कैदीबन्दीको ‘सेक्स डिजायर’ व्यवस्थापन कसरी ?

कैदीबन्दीको ‘सेक्स डिजायर’ व्यवस्थापन कसरी ?


mukti

■ मुक्तिनाथ भुसाल

विवाहित कैदीलाई उनको जीवनसाथीसँग समय–समयमा शारीरिक सम्बन्ध राख्न पाउने व्यवस्था मिलाउनेतर्फ राज्य सञ्चालनको जिम्मा लिएका या नीति–निर्माताहरूले ध्यान पु¥याएमा कुनै दिन तिनकै या तिनका सन्ततिका लागि पनि फलदायी हुने नहुने भन्ने के छ र

?

तहकिकात, जाँचबुझ र पुर्पक्षका लागि अदालत, प्रहरी वा अन्य अधिकारीको हिरासतमा रहेको वा सार्वजनिक सुरक्षा ऐन २०४६ अन्तर्गत थुनामा रहेको व्यक्तिलाई थुनुवा भनिएजस्तै कुनै अदालतको फैसलाअन्तर्गत सजाय पाई कारागारमा रहेको व्यक्तिलाई कैदी भनिने कुरा विदित नै छ । कुनै पनि कसुरदारको प्रकृति हेरीकन नेपालको प्रचलित कानुनमा निर्धारण भएअनुसार र कसुरदारले कसुर गरेको ठहर भएमा हरेक जिल्लामा रहेका अदालतले सजाय दिने गर्दछन् । कुनै अपराधमा संलग्नलाई सामान्यतया २५ दिन र लागुऔषधसम्बन्धी मुद्दामा ९० दिनसम्म अदालतको अनुमति लिई अनुसन्धानका लागि प्रहरीले हिरासतमा राख्ने प्रचलन रहेको छ । अनुसन्धान कार्य पूरा भएपछि प्रहरीले आफ्नो राय प्रतिवेदनसहित सम्बन्धित सरकारी वकिल कार्यालयमा पठाउने र वकिल कार्यालयले मुद्दा चलाउन उपयुक्त देखेमा अभियोगपत्र तयार गरी मिसिल एवम् प्रतिवादीलाई अदालतमा पेस गर्दछ । अदालतले सुरुमा मुद्दा दर्ता, प्रतिवादीको बयानपश्चात थुनछेकको सन्दर्भमा साधारण तारिख, धरौटीमा र सीधै थुनामा राख्न पनि सक्छ । तीन वर्षसम्मको कैद सजाय हुनेहरूका लागि प्रतिदिन २५ रुपैयाँमा केसको स्वरूपअनुसार क्षतिपूर्ति रकम प्लस गरी धरौटीमा छाड्ने गरेको जानिफकारहरूले बताउने गरेका छन् । योभन्दा बढीको केस भएमा वा धरौटी रकम बुझाउन नसकेमा सीधै थुनामा राखिने र मानव ओसारपसार तथा बेचबिखन तथा जबर्जस्ती करणीबाहेकको केसमा ४० प्रतिशत सजाय पूरा गरेका असल कैदीलाई बाँकी सजाय मिनाहाका लागि सम्बन्धित कारागारले कारागार व्यवस्थापन विभाग हुँदै सिफारिस गर्र्ने चलनसमेत रहेको बुझिन्छ ।

नेपालमा ७४ वटा कारागार रहँदा बारा, धनुषा र भक्तपुरमा कारागार छैनन् भने काठमाडौं र दाङमा दुई–दुईवटा कारागार रहेका छन् । कास्की, भक्तपुर र मोरङमा बाल सुधारगृहहरू रहेका छन् । अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कको आटीकापाटामा १३ वटा कोठा ४ वटा एटेज बाथरुम र करिब ४ रोपनी जमिनमा फैलिएको जीर्ण कारागार भवन रहेको छ । यो समाचार तयार पार्दासम्म १४ जना कैदीको क्षमता रहे पनि २८ जना पुरुष कैदी र पुर्पक्षका लागि ४ जना रहेको बुझिएको छ । कैदीको जुनसुकै बिमारको उपचार राज्यले जिम्मा लिनुको साथै अध्ययन गर्न चाहनेका लागि जाँच दिन पाउने सुविधा, प्रतिदिन ७ सय ग्राम सोना मन्सुली चामल र ४५ रुपैयाँ नगद कैदीले पाउने गर्छन् । यसैगरी गर्मी र जाडो मौसममा पोसाकको सुविधा पाउने कैदीलाई हप्ताको दुई दिन आफन्तले टेलिफोनमा कुरा गर्न पाउने तथा हप्ताको दुई दिन आफन्तले कारागारमा पुगेर भेट्न पाउने व्यवस्था रहेको छ । कैदी जीवन बिताउन बाध्य बनेका विवाहितहरूले आफ्नो श्रीमान् वा श्रीमतीसँग शारीरिक सम्बन्ध राख्न हालसम्म नपाउँदा कति कैदीको वंशज नै सकिने हुन् कि यकिनका साथ बताउन सकिने अवस्था देखिँदैन ।

