अब बेग्लाबेग्लै दल किन देखाउँछौ नेता ?

अब बेग्लाबेग्लै दल किन देखाउँछौ नेता ?


Deva Prakash Tripathi 2

– देवप्रकाश त्रिपाठी

यसरी सबै प्रकारका अन्तरविरोध, वैचारिक भिन्नता र पृष्ठभूमि बिर्सिएर एक–अर्कालाई मतदान गर्नु–गराउनु थियो भने विचार–दर्शनको अन्तर देखाएर हामी जनताबीच यति धेरै फाटो किन गरायौ नेता ? यसैगरी अपवित्र गठबन्धन गर्नु थियो भने हामी जनताबीचको पवित्र सम्बन्धमा किन नुन–चूक छर्कियौ ? किन एक–अर्काो ज्यान लिने तहसम्म उक्सायौ ?

कसैलाई मनपर्छ बेली, कोही चमेली मन पराउँछन् । मान्छेहरू बेली र चमेलीका बिरुवा रोप्छन्, निरन्तर पानी दिन्छन्, गोडमेल गर्छन् र, यसो गरिरहँदा ती व्यक्तिमा एक दिन बेली–चमेली फुलाउने र टोल–छिमेकमै बास्ना फैलाउने इच्छा हुन सक्छ । ती व्यक्तिलाई फूल फुल्ने दिन बिरुवा उखेलेर धतुरोको बोट रोप्न र त्यसैमा पानी हाल्न घरका अभिभावकले आदेश दिँदा कस्तो स्थिति र मनस्थिति पैदा होला ?

युवती पल्लो गाउँ–टोलका एक युवालाई औधी मन पराउँथिन् । युवकको अनुहार, शारीरिक बनावट र चाल मन पराएर आकर्षित भएकी युवती युवकसँग भेट भएपछि उनको ज्ञानको तह, वाक्पटुता, शालीनता र भद्र व्यवहारबाट मुग्ध भइन् र पे्रम गर्न थालिन् । ‘त्यही’ युवकबिना जीवन अपूर्ण र निरश रहने युवतीको निष्कर्ष थियो । तर, विभिन्न कारणवश उनीहरूलाई विवाहको साइत जुरेन, दशक लामो प्रतीक्षापछि मात्र तिनको लगन जु¥यो । विवाहपछि नयाँ जीवन सुरु गर्ने र नयाँ जीवनमा के–के गर्ने भन्ने अनेक सपना युवतीले सजाएकी थिइन् । विवाहका दिन सिँगारिएर मण्डपतर्फ जाँदै गर्दा अभिभावकले भने– अब तिमीले यही केटासँग विवाह गर्नुपर्छ जो विवाहमण्डपमा बसिरहेको छ । दश वर्षअघि कलेजबाट घर फर्कने क्रममा त्यही केटोबाट उनीमाथि बलात्कार प्रयास भएको थियो र उनी मुस्किलले बचेर घर पुगेकी थिइन् । विवाहमण्डपमा दुलाहा साटिएछ, आफूले व्यभिचारी ठानेकै व्यक्तिलाई दुलाहा स्वीकार गर्न दबाब अभिभावक दिँदै छन्, त्यस्तो अवस्थामा ती युवतीको मनोदशा कस्तो होला ?

