भ्रमको खेती गर्दै ‘खेलकुदको जर्नेल’ बन्ने दाउमा थापा

– श्रीविक्रम भण्डारी
राष्ट्रसेवक महिला कर्मचारीको मर्यादा, इज्जत तथा अस्मिताबारे सकारात्मक कोणबाट सचेतना जगाउने अभिप्रायले गत साता घटना र विचार साप्ताहिकद्वारा सम्प्रेषित समाचारविरुद्धमा राष्ट्रिय खेलकुद परिषद्का तमाम कर्मचारीलाई दिग्भ्रमित तुल्याउने प्रयास भएको पाइएको छ । खेलकुद विकास विभागका प्रमुख कुलबहादुर थापा स्वयम् नै यस्तो क्रियाकलापमा संलग्न रहेको सम्बद्ध निकायबाट बुझिएको छ । खेलकुदका कर्मचारीमाथि आफूले गरेका अन्याय–अत्याचार एवम् आफ्ना कर्तुतको ढाकछोप गर्न थापाले यो नाटक मञ्चन गरेका हुन् भन्ने सहजै बुझ्न सकिन्छ ।
गत साता बुधबार घटना र विचारमा प्रकाशित समाचारलाई लिएर विभागीय प्रमुख थापाले नै आफ्ना नजिकका व्यक्तिलाई प्रयोग गरी आममहिला कर्मचारी भेला गरी उनीहरूको ध्यान अन्यत्र मोड्न भरमग्दुर प्रयास गरेका थिए । तर, राष्ट्रिय खेलकुद परिषद्को एक मात्र कर्मचारी सङ्घकी उपाध्यक्ष सरस्वती केसीले उक्त लेखले खेलकुदका महिलाको आँखा खोलिदिएको घटना र विचार प्रतिनिधिसँग बताएकी छिन् । जसले महिला कर्मचारीमाथि हुने विभिन्नखाले शोषण, उत्पीडन र दमन कार्यमा संलग्न आततायीहरूको पर्दाफास भएको छ । तथापि, आफ्ना कर्तुतको पर्दाफास हुने सन्त्रासले ज–जसले महिला कर्मचारीलाई उचाल्ने प्रयास गरे सञ्चारकर्मीलाई गालीगलौज गर्दै हदैसम्मको कारबाही गर्नुपर्छ भन्ने आफ्नो अभिव्यक्ति राखे, कतै तिनै प्रमुखहरू नै घटना र विचारले प्रकाशित गरेको समाचारको प्रमुख नाइके त होइनन् ? प्रश्न खडा भएको छ । अन्यथा एउटा पीडित महिला कर्मचारीले आफूप्रति भएको विभिन्नखाले शोषणबारे दुखेसो पोख्दा उनीहरूलाई किन पोल्यो त ? अरू प्रमुखलाई किन पोलेन ? यहाँ नोटिस गर्नुपर्ने कुरा छ । यो विषय गम्भीर र संवेदनशील भएकाले सङ्घकी उपाध्यक्ष केसीले ठण्डा दिमागले सोच्नुपर्ने आवश्यक भइसकेको छ । बुझ्नेलाई इशारा नै काफी हुन्छ, त्यसैले यो कुरा समयमै केसीले बुझ्नुपर्छ । आततायीहरूको मुकुण्डोको पर्दाफास गर्नुपर्छ ।

कुलबहादुर थापा ०५२ सालमा तत्कालीन राखेपका उपाध्यक्ष सोमनाथ अधिकारी (प्यासी)को निजी सचिवको रूपमा राखेपमा चोरबाटोबाट प्रवेश गरेका थिए । त्यसपछि विष्णुगोपाल श्रेष्ठको अनुचरको रूपमा परिषद्मा कार्य प्रारम्भ गरेका थिए । त्यसपछि शक्तिको आडमा थापाले खेलकुदमा कति उपद्रो मच्चाए त्यसको लेखाजोखा नै छैन । पछिल्लो समय आफूलाई समारोहविज्ञको रूपमा आफैँ चिनाउँदै आएका थापाको मपाइँत्वले पराकाष्ठा नाघेको यत्रतत्र सर्वत्र चर्चाको विषय बनेको थियो । सो क्रममा नेपाली सेनालाई रिहर्सलको क्रममा सलामी दिएको कुरालाई बङ्ग्याएर नेपाली सेनाबाट आफू सम्मानित भएको र सेनाद्वारा सलामी ग्रहण गरेकोजस्ता भ्रामक र निन्दनीय कार्य सामाजिक सञ्जालमा छरपस्ट पारेका थिए । यसरी आफूलाई