कैदीहरूका लागि जे–जस्तो सुविधा राज्यले उपलब्ध गराए पनि जीवनमा खुसी, सुखी र निरोगी हुनका लागि सेक्सकोे भूमिका महत्वपूर्ण मानिन्छ । यौनसम्पर्क केवल आनन्द लिनका लागि गरिने सोचाइ पालेका मानवजातिहरूका लागि नेसनल सर्भे अफ सेक्सुअल एटिट्युड्स एन्ड लाइफस्टाइलले गरेको अनुसन्धान र विभिन्न समयमा उनीहरूबाट सार्वजनिक भएका अभिव्यक्तिलाई अध्ययन गर्दा सेक्सको महत्व धेरै रहेको छ । उनीहरूको अध्ययनअनुसार टाउको दुख्ने रोगका बिरामीलाई नियमित सेक्स फाइदाजनक हुनुको साथै महिनामा ५ पटकभन्दा कम सेक्स गर्नेहरूलाई माइग्रेन हुने बताइएको छ । उच्च रक्तचापका बिरामीले नियमित सेक्स गर्दा उच्च रक्तचाप नियन्त्रण हुने र महिनामा २१ पटक वा नियमित सेक्स गर्दा प्रोस्टेट क्यान्सरको खासै खतरा नहुने उनीहरूले दाबी रहेको छ । यसैगरी नियमिको यौन सम्पर्कले शरीरमा एस्ट्रोजन र टेस्टोस्टेरोनमा सन्तुलन बनिराख्ने हुँदा हृदयाघातको खतरा पनि कम हुने चिकित्सकहरू बताउँछन् ।

charles-nihita 5

यौन सम्पर्कको निश्चित समय नभए पनि रातिमा भन्दा बिहानको समयमा सेक्स गर्दा बढी राम्रो हुने अमेरिकाका वैज्ञानिक तथा सेक्स सल्लाहकार डा. डेबी हरबेनिकले सार्वजनिक गरेका छन् । डा. डेबीका अनुसार बिहानको समयमा सेक्स गर्दा हाम्रो शरीरबाट निस्कने केमिकल्सबाट धेरै सन्तुष्टि मिल्नुको साथै खुसी र स्वस्थ रहन्छ । यसैगरी अमेरिकाका अर्का सेक्स सलाहकार जेन ग्रिनरले सेक्स एकप्रकारको व्यायाम भएकाले बिहानको समयमा सेक्स गर्दा शरिरको राम्रो व्यायाम हुनुको साथै मोटोपन घट्ने बताउँदै आएका छन् । एउटा मात्र होइन, धेरै किसिमका शोध र अनुसन्धानबाट मानिसलाई स्वस्थ राख्न बिहानै ओछ्यानमा ७ बजेर ३० मिनेटमा सेक्स गर्न सुरु गर्नु अति उत्तम मानिएको छ तापनि चेतनाको अभावका कारण धेरैले रातिमा खानापछि सेक्स गर्ने कारण अधिकांश रोगहरू भित्रिएको इटलीमा गरिएको एक अध्ययनले सार्वजनिक गरेको छ ।