हो, नेपाली काङ्गे्रसका कार्यकर्ता, मतदाता र शुभचिन्तकहरू अहिले तिनै युवतीको हालतमा पुगेका छन् । जीवनभर आफूलाई माहुरी ठानेर अरूलाई मह दिन नसक्ने भँवरा भनी आलोचना गर्नेहरूलाई मह खाने दिनमै भँवराको सेवा गर्न बाध्य पारिएको छ या बाध्य पार्न खोजिएको छ । काङ्गे्रसले माओवादीलाई माओवादीले काङ्गे्रसलाई, एमालेले राप्रपालाई र राप्रपाले एमालेलाई मतदान गर्ने उद्देश्यले जुन गठबन्धन भयो, यसले एकसाथ अनेक प्रश्न उठाएको छ, त्यसो भए नेपालमा बेग्लाबेग्लै नामका दल किन ? बेग्लै विचार–दर्शन, विधान, घोषणापत्र, चुनाव चिह्न र साङ्गठनिक संरचना किन ? के पार्टीहरूबीचको भिन्नता भनेको चुनाव चिह्नकै मात्र हो त ? काङ्गे्रसले हँसिया हथौडामा, एमालेले गाईमा, राप्रपाले सूर्यमा र माओवादीले रूख चिह्नमा छाप लगाउन सकिने या पर्ने हो भने एउटै घोषणापत्र, एउटै साङ्गठनिक संरचना, एउटै विधान, एउटै नेता र एउटै गन्तव्य किन हुन नसक्ने भन्ने प्रश्न पनि अब उठ्न थालेको छ । काङ्गे्रसका पाँच हजारभन्दा बढी कार्यकर्ता काङ्गे्रसलाई माया गरेकै कारण काटिए । कोही परिवारमा सँगै बसेर खाना खाँदै गर्दा त कोही विद्यालयमा विद्यार्थीलाई पढाउँदै गर्दा र कोही खेतबारीमा काम गर्दागर्दै काटिएका हुन् । त्यसबेला काङ्गे्रसको पार्टी कार्यालयले तीन वाक्यमा एउटा शोक वक्तव्य पे्रसमा फालिदिने औपचारिकता पूरा गथ्र्यो र महान् प्रतिवाद गरेको अनुभूति गर्दथ्यो । निकै संवेदनाहीन भयो कि यो काङ्गे्रस पार्टीजस्तै लाग्थ्यो त्यसताक ।

पञ्चायतको आखिरीतिर सुजाता कोइरालाका पिता गिरिजाप्रसादले पञ्चायती व्यवस्था र पञ्चहरूसँग काङ्गे्रसको दूरी कम गर्दै लगेका थिए । वर्गीय सङ्गठनको सदस्यता नलिईकन पञ्चायती राजनीतिमा सरिक हुन पाउनुपर्ने सर्त राखेर गिरिजाप्रसादले प्रजातान्त्रिक आन्दोलनको विसर्जन गराउन खोज्दाताक को काङ्गे्रस र को पञ्च हुन् भनी छुट्याउनै नसकिने अवस्था बन्दै थियो । पञ्चायत र पञ्च देशको राजनीतिमा बलियो देखिँदा काङ्गे्रसलाई पञ्चहरूको निकट पु¥याउने तिनै गिरिजाप्रसादले कम्युनिस्ट–माओवादी बलियो भएको देखेपछि काङ्गे्रसलाई पनि माओवादीजस्तै बनाइदिए । सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता र त्यस्तै कुन्नि के–के विशेषण लगाइएको राजनीतिक व्यवस्था–अवस्था बनाउन गिरिजाप्रसादले बीपी कोइरालाद्वारा प्रतिपादित विचार, दर्शन, सिद्धान्त, नीति र कार्यक्रम त्याग गरिदिएका थिए या प्रथम राष्ट्रपति बन्ने उग्र महत्वाकाङ्क्षाले डो¥याएर उनलाई माओवादी बनाएको थियो वा राजासँग प्रतिशोधको भावनाले भन्ने प्रश्नहरूको जवाफ इतिहासले खोज्दै गर्ला । कारण जे भए पनि काङ्गे्रसको माओवादीकरण गर्ने मुख्य पात्र गिरिजाप्रसाद नै हुन् भन्नेमा इतिहास द्विविधामा रहनेछैन । काङ्गे्रसलाई माओवादीको एजेण्डा बोकाएर सडकमा उतार्ने कार्यको सम्पूर्ण जस (क्रेडिट) सुजाताका पिता गिरिजाप्रसादलाई नै जान्छ ।

