
– श्रीविक्रम भण्डारी
नेपाली खेलकुदको इतिहास कति रङ्गीन र सङ्गीन थियो त्यसको चर्चा नगर्नु नै वेश होला । इतिहासका पाना पल्टाउँदा त्यो दुस्वप्नको पुनरावृत्ति मात्रै हुन्छ, आङमा काँडा उम्रेर आउँछ, रगत उम्लिएर आउँछ । शक्तिको मातमा महिला खेलाडी र महिला कर्मचारी कति शोषित भएका थिए त्यो घटना ताजा भएर आउँछ । खेलकुदका पदाधिकारीलाई खुसी पार्न पुरुष कर्मचारी र राष्ट्रिय सङ्घका प्रशिक्षकले नै त्यतिबेला निभाएको दलालको भूमिका अकल्पनीय, निन्दनीय र बिर्सनलायक छ । यी कर्मचारी र प्रशिक्षककै निहित स्वार्थका कारण खेलकुदजस्तो रचनात्मक ठाउँमा डिस्को हलको निर्माण भएको थियो । जुन यद्यपि राष्ट्रिय खेलकुद परिषद्को मुख्य कार्यालयको भवनमा देख्न र अवलोकन गर्न सकिन्छ । जुन कुन प्रयोजनका लागि बनेको थियो सोझै अड्कल काट्न र अनुमान लगाउन सकिन्छ । खेलकुदको यो कलङ्कबारे धेरै व्याख्या र विश्लेषण गर्नुभन्दा त्यो परम्पराले अहिलेसम्म कसरी प्राथमिकता पाइरहेको छ त्यसको पर्दाफास गर्नु उपयुक्त हुनेछ ।
जनआन्दोलन भाग दुईको राजनीतिक परिवर्तनसँगै राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिवमा जीवनराम श्रेष्ठले दोस्रोपटक नियुक्ति पाएका थिए । सो समयमा खेलकुदमा लामो समयदेखि कर्मचारीको बढुवा अवरुद्ध रहेको थियो । त्यो अवरुद्धलाई खुलाउन बढुवा प्रक्रियालाई श्रेष्ठले अगाडि बढाएका थिए । सोही क्रममा बढुवासम्बन्धी कार्य अगाडि बढाउन कुलबहादुर थापालाई श्रेष्ठले जिम्मेवारी दिएका थिए । त्यसबेला थापा कर्मचारी प्रशासन शाखाका प्रमुख थिए । त्यसपछि कर्मचारीको बढुवासम्बन्धी कार्य अगाडि बढेको थियो । तर, विडम्बना ! त्यो विवादरहित भने बन्न सकेन । यसर्थमा कि त्यसबेला बढुवाको नाममा आर्थिक चलखेल र यौनशोषणका परिघटना परिदृश्यमा आएका थिए । यसलाई तथ्यगत रूपमा पुष्टि गर्दा तत्कालीन राखेपका सदस्यसचिव जीवनराम श्रेष्ठले राखेपका कर्मचारीसँग सार्वजनिक रूपमा क्षमायाचना गरेबाट पनि प्रस्ट हुन्छ ।
०५३ सालमा स्थायी प्रक्रियाबाट पदपूर्ति भएका खेलकुदका कर्मचारी बढुवा हुने आशामा प्रतीक्षारत थिए । तर, परिषद्का केही आततायी, यौनपिपासु प्रमुखहरूको कोपभाजनको सिकार महिला कर्मचारी बनेका थिए । यसै क्रममा एक महिला कर्मचारीले नाम नबताउने सर्तमा ‘हामी अहिलेसम्म धन्न जोगिएका छौँ’ भन्नेसम्मका अभिव्यक्तिले यो कुरालाई पुष्टि गर्छ । ती महिला कर्मचारीको यो अभिव्यक्तिले अहिले पनि परिषद्मा यस्ता यौनपिपासुहरूको बिगबिगी छ भन्ने कुरा पुष्टि गर्छ । अर्कोतर्फ परिषद्मा चोरबाटोबाट घुसेका र जन्मँदै अधिकृत द्वितीय हुँदै प्रथम श्रेणीमा राज गरिरहेका एक कर्मचारीले बढुवाको विरुद्धमा सर्वोच्च अदालतमा मुद्दासमेत दायर