ढुङ्गानाप्रति राखेपको मौनता किन ?

ढुङ्गानाप्रति राखेपको मौनता किन ?


Sports_Council_

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले नयाँ विश्वास र भरोसाका साथ परिषद्को महत्वपूर्ण पद मानिने प्रशासन विभागको प्रमुखको रूपमा सुरेशकुमार ढुङ्गानालाई एक महिनाअधि नियुक्ति गरेका थिए । तर, नियुक्तिसँगै ढुङ्गानाले आफ्नो पुरानो आनीबानीलाई बढावा दिँदा उनी विवादमा तानिएका छन् । परिणामतः उनलाई विश्वासपात्रको रूपमा नियुक्ति गर्ने सदस्यसचिव विष्टलाई पनि यसको नराकात्मक असर परेको छ । ढुङ्गानाको हर्कतले सदस्यसचिव विष्टको छनोट र निर्णयमा समेत कुठाराघात भएको छ । जसलाई विष्टले गलत निर्णय भयो कि क्या हो ? भन्न थालेको सुनिनमा आएको छ ।

पछिल्लो समय घटना र विचारमा प्रकाशित समाचारपछि गठित छानबिन समितिको गरिमामय सदस्य पदमा समेत सदस्यसचिव विष्टले ढुङ्गानालाई विश्वासका साथ मनोनयन गरेका थिए । तर, ढुङ्गानाले छानबिन समितिको गठन नै अनावश्यक काम भएको भनी टिप्पणी गर्दै सदस्यसचिव विष्टलाई नै चुनौती दिएका थिए । सो अवसरमा राखेपले गठन गरेको छानबिन समितिलाई गर्भमा तुहाउने कार्यमा ढुङ्गाना ज्यान छोडेर लागेका थिए । अर्थात् छानबिन समितिलाई औचित्यहीन बनाउन महत्वपूर्ण कागजपत्र बोकी छानबिनको दायरामा परेको व्यक्ति कमल खनाललाई बचाउन निकै दौडधुप गरेका थिए । त्यसको निर्देशन खुद छानबिनको दायरामा परेका खनालले गरेका थिए । खनाल अहिले आफूलाई बचाउन विभिन्न शक्तिकेन्द्र धाउनुका साथै राखेपका कर्मचारीलाई समेत परिचालन गरिरहेका छन् ।

खेलकुदको विभागीय प्रमुख तथा छानबिन समितिको सदस्यको यस्तो गैरकानुनी हर्कतको गत साता घटना र विचारले पर्दाफास गरेपछि खेलकुदमा नौलो तरङ्ग उत्पन्न भएको थियो । जिम्मेवारी पदमा बसेर ढुङ्गानाले यस्तो गैरकानुनी हर्कत कसरी गरे त्यो कुरा राखेपका कर्मचारीलाई पत्याउन गाह्रो भइरहेको छ । तर, ढुङ्गाना खनाललाई बचाउन अहिले पनि ज्यान छोडेर लागेको स्रोतको दाबी छ । सदस्यसचिव विष्टले ढुङ्गानाको गैरकानुनी हर्कतबारे समाचार प्रकाशित भएपछि उनले समाचारको सत्यतथ्यबारे ढुङ्गानासँग मौखिक सोधपुछ गरेको स्रोतले बताएको छ । सो अवसरमा ढुङ्गानाले आफूले यस्तो कुनै पनि हर्कत नगरेको विष्टलाई जानकारी गराउँदै भ्रमको खेती गर्न सफल भएका छन् । तर, ढुङ्गानाको गलत कार्यको बारेमा सप्रमाण घटना र विचारमा सुरक्षित दस्तावेज र छानबिनको दायरामा परेका आरोपित खनालले आफूले नै ढुङ्गानालाई पठाएको भनेर दाबा गर्दै दिएको अभिव्यक्तिले पनि यो कुरालाई प्रस्ट पार्छ ।

यसरी झुट र भ्रमको खेती गर्दै छानबिन कमिटी र सदस्यसचिव विष्टलाई समेत गुमराहमा पार्दै आएका ढुङ्गानामाथि सप्रमाण समाचार प्रकाशित हुँदासमेत राखेपले स्पष्टीकरणसमेत नसोध्नुको पछाडि के रहस्य लुकेको छ ? त्यो खोजीको विषय बनेको छ । अन्यथा एउटा जिम्मेवार कर्मचारीले कानुनलाई ठाडै चुनौती दिँदै खुलेआम छानबिनको घेरामा परेको व्यक्तिलाई बचाउन ज्यान छोडेर लाग्नुको अर्थ के हो ? त्यसको पर्दाफास हुनु जरुरी छ । के राखेपले यस्तै गैरकानुनी कार्य गर्न ढुङ्गानालाई विभागीय प्रमुख र छानबिन कमिटीको सदस्य बनाएको हो ? प्रश्न उठ्नु स्वाभाविकै हो । यसकारण अक्षम्य गल्ती गर्दासमेत के कारणले ढुङ्गानालाई राखेपले स्पष्टीकरण सोधेको छैन, राखेप पनि शङ्काको घेरामा परेको छ । यदि सदस्यसचिव विष्टले सत्यतथ्य कुरोको जानकारी लिएर ढुङ्गानालाई स्पष्टीकरण सोध्नुपर्ने जरुरी भइसकेको छ । अन्यथा खेलकुदमा नियम–कानुन तोड्ने, विकृति विसङ्गति फैलाउने र नियम–कानुन तोडनेको बोलवाला नहोला भन्न सकिँदैन ।

ढुङ्गानाले गल्ती गरेका छन्, कानुन तोडेका छन्, छानबिन कमिटीको उपहास गरेका छन् र स्वयम् सदस्यसचिव विष्टको विश्वासमाथि कुठाराघात गरेका छन् । यस्तो अवस्थामा ढुङ्गानालाई दूधले नुहाउन कदापि सकिँदैन, उनलाई कानुनको दायरामा ल्याएर कानुनी कारबाही गर्न राखेपले सक्नुपर्छ । छानबिन कमिटीको सदस्य भएर छानबिनको घेरामा परेको व्यक्तिलाई सफाइ दिलाउन छानबिन कमिटीको सदस्य नै ज्यान छोडेर लाग्छ भने त्यो गैरकानुनी हर्कत हो कि होइन ? त्यो कुरा सदस्यसचिव विष्टले हेक्का राख्नुपर्छ । आफूले मनोनयन गरेको व्यक्तिले गैरकानुनी हर्कत गर्दा विष्टले मौनता साँध्नु कदापि मिल्दैन । तर, विडम्बना ! विष्टले मौनता साँधेका छन् । न त ढुङ्गानालाई कुनै स्पष्टीकरण सोधेका छन् न त छानबिन कमिटीबाट हटाएका छन् । यो कुराले के पुष्टि गर्छ भने खेलकुद गैरकानुनी कार्य गर्नेहरूकै अखडा हो ? उनीहरूलाई प्रश्रय दिनु राखेपको कर्तव्य र जिम्मेवारी हो ? अन्यथा सप्रमाण समाचार आउँदासमेत सम्बन्धित निकायले कुनै कदम चाल्दैन भने त्यो निकायले यस्तो संज्ञा पाउनु स्वाभाविकै हो ।