माओवादी उत्थानमा देउवाको योगदान

माओवादी उत्थानमा देउवाको योगदान


Dev Prakash Tripathi 17

– देवप्रकाश त्रिपाठी

प्रजातन्त्रमा विश्वास राख्नेहरूले प्रजातान्त्रिक आन्दोलनमा कुनै न कुनै किसिमले योगदान पु¥याएजस्तै माओवादी आन्दोलनमा पनि केवल माओवाद, नयाँ जनवाद, सर्वहारावाद र कम्युनिस्ट पार्टीको एकल अधिनायकवादमा विश्वास गर्नेहरूको मात्र साथ–सहयोग रहने ठानिन्छ । सन् १९४७ मा छिमेकी मित्रराष्ट्र भारत स्वतन्त्र भएपछि नेपालको प्रजातान्त्रीकरणमा भारतीय या चीनमा माओ त्से तुङको नेतृत्वमा भएको ‘जनवादी’ सङ्घर्षमा तात्कालिक सोभियत कम्युनिस्ट सत्ताको सहयोग रहनुलाई मानिसले वाञ्छनीय र स्वाभाविक ठान्नुको कारण पनि उल्लिखित मान्यता नै हो । तर, नेपालको माओवादी सङ्घर्षलाई कुनै कम्युनिस्ट भनिने मुलुक र विदेशमा क्रियाशील कम्युनिस्ट पार्टीहरूका तर्फबाट भन्दा अन्य पक्षबाट नै ज्यादा साथसहयोग रहँदै आयो, त्यसैले प्रचण्ड–बाबुरामको महत्वाकाङ्क्षामा हावा भरेर कसैले सुरु गराएको रहस्यमयी आन्दोलनका रूपमा यसलाई बुझ्ने गरिन्छ ।

राजा वीरेन्द्रको शासनकालमा माओवादीलाई दरबारसँग जोडेर हेर्ने गरिन्थ्यो भने वीरेन्द्रको वंशनासपछि माओवादी आन्दोलनको नाता–सम्बन्ध छिमेकी मुलुक र एसियामा चासो राख्ने केही पश्चिमा मुलुक तथा इसाई सङ्घसंस्थाहरूसँग बलियो भएको महसुस नेपालभित्र गरिँदै छ । नेपालविज्ञ भनेर चिनिने प्रो. एसडी मुनिले भारतका तात्कालिक प्रधानमन्त्री अटलबिहारी वाजपेयीसमक्ष प्रचण्ड–बाबुराम भट्टराईद्वारा गरिएको लिखित ‘प्रतिबद्धता’ एक पुस्तकमार्फत सार्वजनिक गरिदिएपछि माओवादी नेताहरूको ‘कनेक्सन’ र नियत स्पष्ट भएको थियो । उनीहरूको ‘इसाई कनेक्सन’को पक्षपुष्टि गर्ने धेरै तथ्यहरू यसअघि नै विभिन्न माध्यमबाट सार्वजनिक भइसकेका छन् । माओवादीले बाह्य मुलुक तथा इसाईधर्मी र अन्तर्राष्ट्रिय सङ्घसंस्थाबाट सहयोग प्राप्त गरिरहँदा सायद प्रचण्ड–बाबुरामले ती मुलुक र सङ्घसंस्थालाई आफूले उपयोग गरिरहेको ठानेका हुन सक्छन् । कालान्तरमा परिणामले उनीहरू नै कसैका निम्ति प्रयोग–उपयोग भइरहेको सिद्ध गर्दै छ ।