गरेका थिए । निमुखा कर्मचारीको जागिरमा तरबार तेस्र्याएपछि तिनै पछि कर्मचारीहरूलाई मुद्दा जिताइदिने नाममा उनीहरूसँग ती खेलकुदका प्रमुखले लाखौँ रुपैयाँ कुम्ल्याउन सफल भएका थिए । साथै आर्थिक नजराना दिन नसक्ने महिला कर्मचारीलाई यौन शोषणसमेत गरेको एक महिला कर्मचारीले घटना र विचारलाई बताएकी छिन् । स्मरण छ, आफ्नो घरपरिवार, लोकलाजका कारण आफूमाथि भएको यौनशोषण, उत्पीडन र दमनबारे अहिलेसम्म महिला कर्मचारीले मुख खोल्न सकेका छैनन् ।
बढुवाकोे नाममा मात्र महिलामाथि यौनशोषण र आर्थिक चलखेल हुने गरेको मात्र नभई परिषद्मा नियुक्ति, सरुवा, बढुवालगायतका नियमित कार्यमा यस्ता घटना ०६३ सालयता अझ मौलाउँदै र फस्टाउँदै आएका छन् । यी तिनै कर्मचारी हुन् जसले करार कर्मचारीको म्याद थपमा समेत आफ्नो अस्मिता दाउमा लागेको रहस्यको पर्दाफास गरेकी थिइन् । पछि उनले आफूमाथि आर्थिक र यौनशोषण भएको भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गरेकी थिइन् । अख्तियारले यो विषयमा छानबिन गरी कारबाही अगाडि बढाउन राखेपलाई निर्देशन दिए पनि राखेपले अहिलेसम्म मौनता साँधेको छ । यो घटनालाई आत्मसात् गर्दा पनि राखेपमा महिला कर्मचारी कति सुरक्षित छन् सोझै अनुमान लगाउन सकिन्छ । यसैगरी एकजना कार्यालय सहयोगी जसले एसएलसी पास गरेपछि परिषद्कै शाखा प्रमुख र विभागीय प्रमुखसँग आफूलाई खरिदारमा बढुवा गरिदिनका लागि हारगुहार गरेको स्रोतले बताएको छ । प्राप्त जानकारीअनुसार शाखा प्रमुख र विभागीय प्रमुखले ती महिला कर्मचारीसँग बढुवा गरिदिने प्रलोभन देखाउँदै आर्थिक र शारीरिक शोषण गरेको सुनिनमा आएको छ । साँचो रूपमा भन्नुपर्दा यो त प्रतिनिधि घटना मात्रै हो । योभन्दा अघि ०६३ सालको बढुवामा एक पीडित कर्मचारीसँग तत्कालीन बढुवासम्बन्धी शाखाका प्रमुखले ५० हजार लिएको रहस्यसमेत उद्घाटन भएको छ । ती महिला कर्मचारीले नाम नबताउने सर्तमा यो कुरा घटना र विचारसमक्ष राखेकी थिइन् ।
यसरी आफ्ना हाकिमहरूको आर्थिक र यौन ज्यादतीबारे महिला कर्मचारीले राखेपका सदस्यसचिव केशवकुमार विष्टलाई जानकारी गराएको बताएकी छिन् । तर, सदस्यसचिव विष्टले यो विषयमा कुनै चासो नदेखाएको स्रोतको दाबी छ । साथै सो क्रममा सदस्यसचिव विष्टले ‘खेलकुदमा यस्तै चलन र परम्परा रहेछ, मिलेर काम गर्नुको विकल्प छैन’ भनेको पीडित महिलाले बताएकी छिन् । सदस्यसचिव विष्टको यो कथनप्रति निकै निरश ती महिलाले ‘अहिलेसम्म त धन्न जोगिएका छौँ, भोलि के हुने हो भन्न नसकिने’ भन्दै गहभरि आँसु पारेकी थिइन् । यसैगरी परिषद्मा एक मात्र कर्मचारी सङ्घ रहेको छ । जुन आफूलाई कर्मचारीको संरक्षण र हकहितका लागि खडा भएको दाबी गर्छ । जसको वरिष्ठ उपाध्यक्षमा