काङ्गे्रसका समर्थक तथा कार्यकर्ताहरू परिवर्तनका हिमायती अवश्य हुन्, तर उनीहरू प्रचलित सामाजिक मूल्य, मान्यता र परम्पराको संरक्षण गर्दै सामाजिक जीवनमा रूपान्तरण खोज्छन् । कम्युनिस्टझैँ पुरानो जरा काटेर हाँगा र पात बलियो बन्ने विपरीत सोच काङ्गे्रस समर्थकहरूमा हुने गर्दैन । राष्ट्र भन्नु एउटा परम्पराको शृङ्खला हो र राष्ट्रवाद नै परम्परावादी सोचको सबैभन्दा बलियो दृष्टान्त हो । काङ्गे्रसका समर्थक एवम् कार्यकर्ताहरू राष्ट्रियता र राष्ट्रवादका हिमायती हुन्, त्यसैले उनीहरू परम्परावादी हुन् । वैयक्तिक स्वतन्त्रता, मानवअधिकार, सम्पत्ति आर्जन तथा सङ्ग्रह गर्न र स्वस्थ प्रतिस्पर्धा गर्न पाउने हक संरक्षणको पक्षमा भएकोले काङ्गे्रसलाई प्रजातन्त्रवादी भनिएको हो । त्यसो त बहुमतको कदर, जनप्रतिनिधिमूलक शासकीय पद्धति र आवधिक निर्वाचनको हिमायती भएकोले पनि काङ्गे्रसलाई प्रजातन्त्रवादी मानिएको हो । बीपी कोइरालामा सङ्घीयता, गणतन्त्र र धर्मनिरपेक्षताका बारेमा जानकारी या ज्ञान नभएकोले उनीबाट संवैधानिक राजतन्त्रसहितको राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई अवलम्बन गरिएको ठान्नु भूल हो । नेपाललाई दूरगामी हित कस्तो पद्धतिले गर्न सक्छ भन्ने निष्कर्षमा बीपी लामो अध्ययन र चिन्तनमननपछि मात्र पुगेका हुन् । राष्ट्रियताको रक्षाका निम्ति संवैधानिक राजसंस्थाको अनिवार्यता महसुस गरेर उनी गणतन्त्रका पक्षमा थिएनन् र कम्युनिस्ट वामपन्थीहरू राष्ट्रियता, प्रजातन्त्र र सामाजिक सद्भावका बैरी हुन सक्ने ठानेर नै बीपीले राजनीतिमा कम्युनिस्टबाट टाढा र राजासँग निकटको सम्बन्ध बनाउने नीति अवलम्बन गरेका हुन् भन्ने ऐतिहासिक दस्तावेजहरूले पुष्टि गकेको छ । तर, बीपीका भाइ गिरिजाप्रसाद कोइराला बीपीद्वारा प्रतिपादित सिद्धान्त रातारात विस्थापित गरिदिए, माओवादीका एजेण्डा बोक्न निर्लज्जतापूर्वक अग्रसर भए ।

