्छन् । उनीहरूका अडानहरू पनि परिस्थितिअनुसार परिवर्तन हुन्छन् । र, राष्ट्रपति ट्रम्पको हकमा पनि यही तथ्य लागू हुन्छ । उनी राम्रोको निम्ति परिवर्तन भएका छन् र ह्वाइटहाउसको संस्थापनको खुसीको निम्ति परिवर्तन भएका छन् । राष्ट्रपति ट्रम्पको अहिलेको सिरिया, रुस, नाटो र चीनसम्बन्धी विदेश नीति रिपब्लिकन र डेमोक्रेटिक पार्टीहरूले अहोरात्र मिहिनेत गरेर बनाएको विदेशनीतिकै लाइनमा आएको छ । घरेलु मामिलाको सन्दर्भमा उनको स्वास्थ्य बिमासम्बन्धी विचार पनि असहिष्णु छैन । उनले मेलमिलापमै जोड दिएका छन् । राष्ट्रपति ट्रम्प भित्र र बाहिरबाट परिवर्तन हुँदै छन् र परिपक्क बन्दै छन् । यो तथ्यको हेक्का डेमोक्रेटिक र रिपब्लिकन दुवै पार्टीले अनि विश्व समुदायले सम्भवतः राखेकै हुनुपर्छ ।