
घटना र विचार साप्ताहिकमा प्रकाशित एक समाचारलाई लिएर राष्ट्रिय खेलकुद परिषद् कर्मचारी सङ्घकी वरिष्ठ उपाध्यक्ष सरस्वती केसीले महिला अस्मिताको सम्बन्धमा सुसूचित गराउने उक्त समाचारप्रति सङ्घको चासो व्यक्त गर्दै सो सम्बन्धमा छलफलका लागि खेलकुदका प्रमुखहरूको बैठक बोलाएकी थिइन् । सो बैठकमा खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मीनकुमार शर्मा अराजक रूपमा प्रस्तुत भई घटना र विचारप्रति विषवमन गरेको जानकारी प्राप्त भएको छ । शर्माले उक्त अवसरमा महिला कर्मचारी पत्रिकाको कार्यालयमा गएर तोडफोड गर्नुपर्ने, पत्रिका जलाउनुपर्ने, समाचार लेखक सञ्चारकर्मी श्रीविक्रम भण्डारीलाई सार्वजनिक स्थलमा कुटपिट गर्नुपर्ने र मोसो लगाउनुपर्ने अभिव्यक्ति दिएर उचाल्ने कार्य गरेको बैठकमा सहभागी एक कर्मचारीले बताएका छन् । सो बैठकमा शर्मापछि कुलबहादुर थापाले भण्डारीको विरुद्धमा महिला आयोग र मानवअधिकारमा उजुरी हाल्नुपर्ने भन्दै कडा रूपमा प्रस्तुत भएको जानकारीमा आएको छ । उपस्थित अन्य पदाधिकारी सामान्य रूपमा प्रस्तुत भए पनि शर्मा र थापा किन यसरी उग्ररूपमा प्रस्तुत भए त्यो रहस्यमय भएको एक कर्मचारीले बताएका छन् । कतै यिनीहरूकै कारण खेलकुद बद्नामीको सिकार भइरहेको त होइन ? ती कर्मचारीले प्रश्न गरेका छन् ।
आश्चर्य र अपत्यारिलो कुरा के छ भने बैठक सकिएको केही समयपश्चात् नै शर्माले सञ्चारकर्मी श्रीविक्रम भण्डारीलाई फोन गर्न भ्याएका थिए । शर्माले बैठकमा भण्डारीमाथि अनर्गल गाली–गलौज गरिसकेपछि पानीमाथिको ओभानो बन्न उक्त हर्कत गरेका थिए । भण्डारीसँगको फोनवार्तामा शर्माले आफूले बाध्यतावश माथि उल्लिखित शब्दको उच्चारण गरेको र कोही कसैले भनेमा नपत्याउनसमेत जानकारी गराएका थिए । साथै शर्माले आफूहरू असल मित्र भएको र आफूले प्रेस र सञ्चारकर्मीमाथि कहिल्यै पनि आरोप नलगाएको र सम्मान गर्ने भण्डारीसमक्ष खुलासा गरेका थिए । यो घटनाबाट शर्मा कति सफेद झुट बोल्न सक्छन् र चाकरी चाप्लुसी गर्नमा कत्तिको माहिर खेलाडी छन् भन्ने सोझै अड्कल काट्न सकिन्छ । अन्यथा बैठकमा भए–गरेको कुरा कदापि भण्डारीलाई बताउने थिएनन् । यस्तो कार्य नकचरोले मात्र गर्न सक्छ । शर्माले जे गरे त्यो आफ्नो भलाइका लागि गरे, बैठकको गोप्यता र प्रतिष्ठालाई धुलोमा उडाइदिए । अब यस्ता दहीचिउरेलाई राखेपका कर्मचारीले कसरी हेर्छन् त्यो महत्वपूर्ण कुरो भएको छ । स्मरणीय छ, शर्माले भण्डारीसँग लगभग दस मिनेट फोनमा वार्ता गरेका थिए । जसमा उनले बैठकमा भएका अन्य कुराको जानकारी गराउँदै खेलकुदमा आफू सबैभन्दा योग्य र उत्कृष्ट कर्मचारी भएकोसमेत खुलासा गरेका थिए ।
शर्मा कति योग्य छन् त्यो कुरा घामजस्तै छर्लङ्ग छ । उनी लामो समय राखेपको सचिवालयमा रहँदा सदस्यसचिवलाई खुसी पार्न अपनाएका विभिन्न हतकण्डाबाट नै थाहा हुन्छ । शर्माको बारेमा कुरो कोट्याउँदा कुरैको पहिरो पर्छ, तसर्थ उनले सचिवालयमा आफूलाई स्थापित गर्न के–के उपायको अवलम्बन गरेका थिए त्यो कुरो नकोट्याउँदा नै वेश होला । तर, एउटा कुरोचाहिँ खुलासा गर्नैपर्छ, जसका कारणले उनलाई तत्कालीन सदस्यसचिव युवराज लामाले सचिवालयबाट बर्खास्त गरेका थिए । लामाले आफ्नो छोरा सिद्धार्थलाई गलत बाटोमा हिँडाएको आरोप लगाउँदै शर्मालाई बर्खास्त गरेका थिए । त्यो गलत बाटो के थियो त्यसको पर्दाफास गर्न मैले उपयुक्त ठानिनँ । जसको उजागरले शर्माको सामाजिक प्रतिष्ठामा अवश्य धक्का पुग्थ्यो । साँचो रूपमा भन्नुपर्दा यो कुराबाट शर्मा खेलकुदमा मात्र नभई अन्य कुरामा त्यस्तै योग्य भएको प्रमाणित गर्छ । अर्को कुरा शर्मा योग्य र उत्कृष्ट कर्मचारी भएरै होला ०५३ सालदेखि अर्थात् अहिले २१ वर्षसम्म पनि उनको बढुवा हुन सकेको छैन । उनी हालसम्म पनि एउटै पदमा कायम छन् । ०५३ सालमा बलबहादुर केसी खेलकुदमन्त्री भएको समयमा सोलुखुम्बुबासी भएकै कारण शर्माले राखेपमा प्रवेश पाउन सफल भएका थिए । त्यसपछि काठमाडौंको बसाइका क्रममा मैतीदेवीको घट्टेकुलोमा डेरा गरी बस्ने क्रममा घरबेटीकी छोरीलाई भगाएपछि भने उनको जीवनको बढुवा भने अवश्य भएको थियो ।
प्रतिक्रिया