नेपालमा जतिबेला निर्दलीय पञ्चायतीराज थियो, त्यतिबेला धेरै युवा पञ्चायतविरुद्धको आन्दोलनमा क्रियाशील थिए । कोही काङ्गे्रस त कोही वामपन्थी कम्युनिस्टनिकट रहेर सङ्गठित र क्रियाशील भइरहँदा यही पङ्क्तिकार पनि वामपन्थी धारमा उभिएर प्रजातान्त्रिक आन्दोलनमा सक्रिय रहेको हो । त्यसक्रममा डेढ दर्जनपटक प्रहरी हिरासतमा परेको र दुईपटक (२०४२–२०४४) गरी करिब डेढ वर्ष जेल सजाय भोग्नुपरेको भए पनि समयाक्रममा कम्युनिस्ट आन्दोलनभन्दा प्रजातान्त्रिक आन्दोलन नै उचित, व्यावहारिक र ठीक भन्ने निष्कर्षमा पुगिएको थियो । वामपन्थी आन्दोलनको मैदानबाट अलग हुने क्रममा नै गणतन्त्र, धर्मनिरपेक्षता र सङ्घीयतालगायतका कैयन अवधारणा गलत ठहर गरिएको हो । बहुलवादमा आधारित प्रचलित संसदीय प्रजातन्त्र, संवैधानिक राजतन्त्र, समाजवादी कार्यक्रमसहितको उदार अर्थनीति, विकेन्द्रीकरण आत्मसात् गर्ने एकात्मक राज्य प्रणाली र धार्मिक स्वतन्त्रतासहितको सनातनी हिन्दूराष्ट्रका पक्षमा जोडदार ढङ्गले उभिनुपर्ने देखिएपछि प्रजातान्त्रिक आन्दोलनलाई ठीक र काङ्गे्रसलाई सही बाहक ठानिएको थियो । विचारमा परिवर्तन नआएको भए मजस्ता कैयन मानिस वामपन्थी कम्युनिस्ट पार्टी छोडेर प्रजातान्त्रिक आन्दोलनलाई स्वीकार गर्न किमार्थ तयार हुने थिएनन् । यसरी कम्युनिस्ट एजेण्डा गलत ठहर गरी प्रजातान्त्रिक आन्दोलनसँग जोडिन आइपुगेका कैयनलाई समेत स्तब्ध तुल्याउँदै गिरिजाप्रसादले रातारात कम्युनिस्ट र अरू कुन्नि क–कसको एजेण्डा बोक्न काङ्गे्रसलाई बाध्य गराए । राष्ट्रियताको सवालमा राजा र मेरो घाँटी जोडिएको छ भनी सार्वजनिक घोषणा गर्ने बीपी कोइरालाको पार्टी रातारात मान्छे र देशको गर्धन तोड्नेहरूको हितैषी बन्न कसरी पुग्यो, सपनाझैँ लाग्छ ।

गिरिजाप्रसादले काङ्गे्रसको मौलिक विचार विस्थापित गरेर कम्युनिस्टका एजेण्डा ग्रहण गरेपछि यसको आत्मा मरेको अनुभूति गराएको थियो, काङ्गे्रस केवल एउटा भीड या प्राविधिक संरचनामा रूपान्तरित भएको थियो । सुजाताका पिता गिरिजाप्रसाद कोइराला थिए नातामा बीपी कोइरालाका सहोदर भाइ, तर कर्मले उनलाई प्रचण्डका आत्मीय दाज्यू पुष्टि गरिदिएको छ । नेपाली काङ्गे्रसलाई आफ्नो मौलिक विचार–दर्शनबाट च्यूत गराउने कामको एक्ला हकदार केवल गिरिजाप्रसाद मात्र बनेका छन् । तर, अहिलेको नेतृत्व गिरिजाले आत्मा मारेपछि बाँकी रहेको देहसमेत नास गर्न उद्यत् हुँदै छ । शेरबहादुर देउवा काङ्गे्रस पार्टीको सभापति रहेको यो समयमा काङ्गे्रसका समर्थक एवम् कार्यकर्तालाई ‘हँसिया हथौडा’ चुनाव चिह्नमा मतदान गर्न उर्दी जारी भएको छ ।

