
एनसेलका प्रिपेड ग्राहकले अब एनसेल सापटीको नयाँ योजनाअन्तर्गत बिना कुनै सेवाशुल्क एनसेल सापटी लिन सक्ने एनसेलले जनाएको छ । देशको अग्रणी जिएसएम मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले सापटीमा नयाँ योजना ल्याएको हो, जसअन्तर्गत सबै प्रिपेड ग्राहकले आफ्नो मेन ब्यालेन्स रु. ५ वा सोभन्दा कम भएमा एनसेल सापटी सुविधामार्फत अब बिना कुनै सेवाशुल्क अझै बढि रकम सापटीस्वरुप लिन सक्नेछन् ।
यस वर्षको मई दिवसको अवसरमा ल्याइएको यो योजना यही सोमबार (वैशाख १८) देखि लागु गरिएको छ । योजनाअन्तर्गत प्रिपेड सेवाका ग्राहकले बिना कुनै सेवाशुल्क रु. ३० सापटी प्राप्त गर्न सक्नेछन् । दुई महिना वा सो भन्दा बढिदेखि एनसेल प्रिपेड सिम प्रयोग गर्ने ग्राहकले मात्र यो योजनाअन्तर्गत आफ्नो मेन ब्यालेन्स रु ५ वा सोभन्दा कम भएमा एनसेल सापटी लिन सक्नेछन् ।
सापटी रकम ग्राहकको मुख्य ब्यालेन्समा जोडिनेछ र प्राप्त रकमबाट ग्राहकले कुनै पनि नेटर्वकमा कल गर्न, एसएमएस पठाउन, इन्टरनेट चलाउन तथा एनसेलको अन्य सेवा प्रयोग गर्न सक्नेछन् ।
एस्ट्रिक्स९९८८ह्यास डायल गरि प्राप्त निर्देशन अनुसार प्रिपेड ग्राहकले यो सेवा सुचारु गर्न सक्ने एनसेलको भनाई छ । सापटी लिइएको रकम ग्राहकले रिचार्ज गरेपछि मेन ब्यालेन्सबाट घटाइनेछ । यदि रिचार्ज गरिएको रकम रु ३० भन्दा कम भएमा रिचार्ज गरिएको सम्पुर्ण रकम काटिने छ र बाँकी रकम अर्को रिचार्जमा काटिने छ । प्रिपेड ग्राहकले एस्ट्रिक्स९०१ह्यास डायल गरिे बाँकी रहेको सापटी रकमको बारेमा जानकारी लिन सक्नेछन् ।
आफ्ना ग्राहकका लागि एनसेलले सन् २०१२ देखि सापटी सेवा प्रदान गर्दै आएको छ । प्रिपेड ग्राहकले आवश्यकताअनुसार आफ्ना मेन ब्यालेन्स रु ५ वा सो भन्दा कम भएपछि जति पटक पनि यो सेवाबाट लाभ लिन सक्नेछन् । यद्यपि ग्राहकले आफुले लिएको सापटीको रकम पुरा चुक्ता नगरेसम्म अर्को सापटी लिन पाउने छैनन् ।
प्रतिक्रिया