माओवादी नेतृत्वले बाह्य मुलुक र सङ्घसंस्थालाई आफूअनुकूल प्रयोग–उपयोग गर्न नसके पनि नेपालभित्र विभिन्न समयमा विभिन्न राजनीतिक दलका नेता, प्रशासक, सुरक्षाकर्मी, मानवअधिकारव्यवसायी र बुद्धिजीवीलगायतलाई आफूअनुकूल प्रयोग गर्ने सफलता भने पाएका हुन् । गिरिजाप्रसाद कोइरालादेखि कृष्ण सिटौलासम्म, माधवकुमार नेपालदेखि वामदेव गौतमसम्मलाई प्रचण्ड–बाबुरामले कसरी उपयोग गरेका थिए, यो भुल्न मिल्ने–सकिने विषय रहेन । यहाँ माओवादी उत्थानमा काङ्ग्रेस सभापति शेरबहादुर देउवाको योगदानमा केन्द्रित रहेर केही तथ्यहरू स्पष्ट गर्ने प्रयास गरिएको छ ।

०६२ को मङ्सिर ७ गते भारतको राजधानी नयाँदिल्लीमा संसद्वादी भनिएका दलहरूको माओवादीसँग सम्झौता हुँदा शेरबहादुर देउवा नजरबन्दमा थिए । राजाको सरकारले भ्रष्टाचारको आरोपमा देउवालाई थुनामा राखेको हुँदा आठ महिना अघिदेखि विभिन्न स्तर र विभिन्न स्थानमा माओवादीसँग भइरहेका संवाद तथा छलफलमा देउवाको प्रत्यक्ष सहभागिता हुन सकेको थिएन । त्यसो त मुलुकमा सङ्कटकाल घोषणा गरेर माओवादीसिर्जित समस्यालाई बल प्रयोग गरेर समाधान खोजेका देउवा आफूलाई राजाको सरकारले ‘दुःख’ दिएको भए पनि मओवादीसँग तत्काल कुनै प्रकारले संवाद र सहमति गर्ने पक्षमा थिएनन् । माओवादीबाट धोका भएको ठान्ने देउवा दलका केही नेता र राजाले समेत आफूलाई धोका दिएको बताउँथे र एकप्रकारले किंकर्तव्यविमुढ एवम् विचलित हुन पुगेका थिए । माओवादीसँग भएको भनिएको बाह्रबुँदे सम्झौतामा दस्तखत गर्न देउवा हिचकिचाएका थिए र, धेरै पछि मात्र गह्रौँ मनले बाह्रबुँदे सम्झौतालाई देउवाले स्वीकार गरेका हुन् । राजाको सरकारले दुःख नदिएको भए माओवादीसँग सम्झौता गर्न, सम्झौतामा कुनै बाध्यताबस जानुपरे पनि बाह्रबुँदे सम्झौताको अन्तर्यलाई नबुझीकन स्वीकार गर्ने निर्णयमा देउवा पुग्ने थिएनन् ।

कोइरालाले राजीनामा दिएपछि शेरबहादुर देउवा प्रधानमन्त्री बनेको साता दिन नबित्दै माओवादीले तीन महिनाका लागि युद्धविराम घोषणा गरी सरकारसँग संवादमा आउने कदम चाल्नुको रहस्य केलाइयो भने होलेरीबाट सेना फिर्ता गराएर माओवादी नेताहरूको ज्यान जोगाउन देउवाले पु¥याएको योगदानबारे स्पष्ट हुन सकिन्छ ।
०००
सेनाको घेराबन्दीमा परेपछि ठूलो पीडादायी सङ्कट महसुस गरिरहेका माओवादी नेताहरूलाई जोगाउन सहयोग पु¥याउनु ठीक या बेठीक के थियो त्यसको समीक्षा नेपाल बाँचिरह्यो भने देशको इतिहासले गर्दै गर्ला । तर, होलेरीबाट सेना फिर्ता गराएर माओवादी नेताहरूको जीवन रक्षा गर्न सर्वाधिक महत्वपूर्ण भूमिका निर्वाह गरेकोचाहिँ शेरबहादुर देउवाले नै हो ।

