
मदिरा उत्पादन गर्ने एक डेनिस कम्पनीले नयाँ स्वादको बियर बनाउनका लागि पचास हजार लिटर मानवमूत्र (पिसाब) सङ्कलन गरेको खुलासा भएको छ । पिसनर नाम दिइएको उक्त बियर निर्माणका लागि नोरेब्रो नामक डेनिस कम्पनीले दुई वर्षअघि उत्तरी युरोपमा आयोजित एक ऐतिहासिक म्युजिक फेस्टिभलमा भेला भएका दर्शकबाट पचास हजार लिटर पिसाब सङ्कलन गरेको थियो । बियरको लागि आवश्यक बार्लीमा मानवमूत्रको उपयोग गरिए पनि बियर पिउँदा पिसाबको गन्ध नआउने अभिव्यक्ति पारखीहरूले दिएका छन् । तर, पिसाबबाट बियर बनाएको जानकारी पाउने धेरैले नाक खुम्च्याएपछि कम्पनीका सीईओ हेनरिक वाङले चाहिँ बेग्लै स्पष्टीकरण दिएका छन् । मानिसहरूले आफ्नो कम्पनीको बियरमा सोझै पिसाब मिसाएको ठानेकोमा हाँसो उठेको भन्दै उनले पिसाबलाई ‘बियरसाइक्लिङ’ प्रोसेसमार्फत पेयजलमा परिणत गरेर नयाँ स्वाद दिइएको प्रस्ट्याएका छन् । यसबाट कुनै हानि पुग्ने नभई बियरका पारखीले नौलो स्वाद हासिल गर्ने उक्त कम्पनीको दाबी छ ।
प्रतिक्रिया