प्रजातन्त्रमा प्रतिपक्षी भूमिकालाई सम्मानजनक र अति महत्वपूर्ण मानिन्छ । पार्टीको विचार–दर्शन, नीति, कार्यक्रम र व्यवहारका आधारमा जनताको मत जुन रूपमा प्राप्त हुन्छ सोहीअनुरूप हैसियत निर्धारण हुने कुरालाई दलहरूले स्वीकार गर्नुपर्छ । कुनै दल या दलका नेता सत्तामा रहन चाहन्छ, प्रतिपक्षी भूमिकाप्रति उपेक्षाभाव राख्छ र सत्ताका निम्ति जस्तोसुकै सम्झौता गर्न तयार हुन्छ भने हामीले स्पष्ट रूपमा बुझ्नुपर्छ– त्यहाँ विचार र इमानको राजनीति समाप्त हुन्छ । प्रतिपक्षी बन्नबाट जोगिन या सत्ताकै केन्द्रबिन्दुमा रहिरहन जुनसुकै स्तरको सम्झौता या सङ्घर्ष गर्नु प्रजातन्त्रवादी दृष्टिमा सर्वथा निन्दनीय छ । यस्तो व्यवहारलाई प्रजातन्त्रसम्मत मान्न सकिँदैन । हाल प्रमुख प्रतिपक्षीको भूमिकामा रहेको एमालेसँग प्रतिस्पर्धा गर्न नसक्ने अवस्थामा काङ्गे्रस देखिँदैन । आफ्नो मौलिक विचारसहित काङ्गे्रस मैदानमा उत्रिने हो भने जनताको साथ काङ्गे्रसलाई रहनेमा शङ्का गरिरहनुपर्ने पनि देखिँदैन । राष्ट्रियता, प्रजातन्त्र र समाजवादको ‘एजेण्डा’ जुन बीपीले तर्जुमा गरेका थिए त्यसको मौलिक धरातलमा उभिएर जनताबीच जान खोजेको अवस्थामा काङ्गे्रसले वैचारिक सङ्कटको सामना गर्नुपर्ने थिएन । बितेको एक दशकदेखि काङ्गे्रसले भोग्नुपरेको सबैभन्दा ठूलो समस्या विचार–एजेण्डाको हो । गिरिजाप्रसादले माओवादी र त्यस्तै विभिन्न जाति–प्रजातिका एजेण्डा ग्रहण गरेपछि वैचारिक सङ्कटमा फसेको काङ्गे्रसलाई उद्धार गर्न गिरिजापछिको नेतृत्वले हिम्मत दर्शाउन सक्नुपथ्र्यो । सुशील कोइराला हुँदै शेरबहादुर देउवासम्म आइपुग्दा काङ्गे्रसमा विचार पुनस्र्थापनाको प्रयास त हुन सकेन, अब माओवादीसँग चुनावी तालमेलको तहसम्म काङ्गे्रस ओर्लिएको छ । नेपाली काङ्गे्रसको कुनै पनि सदस्य, शुभचिन्तक या मतदाता बनेका छन् भने तिनले माक्र्सवाद, लेनिनवाद र माओवाद आदि नाममा सङ्गठित वामपन्थी कम्युनिस्टहरूसँग विमति राखेका हुन्छन् र कम्युनिस्टका एजेण्डालाई स्वीकार गर्न नसकेर नै मानिस काङ्गे्रसको मतदाता बन्न पुगेका हुन् । काङ्गे्रसले कम्युनिस्टका एजेण्डा परित्याग गर्नुपर्छ र आफ्नै मौलिक वैचारिक धरातलमा उभिनुपर्छ भन्ने आवाज फराकिलो हुँदै गएको वर्तमानमा काङ्गे्रस नेतृत्वबाट मतसमेत माओवादीलाई दिन आह्वान भएपछि काङ्गे्रसको तल्लो तहमा असैह्य वेदना प्रकट भएको छ । सत्तामा पुग्ने वैधानिक मार्ग सुनिश्चित हुँदाहुँदै माओवादका नाममा प्रचण्ड–बाबुरामले हिंसात्मक सङ्घर्ष गर्नु र चुनाव परिणाम आफ्नो अनुकूल बनाउने नाममा माओवादीजस्तो समूहसँग चुनावी तालमेल गरिनुका बीच गुणात्मक अन्तर भेटिँदैन । मानिस उभिने वैचारिक धरातलमा हो र विचारमा उभिएकै कारण हामी दर्बिलो भएका पनि हौँ । विचारका लागि वर्षौंदेखि लडियो र निर्वाचन भएपछि को गलत को सही भन्ने स्पष्ट हुने विश्वासका साथ निर्वाचनको प्रतीक्षा गरियो । तर, निर्वाचन आएपछि जोसँग जीवनभर लडियो तिनैलाई मतदान गर्न नेतृत्वबाट आदेश भएको छ । माओवादीले बरु एउटा गाउँ या इलाकामा काङ्गे्रस भनेर चिनिएका एक वा केही व्यक्तिको हत्या गरेर काङ्गे्रस बन्नबाट आममानिसलाई निरुत्साहित गरेका हुन् ।