माओवादीको हिंसात्मक युद्धकालमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्दा र नसम्हालेको अवस्थामा पनि शेरबहादुर देउवाको माओवादीसँग विभिन्न सूत्रहरूमार्फत सम्पर्क हुने गरेकै हो । विभिन्न राजनीतिक दलहरूभित्र अन्तरविरोध पैदा गराउने, अन्तरद्वन्द्व चर्काउने र कमजोर बनाउने रणनीतिक चालबाजीअनुसार माओवादीहरू दलको संस्थापन पक्षको विपरीत उभिएका नेताहरूलाई अनेक ढङ्गले ‘प्रोवोक’ गर्ने गर्दथे । यही चालबाजीअन्तर्गत देउवासँग पनि उनीहरूले सम्पर्क बनाएका थिए र उनलाई गिरिजाप्रसादका विरुद्ध प्रयोग गर्ने प्रयास गर्दै थिए । तर, माओवादीको उक्साहटमा गिरिजाविरुद्ध प्रयोग हुन देउवा तयार भएनन् । त्यसैबीच २०५८ सालको असार अन्त्यतिर माओवादी नेताहरू पश्चिम नेपालको होलेरी भन्ने स्थानमा सेनाको घेराबन्दीमा परे । प्रचण्ड–बाबुरामलगायतका सबै नेताहरू एकैपटकमा ‘सखाप’ हुने स्थिति बनेपछि माओवादी नेताहरूले शेरबहादुर देउवासँग सम्पर्क गरी सहयोग मागेको तथ्य अहिलेसम्म औपचारिक ढङ्गले सार्वजनिक भएको छैन ।

‘तपाईं प्रधानमन्त्री बन्ने वातावरण बनाइन्छ र तपाईंले सरकारको नेतृत्व लिएपछि हामी युद्धविराम गरेर वार्तामा आउँछौँ, त्यसले तपार्इंको उचाइ बढाउँछ र देशको एउटा ठूलो द्वन्द्व अन्त्य गराएको ‘क्रेडिट’ तपाईंलाई प्राप्त हुनेछ’ भनी माओवादीका मुख्य नेताले देउवासँग अनुनयविनय गर्नुको एउटै कारण थियो– होलेरीबाट सेना फिर्ता गराउनु । माओवादीहरूको आग्रहपछि देउवाले विभिन्न ‘च्यानलहरू प्रयोग गरी’ होलेरीबाट सेना फिर्ता गराएको तथ्यबारे देउवा, शान्तकुमार मल्ल, तात्कालिक प्रधान सेनापति या प्रचण्ड स्वयम्ले पुष्टि नगरेसम्म विश्वास गर्न नसकिएला । तर, होलेरीमा माओवादी नेताहरू सेनाको घेराबन्दीमा परेका र सरकारलाई जानकारी नै नदिई सेना रहस्यमयी ढङ्गले फिर्ता भएकोले तात्कालिक प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले राजीनामा दिएको विषयलाई चाहिँ पुनर्पुष्टि गरिरहनु नपर्ला ।

०५८ साउनको पहिलो सातामा कोइरालाले राजीनामा दिएपछि शेरबहादुर देउवा प्रधानमन्त्री बनेको साता दिन नबित्दै माओवादीले तीन महिनाका लागि युद्धविराम घोषणा गरी सरकारसँग संवादमा आउने कदम चाल्नुको रहस्य केलाइयो भने होलेरीबाट सेना फिर्ता गराएर माओवादी नेताहरूको ज्यान जोगाउन देउवाले पु¥याएको योगदानबारे स्पष्ट हुन सकिन्छ । हिंसात्मक युद्ध सुरु गरिएको पाँच वर्ष बितिसक्दा पनि ठोस राजनीतिक ‘उपलब्धि’ हुन नसकेकोमा चिन्तित माओवादी नेताहरूलाई दरबार हत्याकाण्डले विचलित तुल्याएको थियो र उनीहरू भावी नीति र योजना बनाउने तयारी गर्दै थिए । सेनाको घेराबन्दीमा परेपछि ठूलो पीडादायी सङ्कट महसुस गरिरहेका माओवादी नेताहरूलाई जोगाउन सहयोग पु¥याउनु ठीक या बेठीक के थियो त्यसको समीक्षा नेपाल बाँचिरह्यो भने देशको इतिहासले गर्दै गर्ला । तर, होलेरीबाट सेना फिर्ता गराएर माओवादी नेताहरूको जीवन रक्षा गर्न सर्वाधिक महत्वपूर्ण भूमिका निर्वाह गरेकोचाहिँ शेरबहादुर देउवाले नै हो ।