स्वयम् महिला सरस्वती केसी रहेकी छिन् । तर, परिषद्मा महिला कर्मचारीमाथि भएको यस्तो अन्याय र अत्याचारमाथि उनी अनविज्ञ छिन् । उनले यी घटनाारे कुनै प्रतिक्रिया दिनुको साटो आफ्नो नाकमुनि घटेको र घटिरहेका घटनामा पर्दा हाल्दै अनदेखी र अनसुनी गर्दै आएकी छिन् । केसीलाई परिषद्मा महिला कर्मचारी कति पीडित छन् त्यसबारे राम्रो जानकारी छ, तर उनले किन मौनता साँधेकी हुन् त्यो बुझ्न सकिएको छैन । सायद केसी पीडित महिलाको निवेदन र प्रमाण प्रतीक्षामा छिन् जस्तो लाग्छ । अन्यथा पीडित महिलाबारे उनले अवश्य कदम चाल्थिन् होला । उनको मौनतामा पनि कतै रहस्य त लुकेको छैन ? प्रश्न तेर्सिएको छ । यसरी एक महिला भएर महिलाको पीर–मर्का र अस्मितामाथि धावा बोल्दासमेत ‘चँु’समेत नगर्नुबाट कर्मचारी सङ्घको मुकुण्डो उदाङ्गो भएको छ । यसरी आममहिला कर्मचारीले प्रतिप्रश्न गरेका छन्, ‘कर्मचारी सङ्घको वरिष्ठ उपाध्यक्ष र परिषद्को बोर्डमा तीनजना महिला सदस्यको उपस्थिति हुनु–नहुनुमा के अर्थ राख्छ ? जसले झिँगोसमेत मार्न सक्तैन भने ।
राखेप कर्मचारी सङ्घ र त्यसको उपाध्यक्ष केसीले महिला उत्पीडन र शोषणका बारेमा कुनै आवाज उठाउन नसकेको घामजस्तै छर्लङ्ग छ । तर, राखेपको नौदिने सदस्यसचिव भइसकेकी शकुन्तला नगरकोटी, ३०औँ वर्ष परिषद्मा कर्मचारीको रूपमा कार्य गरिसकेकी वरिष्ठ प्रशिक्षक शान्ति सिंह र खेलाडीको पृष्ठभूमिबाट आएकी अस्मिता गुरुङसमेत खेलकुदका महिला कर्मचारीमाथि भएका यौन हिंसा र आर्थिक शोषणबारे नजरअन्दाज गर्नु विडम्बनाको विषय बनेको छ । यी महिला अग्रणीहरूको गैरजिम्मेवारी भूमिकाले गर्दा खेलकुदमा महिला कर्मचारीमाथि दमन, यौनशोषणका घटना वृद्धि हुँदै गएका हुन्भन्दा अतिसयोक्ति नहोला । खेलकुदको विकास र विस्तारभन्दा पार्टीको विकास, विस्तार र महिला कर्मचारीको हकहितभन्दा व्यक्तिगत हकहितबारे सोच्दै र सोहीअनुरूप कार्य गर्दै आएकाहरूबाट महिला कर्मचारीले आशा मारिसकेका छन् । तसर्थ ती महिला कर्मचारीले यसको निकासका लागि घटना र विचारलाई आफ्नो शुभचिन्तकको रूपमा चुनेका छन् । यसमा घटना र विचारले पनि आफ्नो प्रतिबद्धता जाहेर गरेको छ । यस्ता घटना दोहोरिँदै जाने अवस्थाको सिर्जना भएमा घटना विचारले त्यस्ता यौनपिपासु कर्मचारीको नाम र फोटोसमेत राखेर पर्दाफास गर्न पछि पर्नेछैन । खेलकुदका वरिष्ठ कर्मचारी जसले आफ्नो पदको दुरुपयोग गर्दै खेलकुदमा आर्थिक र यौनशोषण गरिरहेका छन् तिनीहरूको नालिबेली घटना र विचारसँग सुरक्षित छ । जुन आवश्यकता परे सप्रमाण पेस गर्न सकिनेछ । त्यसका लागि पीडित महिला कर्मचारीले जुन आँट, साहस र विश्वासका साथ घटना र विचारलाई चुनेका छन् त्यसमा खरो उत्रिने प्रयास गर्नेछ ।