धेरै खायो भने चिनी पनि तीतो हुन्छ भन्ने भनाइसँगै सेक्स कतिपटक गर्ने भन्ने यकिन नापतौल नभए पनि एक सातामा तीनपटक बिहानमा सेक्स गर्दा महिला र पुरुष दुवैमा प्रजनन क्षमता बढ्ने लेखिका जेनी ट्रिप्लेटलगायतका विज्ञहरूले सार्वजनिक गर्दै आएका छन् । हाम्रो समाजमा बिहानको समयमा पूजापाठ गर्ने, खाना पकाउने, अफिस जाने तयारी आदि गर्नुपर्ने हुन्छ तापनि समयलाई व्यवस्थापन गरी माथि उल्लेख गरिएको समयलाई सेक्सको शुभसाइत बनाउने र पार्टनरसँगै बाथरुममा ‘शावर’मा नुहाउँदै मजा लिन पनि सकिने विज्ञहरूको भनाइ छ । यसो गर्दा आफ्नो पार्टनरसँग अझै बढी आत्मीयता प्राप्त हुने मात्रै होइन रमाइलोको महसुस पनि हुने गर्दछ । रातिमा खासगरी खाना खाएर सुत्नेबेला सेक्स गर्नु र खाना खाएर नुहाउनु भनेको रोग निम्त्याउनु हो । त्यसैले रातिमा भन्दा बिहानमा सेक्स गर्दा राम्रो हुने विज्ञहरूको सुझावलाई मनन गरी नेपालमा रहेका कैदीहरूलाई आफ्नो जीवनसाथीसँग उपयुक्त समयमा सेक्स गर्न पाउने व्यवस्था वर्तमान प्रचण्ड नेतृत्वको सरकारले मिलाउन सकेमा एउटा राम्रै उपलब्धि हुन सक्ने देखिन्छ ।

मानव (प्राणी ?) का लागि यस्तो महŒवपूर्ण या उपयोगी रहेको यौन सम्बन्धको विषयमा कुरा गर्दा कारागारमा बन्दी बनेका मानिसले यौन चाहना कसरी परिपूर्ति गर्ने त ? यौनबारे माथि विस्तृत उल्लेख गर्नुको तात्पर्य पनि यही हो । यस सवालमा केन्द्रित भई कारागार व्यवस्थापन विभागका महानिर्देशक कृष्णचन्द्र घिमिरेसँग जिज्ञासा राख्दा कुनै श्रीमान् वा श्रीमती कारागारबाट छुट्दा उसको प्रजनन क्षमता ह्रास हुने देखिएमा प्रजननको सुविधा दिनु भनेर सर्वोच्च अदालतले फैसला गरिसकेको भए पनि यस सम्बन्धमा निर्देशिका बनाएर कार्यान्वयनमा हालसम्म आइनसकेको बताउनुहुन्छ । उहाँका अनुसार सम्भवतः अगामी वर्षभित्रै त्यसको निर्देशिका बनाएर प्रजनन हकको प्रयोजनका लागि मात्रै व्यवस्थापन गरिसक्ने कुरामा ढुक्क हुन आग्रह गर्नुभएको छ । महानिर्देशक घिमिरेसँग अन्य विवाहित कैदीहरूका लागि समयसमयमा सेक्सको सुविधा कहिलेसम्म उपलब्ध होला भन्ने विषयमा थप जिज्ञाशा राख्दा सर्वोच्च अदालतले केवल प्रजननका लागि मात्र भनेको कारण अन्य मनोरञ्जनका लागि यो कुरा सम्भव नहुने जानकारी दिनुभयो ।

नेपालका कैदीहरूले बनाएका मुढा (बस्नका निम्ति प्रयोग हुने सामग्री)लगायतका समानहरूले बजार नपाएको टड्कारो समस्याका बाबजुद प्रत्यक्ष र समानुपातिक मताधिकारको ग्यारेन्टीतर्फ पनि राज्यले ध्यान पु¥याउनु जरुरी देखिन्छ । महिला–पुरुष अलग्याएजस्तै थुनुवा र कैदीहरूलाई छुट्याएर राख्नुपर्छ । जिल्लामा भएका स–साना कारागारलाई हटाएर अहिलेको प्रदेश वा विकास क्षेत्रमा कमसेकम आठ–दश हजार कैदीहरू अटाउन सक्ने क्षमतामा सुविधासम्पन्न कारागार र बालसुधारगृहहरूको व्यवस्था मिलाउनुको साथै विवाहित कैदीलाई उनको जीवनसाथीसँग समय–समयमा शारीरिक सम्बन्ध राख्न पाउने व्यवस्था मिलाउनेतर्फ राज्य सञ्चालनको जिम्मा लिएका या नीति–निर्माताहरूले ध्यान पु¥याएमा कुनै दिन तिनकै या तिनका सन्ततिका लागि पनि फलदायी हुने नहुने भन्ने के छ र ?