माओवादीको युद्धविराम र संवादको प्रस्तावलाई बिनासर्त स्वीकार गरेर पनि देउवाले माओवादीलाई सहयोग गरेका हुन् । उनीहरू युद्धविरामको समय पारेर कमजोर बन्दै गएको आफ्नो पार्टी सङ्गठनलाई सुदृढ बनाउन चाहन्थे, नयाँ र सुरक्षित सेल्टर तथा सम्पर्क सूत्रहरूको विकास गर्ने उनीहरूको योजना थियो । त्यस्तै, चन्दा सङ्कलन गर्ने, आधुनिक हातहतियारहरू भित्र्याउने, सैन्य दस्तामा नयाँ लडाकु भर्ना गर्ने र विभिन्न तालिमहरू सञ्चालन गर्नेलगायतका कार्ययोजना माओवादीको थियो । त्योभन्दा ठूलो कुरा त माओवादीलाई आफूहरू कुनै पनि बेला राज्यसँग सम्झौता गरेर सत्तामा पुग्ने शक्ति भएको सन्देश जनतामा पु¥याउनु थियो । होलेरीबाट सेना फिर्ता गराउने क्रममा देउवालाई दिएको वचन पूरा गर्नका लागि मात्र माओवादीहरू (०५८ सालमा) वार्तामा आएका थिएनन् । तात्कालिक प्रधानमन्त्री देउवाले बिनासर्त युद्धविराम र वार्ता प्रस्तावलाई स्वीकार गरेपछि माओवादीहरू आफ्नो रणनीतिक कार्ययोजनालाई मूर्तरूप दिन सफल भएका थिए । युद्धविराम घोषणा हुनुअघि (२०५८ साउन) सङ्कटग्रस्त अवस्थामा पुगेको र प्रहरीसँग लुकिछिपी केही हिंसात्मक घटना गराउने स्थितिमा रहेको माओवादी युद्धविरामको चार महिनाभित्रै सैन्य ब्यारेकमा हमल गरेर ‘विजय’ प्राप्त गर्ने हैसियतमा पुग्यो । माओवादी चाल बुझ्न नसकेर या उनीहरूमाथि विश्वास गरेर, कारण जेसुकै भए पनि प्रहरी देख्दा भाग्ने माओवादीलाई सेनाको ब्यारेकमै आक्रमण गर्न सक्ने हैसियतमा पु¥याउन देउवाको भूमिका महत्वपूर्ण रहेको हो, यसलाई माओवादीको उत्थानका निम्ति देउवाको दोस्रो ठूलो सहयोगको रूपमा बुझ्न सकिन्छ ।