खेलकुदको स्वघोषित जर्नेल बनाउने क्रममा थापाले सातौँमा अर्को उपद्रो पनि गरेका थिए । पूर्वाञ्चलमा सम्पन्न सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन समारोहपश्चात् सम्माननीय राष्ट्रपतिको कुर्सीमा अभद्र तरिकाले बसी खुदको राज्यारोहण गर्दै आफूलाई लावण्यदेशको राजाको रूपमा प्रस्तुत गरेका थिए । थापाले गरेको त्यो अभद्र कार्यले त्यसबेला निकै चर्चा पाएको थियो । जुन कार्य गर्नेलाई भन्दा देख्नेलाई लाज भएको थियो ।
कुलबहादुर त्यस्ता थापाकाजी हुन् जसको वीरता र साहसको गाथा खेलकुदमा जति गाए पनि कमै हुन्छ । किनकि खेलकुदमा उनले यस्तै कार्य र हर्कत गरेका छन् । थापाको त्यही वीरता र साहसको सानो अंशको रूपमा दक्षिण कोरियाको इन्चोनमा सम्पन्न एसियाली खेलकुद प्रतियोगिता परेको छ । उक्त प्रतियोगितामा जाने सहभागीको टिकटको व्यवस्थापनको कार्य थापाले हत्याउन सफल भएका थिए । सो अवसरमा थापाले प्रतिटिकटमा तीन हजारदेखि दश हजारसम्म नाफा खाएको चर्चा त्यसबेला खेलकुदका कर्मचारीबीच निकै चर्चा र चासोको विषय बनेको थियो । त्यस्तै खेलकुदका अन्य कर्मचारी पदाधिकारी इकोनोमिक क्लासमा गए पनि थापा भने बिजनेस क्लासमा सयर गर्न सफल भएका थिए । यो घटनाबाट के सिद्ध हुन्छ भने थापाको गलत कार्य आर्थिक मात्र नभई पदीय मर्यादासमेत ख्याल नगर्ने व्यक्तिको रूपमा देखिन्छ । थापाले परिषद्मा यस्ता निज हर्कत र गलत कार्य गर्दासमेत राखेपले मौनता साँधेको छ । जसले गर्दा उनलाई अझ गलत कार्य गर्नमा प्रोत्साहन मिलेको छ ।
विभागीय प्रमुख पदको दुरुपयोग
राखेपअन्तर्गत अत्यन्त जिम्मेवार विभागको रूपमा रहेको खेलकुद विकास विभाग जुन प्राप्त गर्न तत्कालीन सदस्यसचिव युवराज लामाको थापाले गरेको चाकरी निकै चर्चाको विषय बनेको थियो । अर्कोतर्फ झन्डै १ सय ९७ को सङ्ख्यामा रहेका राष्ट्रिय खेलकुद सङ्घहरूको निगमनकारी भूमिकाको रूपमा काम गर्नुपर्ने विभागको प्रमुखमा रहेका थापाले आफ्नो पदीय मर्यादा र हैसियतलाई बिर्सिएर राष्ट्रिय खेल सङ्घहरूको निर्वाचनमा आफूमातहतका सामान्य कर्मचारीलाई निर्वाचन गर्न पठाई उनीहरूमार्फत मोटो रकम असुलउपर गरेको पीडित कर्मचारीले बताएका छन् । यसैगरी आकर्षक मानिने खेल सङ्घहरूमा आफ्नो पहुँच विस्तार गर्ने क्रममा ‘खुकुरी मार्सल आर्टस सङ्घ’ नामक खेल संस्था राखेपमा दर्ता गरी सो घोषित रूपमा थापा अध्यक्ष बनेका छन् । उनले उक्त सङ्घको निर्वाचन आफ्नै फार्म हाउसमा राखेपका सदस्य उपेन्द्र पौडेललाई अतिथि बनाएर सम्पन्न गरेका थिए । राखेप ऐन २०४८ र खेलकुद विकास नियम २०४९ र कर्मचारी सेवा सर्तसम्बन्धी नियमावली कुन नियमले थापालाई अध्यक्ष बन्न अधिकार दियो त्यो अनुत्तरित रहेको छ । त्यस्तै, राष्ट्रिय सङ्घमा एमालेका कार्यकर्तालाई अध्यक्ष बनाउन जीवनराम श्रेष्ठ र लामा टेन्डी शेर्पाको निर्देशनमा थापा ज्यान छोडेर लागेको घामजस्तै छर्लङ्ग छ ।