माओवादीले काटमार अभियान चलाइरहँदा पनि मानिसले मनभित्र काङ्गे्रस र प्रजातन्त्रवादी विचार जोगाएर राखेका थिए, तर यतिबेला काङ्गे्रसकै नेतृत्वबाट काङ्गे्रसको सामूहिक हत्या हुने स्तरको नीति अवलम्बन गरिएको छ । एमाले वा अन्य कतिपय समूहले कुनै गाई वा भैंसी चिह्नमा मतदान गर्न तयार हुनु कुनै अनौठो र अप्रत्यासित घटना होइन । ०३७ को जनमतसङ्ग्रहमा नीलो (प्रजातन्त्र) का विरुद्ध पहेँलो (निर्दलीय पञ्चायत) को पक्षमा मतदान गर्नेहरू अहिले गाई चिह्नमा छाप लगाउन तयार भए भन्दैमा त्यसलाई अस्वाभाविक रूपमा लिनुपर्दैन । सत्ता पाउन ज्यान लिन र ज्यान दिन, देश तोड्न र विदेशीलाई जोड्नसमेत तयार भएकाहरूले जुनसुकै स्तरको गठबन्धन बनाउन या भत्काउन पनि सक्छन् । तर, काङ्गे्रसको पृष्ठभूमि यसप्रकारको होइन । गिरिजाप्रसादको भूमिकालाई माइनस गरेर बुझ्दा काङ्गे्रसजन सधैँ विचार अडानमा उस्तै देखिन्छन् । त्यसैले जीवनमा लामो समयदेखि कम्युनिस्ट विचारको आलोचक रहिआएका, प्रचण्ड–बाबुरामहरूलाई हत्या र हिंसाको ‘सिम्बल’ ठान्नेहरूले अब तिनलाई जिन्दावाद भन्न कसरी सक्लान्, मतपत्रमा रूख चिह्न खोजी–खोजी स्वस्तिक छाप लगाउने बानी परेकाहरूले ‘माथिको आदेश’ भएकै आधारमा हँसिया हथौडा चिह्नमा ठप्पा लगाउन कसरी सक्लान् भन्ने जस्ता उराठ जिज्ञाशा पैदा गराएको छ ।

प्रजातन्त्रमा दलहरूको विशिष्टता तिनको विचार–दर्शन, नीति, कार्यक्रम र गन्तव्यले निर्धारण गर्दछ । दलको इतिहास, पृष्ठभूमि, विचार–व्यवहार, परिपक्वता र भविष्यप्रतिको प्रतिबद्धताजस्ता कुरालाई आधार बनाएर जनताको समर्थन खोज्ने र जनता आफूले मन पराएको पक्षलाई मतदान गर्ने हुँदा निर्वाचनका माध्यमबाट दलको शक्ति, सामथ्र्य र हैसियत सुनिश्चित हुने गर्दछ । स्वार्थको कब्जामा परेका नेताहरूले पार्टी कब्जामा लिएर आफ्नो आकाङ्क्षा पूर्ति गर्दै जाने क्रममा दलहरूबीचको वैचारिक, सैद्धान्तिक र चरित्रगत भिन्नता मेटिने कदम चालेका छन् ।

यसरी सबै प्रकारका अन्तरविरोध, वैचारिक भिन्नता र पृष्ठभूमि बिर्सिएर एक–अर्कालाई मतदान गर्नु–गराउनु थियो भने विचार–दर्शनको अन्तर देखाएर हामी जनताबीच यति धेरै फाटो किन गरायौ नेता ? त्यसैगरी अपवित्र गठबन्धन गर्नु थियो भने हामी जनताबीचको पवित्र सम्बन्धमा किन नुन–चूक छर्कियौ ? किन एक–अर्काको ज्यान लिने तहसम्म उक्सायौ ? मदारीको बाँदरझैँ किन नचायौ हामीलाई र देशको समय बर्बाद ग¥यौ ? जवाफ देऊ नेता ।