(नोट : महिलाको भविष्य र अस्मितासँग जोडिएको लेख भएको र यसले घरपरिवार र सामाजिक प्रतिष्ठामा पर्न सक्ने प्रभावका कारण यो लेखमा कुनै पनि महिला र पुरुष कर्मचारीको नाम उल्लेख गरिएको छैन ।)
हामी धन्न जोगिएका छौँ

‘हामी धन्न जोगिएका छौँ’ यो कुरा राष्ट्रिय खेलकुद परिषद्की एक महिला कर्मचारीले बताएकी हुन् । प्रसङ्ग अर्कै थियो, चर्चा अर्कैको चलिरहेको थियो, तर उनको मनभित्रको कुण्ठा अर्कै रहेछ । त्यो छटपटीले उनलाई भित्रीरूपमा पोलिरहेको रहेछ । नजिकै आएर उनले भनिन्, ‘पत्रकारज्यू, खेलकुदभित्रको यौनशोषण र आर्थिक शोषणको बारेमा पनि लेख्नुप¥यो । बिनाहिच्किचाहट एक महिलाले यौनशोषणसम्बन्धी लेख लेख्न अनुरोध गर्दा मैले अलि अप्ठ्यारो महसुस गरेको थिएँ । यसर्थमा कि आजसम्म खेलकुदमा कुनै पनि महिला कर्मचारीले यसरी खुलेर कुरा गरेको मेरो अनुभव थिएन । उनले सरर आफ्नो पीडा सुनाउँदै गइन्, म पनि टिपोट गर्न थालँे । बीचबीचमा उनले भनेका कुरा म अहिले लेख्न सक्तिनँ, किनकि त्यसका लागि प्रमाणको आवश्यकता पर्छ । कसैलाई दोषारोषण गरेर मात्रै समस्याको समाधान हुँदैन । तर, उनीमाथि घटेको कुरा उनको विश्वासमा म लेख्न तयार भएँ ।
तपाईंलाई थाहा छ, अहिले खेलकुदमा कसरी महिला कर्मचारीमाथि खेलकुदका वरिष्ठ पुरुष कर्मचारीले आर्थिक र यौनशोषण गरिरहेका छन् ? म भन्छु– म कसैको मोटरसाइकलमा चढ्दिनँ, म कसैसँग रेस्टुरेन्ट जान्नँ, म कसैसँग बाहिर घुम्न जान्नँ । त्यसको प्रतिफल मैले भोगेकी छु र भोग्दै आएकी छु । यसो नगरेकै कारण मलाई हरेक कुरामा अयोग्य साबित गरिएको छ । मलाई मानसिक यातना दिइएको छ । आखिर किन ? मैले यो कुरा अहिलेसम्म बुझ्न सकेको छैन । मेरो घरपरिवार छ, समाजमा मेरो पनि इज्जत–प्रतिष्ठा छ, म योग्य पनि छु । मैले कसैसँग सम्झौता गर्नुपर्ने आवश्यकता छैन । मलाई विभिन्न वहानामा दोषारोषण गर्दै हरेक कार्यबाट बन्चित गरिएको छ । जो मेरा लागि निकै पीडादायक बनेको छ । म चाहन्छु, यसको पर्दाफास हुनुपर्छ ।
यो आक्रोश होइन, सत्य हो । अहिले पनि मजस्ता थुप्रै महिला कर्मचारीलाई लोभलालच देखाएर उनीहरूको आर्थिक र यौनशोषण भइरहेको छ । त्यो कार्य अरूले नभई वरिष्ठ कर्मचारीले गरिरहेका छन् । मेरो पनि घरपरिवार र सामाजिक प्रतिष्ठा भएका कारण मेरो नाम नराखिदिनुहोला । तर, सत्यतथ्य कुरा छापेर सहयोग गर्नचाहिँ नबिर्सनुहोला । त्यस्तै परिआएको खण्डमा म तपाईंलाई साथ दिनेछु । चिन्ता मान्नुपर्दैन, उनीहरूको नकाव उतार्न मैले जानेकी छु । एक–एकको नामसहित उनीहरूको चरित्रको पर्दाफास गर्नेछु । तपाईंकै पत्रिकामार्फत उनीहरूको कुकृत्य सार्वजनिक गर्नेछ । हामीलाई असुरक्षित बनाउनेको त्यसपछि के हरिविजोग हुन्छ त्यो दुनियाँले देख्नेछन् ।
प्रतिक्रिया