शेरबहादुर देउवाले माओवादी उत्थानको निम्ति तेस्रो ठूलो योगदान गत वर्ष पु¥याएका हुन् । २०७० सालको मङ्सिरमा सम्पन्न संविधानसभा (दोस्रो)को निर्वाचन परिणामपछि माओवादी आन्दोलन छिन्नभिन्न र रुग्ण हुन पुगेको थियो । परिवर्तन र सुखद भविष्यको सपना सजाउने माओवादी युवा वैदेशिक रोजगारीका निम्ति लामबद्ध हुन थालेका थिए । पार्टी विभाजनले कमजोर बनाएको माओवादी आन्दोलनलाई उक्त (०७० मङ्सिर) निर्वाचन परिणामले निकै ठूलो झट्का दिएको र २०७३ सम्म आइपुग्दा सङ्गठनको प्रभाव, गतिविधि तथा स्वरूप अत्यन्त निराशाजनक र टिठलाग्दो बनेको थियो । २०७२ मा केपी ओलीले सरकारमा सामेल गरिदिएपछि मरुभूमिमा शीतको थोपा प्राप्त भएझैँ माओवादीले महसुस गरेको हुँदो हो । गत वर्ष अर्थ मन्त्रालयसहित सरकारको नेतृत्व प्रचण्डलाई सुम्पिएपछि माओवादीमा ‘ज्यान’ आएको छ, उनीहरू केही तङ्ग्रिएका छन् र लामो आयु बाँच्ने आशा उनीहरूभित्र जागेको महसुस आमदेशवासीले गरेका छन् । माओवादीलाई यसरी जगाएर देउवाले ठीक या बेठीक जे गरेका भए पनि यस रूपमा उनीहरूलाई पु¥याउन उनले मुख्य योगदानचाहिँ पु¥याएकै हुन् ।

गत वर्ष अर्थ मन्त्रालयसहित सरकारको नेतृत्व प्रचण्डलाई सुम्पिएपछि माओवादीमा ‘ज्यान’ आएको छ, उनीहरू केही तङ्ग्रिएका छन् र लामो आयु बाँच्ने आशा उनीहरूभित्र जागेको महसुस आमदेशवासीले गरेका छन् । माओवादीलाई यसरी जगाएर देउवाले ठीक या बेठीक जे गरेका भए पनि यस रूपमा उनीहरूलाई पु¥याउन उनले मुख्य योगदानचाहिँ पु¥याएकै हुन् ।
०००
सुजाताका पिता गिरिजाप्रसाद कोइरालाले विचार रित्याएको काङ्ग्रेस पार्टीका कार्यकर्ता एवम् समर्थकहरू विचलित हुने गरी माओवादीसँग चुनावी गठनबन्धन गर्नुको बहुआयामिक क्षति काङ्ग्रेसले अबका दिनमा व्यहोर्दै जानुपर्ने अवश्यंभावी छ ।

प्रचण्ड नेतृत्वको माओवादी निराशा र विचलनको उत्कर्षमा पुगेका बेला शेरबहादुर देउवाले माओवादीलाई सरकारको नेतृत्व मात्र दिएनन्, निर्वाचनमा मतदानसमेत गरेर सत्ता–राजनीतिमा उनीहरूको कुनै न कुनै रूपको उपस्थिति कायम राखिदिनेसम्मको योगदान दिए । काङ्ग्रेससँगको गठबन्धन माओवादीका निम्ति कतिसम्म उपयोगी एवम् लाभप्रद हुन सक्ने हो, त्यसको पुष्टि हुँदै गर्ला, तर माओवादीसँगको गठबन्धनले काङ्ग्रेसलाई लाभ पु¥याउने सम्भावनाचाहिँ कुनै पनि कोणबाट देखिएको छैन । सुजाताका पिता गिरिजाप्रसाद कोइरालाले विचार रित्याएको काङ्ग्रेस पार्टीका कार्यकर्ता एवम् समर्थकहरू विचलित हुने गरी माओवादीसँग चुनावी गठनबन्धन गर्नुको बहुआयामिक क्षति काङ्ग्रेसले अबका दिनमा व्यहोर्दै जानुपर्ने अवश्यंभावी छ ।

