
राष्ट्रिय खेलकुद परिषद्ले प्रशासन विभाग प्रमुखको जिम्मेवारी वासुदेव आचार्यलाई दिएको छ । जेठ १ गतेदेखि लागू हुनेगरी प्रशासन विभाग प्रमुख तोकिएका आचार्यले गत साता त्रिपुरेश्वरस्थित कार्यकक्षमा पदबहाली गरेका थिए । आचार्यलाई राखेपअन्तर्गत विभिन्न विभाग र शाखाका प्रमुख, कर्मचारीलगायतले बधाई दिनुका साथै सफल कार्यकालका लागि शुभकामना दिएका थिए ।
आचार्य ०४७ सालमा लेखापालमा स्थायी रूपमा राखेपमा सेवा प्रवेश गरेका थिए । आर्थिक प्रशासनमा राम्रो दख्खल राख्ने आचार्यसँग सुरुदेखि ०७२ सम्म आर्थिक प्रशासन शाखामा काम गरेको अनुभव छ । त्यसबीचमा करिब साढे ९ वर्ष आचार्यले आर्थिक प्रशासनको प्रमुख भएर काम गरेका थिए ।
विभागीय प्रमुख हुनुअघि आचार्यले बजेट तथा योजना शाखामा प्रमुखको रूपमा एक वर्ष बिताएका थिए । आचार्यअघि प्रशासन विभागकै प्रशासकीय अधिकृत भोजानन्द राईले अर्को व्यवस्था नहुन्जेलसम्मका लागि प्रमुखको रूपमा काम गर्दै आएका थिए । रोल्पाको लिवाङनिवासी ५६ वर्षीय आचार्यले पदबहालीपछि सङ्क्षिप्त प्रतिक्रिया दिँदै भने, ‘प्रशासनलाई अझ प्रभावकारी ढङ्गले अगाडि बढाउने प्रयत्न गर्नेछु ।’
प्रतिक्रिया