बढुवा प्रकरण
०६३ मा राष्ट्रिय खेलकुद परिषद्ले लामो समयपश्चात् कर्मचारीको बढुवासम्बन्धी कार्य अगाडि बढाउने क्रममा थापाले पदीय मर्यादालाई बिर्सेर आर्थिक मोलाहिजा र अन्य प्रलोभनमा परेर बढुवालाई विवादित बनाएका थिए । सो प्रमाणको रूपमा तत्कालीन समयमा राखेपका कर्मचारीले थापाविरुद्ध आन्दोलन नै छेडेका थिए । तर, तत्कालीन सदस्यसचिव जीवनराम श्रेष्ठको मतियार भएका कारण थापा उम्कन सफल भएका थिए । थापालाई त्यसबेला सदस्यसचिव श्रेष्ठले आफूले गल्ती गरेको भनी आमकर्मचारीसमक्ष माफी मागेका थिए । यसबाट पनि थापालाई गलत कार्य गर्न हौसला र प्रेरणा मिलेको थियो । श्रेष्ठको सोही गुनको बदला तिर्ने क्रममा थापाले सर्वोच्चले अवैधानिक घोषित गरेको ओलम्पिक कमिटीका पदाधिकारीसँग साँठगाँठ गरी चीन भ्रमणमा जानसमेत सफल भएको चर्चा अहिलेसम्म परिषद्मा सेलाएको छैन ।
कुलबहादुर थापा राखेपमा प्रवेश गरेदेखि नै विवादको घेरामा पर्दै आएका छन् । उनको सुरुको नियुक्ति नै वैधानिक रूपमा नभई प्रक्रियागत रूपमै त्रुटिपूर्ण रहेको छ । सो सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पटक–पटक उजुरी परेको जानकारीमा आएको छ । अख्तियारमा पहिलोपटक परेको उजुरीको सम्बन्धमा युवा तथा खेलकुद मन्त्रालयलाई छानबिन गर्न लगाएकोमा मन्त्रालयका तत्कालीन सहसचिव चूडामणि पौडेललगायत केही कर्मचारीलाई प्रभावमा पारी आफ्नो गलत प्रक्रियाबाट भएको नियुक्तिलाई थापा ढाकछोप गर्न सफल भएका छन् । अन्यथा निजी सचिवको नियुक्ति पदाधिकारीको समयावधिसँगै सकिन्छ । उसको कानुनी रूपमा कुनै हैसियत रहँदैन । प्रस्ट रूपमा भन्नुपर्दा थापाको पद र सिद्धार्थ लामाको पद एउटै हो । फरक यति मात्रै हो कि थापा उपाध्यक्षका निजी सचिव हुन् भने लामा सदस्यसचिवका । यदि यो नियुक्ति गैरकानुनी होइन भने सिद्धार्थ लामाले किन परिषद् छाडे त ? प्रश्न उठ्नु स्वाभाविकै हो । नैतिकता सबैभन्दा ठूलो कुरा हो, सिद्धार्थमा नैतिकता थियो उनले नैतिकताको पालना गरे ।
खुरुक्क बाबुसँगै परिषद् छाडे । तर, थापाले नैतिकताको नाममा नचकरोको भूमिका निभाए । जसले उनी अहिले खेलकुदको धरोधरको रूपमा ख्याति प्राप्त गर्दै ऐतिहासिक बन्न सफल भएका छन् । परिणाम पटकपटक उनको नियुक्तिको विरुद्धमा अख्तियार र राखेपमा उजुरी पर्दै आएका छन् । थापा त्यस्ता पात्र हुन् जसले परिषद्मा सरुवा बढुवाजस्ता नियमित कार्यमा समेत महिला तथा पुरुष कर्मचारीमाथि विभिन्नखाले शोषण गरेको आरोप लागेको छ । तर, विडम्बना थापाका यस्ता कर्तुत बेलाबेला सार्वजनिक भइरहँदासमेत सम्बन्धित निकायले चुप लागेर बस्नु रहस्यमय बनेको छ । आफूलाई खेलकुदमा दूधले नुहाएको व्यक्तिको रूपमा प्रस्तुत गर्दै आएका थापाको मन कति कालो छ र उनले आमकर्मचारीलाई कति सताएका छन् त्यो पक्षलाई नकोट्याउनु नै वेश होला ।
प्रतिक्रिया