माओवादीसँग ‘प्रेम र घृणा’को उतारचढावपूर्ण सम्बन्धमा देखापरेका देउवाको सोच उनीहरूसँगको सम्बन्धलाई दीर्घकालिक बनाउने मानसिकताबाट पे्ररित छ । कुनै बेला गिरिजाप्रसादले प्रथम राष्ट्रपति बन्ने प्रलोभनमा परेर माओवादीसँग ‘प्रीति गाँस्नुको परिणाम’ काङ्ग्रेस, प्रजातन्त्र र देशले भोग्नु परिरहेको छ । तीनपटक प्रधानमन्त्रीको जिम्मेवारी पाइसकेका देउवाले चौथोपटक प्रधानमन्त्री बन्नकै लागि मात्र माओवादीसँगको गठबन्धनलाई प्राथमिकता दिने नीति अवलम्बन गरेको निष्कर्षमा अहिले नै पुग्न सकिँदैन । देउवा कुन कारणले यतिबेला माओवादीलाई प्रोत्साहन गर्दै छन् भन्ने प्रश्नको जवाफले नेपालको भावी राजनीतिको रूपरेखा स्पष्ट गर्न खोज्दछ । देउवाका केही निजी विशेषतामध्ये एक ‘जोसँग मिल्नुपर्ने हुन्छ विश्वासका साथ मित्रता कायम राख्ने र धोखा भएको अनुभूति नभएसम्म मित्रवत् सम्बन्ध बनाइराख्ने’ हो । ०५८ मा दोस्रोपटक प्रधानमन्त्री बनेपछि तात्कालिक श्री ५ महाराजाधिराजसँग मित्रवत् एवम् विश्वासपूर्ण सम्बन्ध बनाएर अघि बढ्नुपर्ने अवस्था थियो । देउवाले राजा नचिढिऊन् र कुनै ‘अन्यथा’ नगरून् भनेर हदैसम्म प्रयास पनि गरेका हुन् । राजाका आकाङ्क्षा बुझेर प्रजातन्त्र विस्थापित गराउनेबाहेकका विषयमा तृप्त गराउने प्रयास पनि देउवाबाट भएको हो । मध्यावधि निर्वाचन (२०५९ मङ्सिरमा) गराउने घोषणा भएको, तर चुनावको तयारीचाहिँ हुन नसकेको अवस्थामा देउवाले सर्वदलीय बैठक राखी सहमतिमा निकास खोज्ने प्रयास गरेका थिए । गिरिजाप्रसाद कोइराला देउवालाई प्रधानमन्त्री पदबाट हटाउन जेसुकै गर्न तयार रहेको, एमालेका मुख्य नेता माधवकुमार नेपाललाई पनि देउवा पदमुक्त भएपछि प्रधानमन्त्री बनाइने सपना देखाइएको र गिरिजाप्रसाद पनि माधव नेपाललाई त्यस निम्ति प्रोत्साहित गर्दै थिए ।

कतिपय विदेशी शक्तिसमेत प्रतिकूल रहेको तात्कालिक परिस्थितिमा देउवाले आयोजना गरेको सर्वदलीय बैठक (असोज ११, २०५९) ले तात्कालिक संविधानको धारा १२७ अनुसार बाधा अड्काउ फुकाउनुपर्ने निष्कर्ष निकाल्यो, जुन धारा राजाको विशेषाधिकारअन्तर्गत पर्दथ्यो । दलका नेताहरूको इच्छा र संविधानअनुसार राजाले प्रधानमन्त्री पदबाट ‘अक्षम’ भन्दै देउवालाई बर्खास्त गरिदिए, त्यतिबेला देउवा दल र दरबारको कोपाभाजनमा परेका हुन् । तर, तिनै देउवामाथि प्रजातन्त्र दरबारलाई बुझाएको आरोप लगाएर बदनाम गरियो । त्यसताक दरबारसँग गाँसिएकै स्तरको प्रीति अहिले माओवादीसँग हुनुको उद्देश्य स्पष्ट नभए पनि कालान्तरमा देउवाले प्रतिकूल परिणाम भोग्ने र सहश्र आलोचनाको तीर देउवातिर नै सोझिने सम्भावना देखिएको छ । माओवाद एउटा विचारभन्दा प्रवृत्तिका रूपमा स्थापित छ । यसप्रकारको प्रवृत्तिलाई प्रोत्साहित र स्थापित गर्नुपर्ने हो कि होइन देउवाले गम्भीरतापूर्वक विचार पु¥याउनु उपयुक्त हुनेछ ।

०००