दलबहादुरलाई बिर्सियो खेलकुदले

दलबहादुरलाई बिर्सियो खेलकुदले


‘…अब भगवान्कै भरोसा’

Dal Bahadur rana

नेपाली खेलकुदको इतिहासमा दलबहादुर रानाको नाम स्वर्ण अक्षरले लेखिएको छ । उनले बक्सिङ खेलमा पाएको सफलता र गरेको योगदान अतुलनीय नै छ भन्दा फरक पर्दैन । जसको सम्झनाले मात्र पनि खेलप्रेमी नेपालीको छाती गौरवले फुलेर आउँछ । बक्सिङ खेलले आकाश छोएको भान हुन्छ । आज तिनै नेपालआमाका वीर सपुतले मृत्युवरण गरेको दुई दशक पुगेको छ । तर, दुःखको कुरा के छ भने दलबहादुरले मृत्युवरण गरेको जेठ ५ गते दुई दशक लागे पनि सम्बन्धित निकाय कसैले उनलाई सम्झेर श्रद्धासुमन प्रकट गर्न उचित ठानेन । राष्ट्रिय खेलकुद परिषद् होस् या नेपाल बक्सिङ सङ्घ दुवैले दलबहादुरको योगदानको उपहास गर्दै उनको १० वर्षे उत्कृष्ट खेलजीवनमा समेत प्रश्नचिह्न लगाइदिए । साँचो रूपमा भन्नुपर्दा दलबहादुरलाई एकादेशको कथामा परिणत गरिदिए । उनले राष्ट्रका लागि बगाएको रगत र पसिनाको अवमूल्यन गर्दै नेपालमा खेलाडीको कति सम्मान हुन्छ त्यसमा समेत लालमोहर लगाइदिए । यसरी खेल्ने रहर हुँदाहुँदै ०५५ साल जेठ ४ गते ३७ वर्षको अल्पायुमा मृत्युसँग हारेर पनि अमर बनेका उनै नेपालआमाका सपुतसँग मृत्युवरण गर्नुभन्दा एक दिन पहिले पङ्क्तिकारले कुराकानी गर्ने अवसर पाएको थियो । सांसद मोहन राईको पहलमा बक्सर दलबहादुर रानाको जीवनको अन्तिम अवस्थामा लिइएको उक्त अन्तिम तथा दुर्लभ अन्तर्वार्ता यतिबेला सान्दर्भिक एवम् स्वर्गीय रानाप्रति श्रद्धासुमन हुने ठानी प्रस्तुत गरिएको छ ।

० तपाईंको स्वास्थ्यस्थिति बिग्रिँदै गएको सुनिँदै छ, यथार्थ के हो ?
– हो, सत्य हो । दुई महिनाजति भो मलाई अलि गाह्रो भइरहेको छ । स्वाँस्वाँ बढिरहेको छ, बेलाबेलामा स्वास रोकिने भइरहेको छ । दुखाइ टाउको र ब्रेनतिर सरिराखेको अनुभूति हुन्छ । अहिले रेडियोथेरापी गराइराख्या छु ।

० मुखबाट रगत पनि आइरहेको रहेछ नि ?
– तीन–चार दिन भयो, मुखबाट रगत आइरहेको छ, रोकिएको छैन । रगत आउन थालेपछि यसले असर पनि गरेको छ । औषधि त गरिराख्या छु, तर पनि कम भएको छैन ।

० कहाँ–कस्तो उपचार गरे तपाईंलाई निको होला भन्ने लागेको छ त ?
– (फिस्स हाँस्दै) खै के भनौँ ! औषधि गरिराख्या छ, अब भगवान्कै भरोसा छ ।

० रोगलाई जित्छु भन्ने आत्मविश्वास आफूभित्र कत्तिको छ जस्तो लाग्छ ?
– यस्तो भएको तीन–चार वर्ष भइसक्यो, अहिलेसम्म आत्मबलले नै पेलिराख्या छु । हिजो–अस्तिसम्म त अझै दुई–चार वर्ष पेलेरै हिँडछु जस्तो लाग्थ्यो । अहिलेचाहिँ साइकोलोजी नै अर्कै भइसक्यो ।

० आत्मबल कायम राख्न के गर्नुपर्ला ?
– अब के गर्ने ? आत्मबल बढाउन सबैबाट माया चाहियो, हौसला चाहियो ।

० विदेश गएर उपचार गर्ने चाहना छ कि ?
– मेरो मनको एउटा इच्छा त्यो पनि हो, उपचारका लागि बाहिर कहीँ–कतै जाने मौका मिले सुधार हुन्थ्यो कि ?

० खास यही देश जान पाए हुन्थ्यो भन्ने लागेको छ ?
– खै के भन्ने र ! अब रोग नै कस्तो खालको रोग हो थाहा छैन । कसैले ठीक हुन्छ भन्छन्, कसैले यस्तै हो औषधि खाएर बस्ने र कन्ट्रोल गर्ने भन्ने खालका सल्लाह–सुझाव दिन्छन् । अब जे छ, भगवान्कै भरोसा छ ।

० अस्पतालको बेडमा सुतिरहँदा तपाईंलाई केही न केही गर्ने इच्छा पनि होला नि ?

– हाँस्दै, खेल्ने, उफ्रने भएको कारणले खेल्न जाऔँ कि हिँडौँ कि जस्तो लाग्छ । आत्मबल बढेर आउँछ, अझै खेलौँ कि जस्तो जोस आउँछ ।

० तपाईंलाई निको भएपछि के गर्छु भन्ने लागेको छ ?

– फेरि बक्सिङ खेल्छु भन्ने कुरा त नगरौँ, जे भए पनि कसैलाई सहयोग गराँंला । केही त होलाजस्तो लाग्छ । यसरी बिस्तारामा सुतिराख्या छु, तर कहिलेकाहीँ उठेर हिँडु कि दौडन जाउँ कि जस्तो लाग्छ ।

० यो रोगसँग लड्न तपाईंलाई तपार्इंको खेलजीवनले सघाएको जस्तो लाग्छ कि लाग्दैन ?
– लाग्छ, खेलजीवन र सबैको मायाले गर्दा अहिलेसम्म बाँचिरहेको छु । म अहिलेसम्म बाँचेको मायाकै कारणले हो ।

० राष्ट्रका लागि जति गर्नुभो, त्योअनुसार सहयोग पाउनु भो त ?

– सक्दो किसिमको सहयोग त गरेको छ । आवश्यकता भनेको प्रसस्त हुन्छ, एकपछि अर्को आइनै रहन्छ । अहिले सबै साथीभाइ र राष्ट्रको सहयोगले म अहिले यो स्थितिमा छु । यो उहाँहरूकै देन हो ।

० तपाईकंो खास इच्छा के छ नि ?
– मेरो खास इच्छा साईबाबाकहाँ जाउँ भन्ने हो । डाक्टरहरूले पनि तपार्इं एकचोटी बाबाकहाँ जानुहोस् भन्नुभएको छ । त्यहाँ गएपछि राम्रै हुन्छ भन्ने त छैन, तर पनि बाबा भेट्न जाउँजस्तो लाग्या छ ।

० तपाईंमाथि साईबाबाको चमत्कार होला त ?

– मैले बाबाप्रति अति विश्वास राखेको छु । मलाई बाबाले ठीक पारिदिनुहुन्छ भन्ने लागेको छ । बाँकी उहाँकै भरोसा छ । एकचोटि जसरी भए पनि जान पाए हुन्थ्यो ।

० तपाईंले उपचारका लागि आफ्नो घर पनि बेच्नुभो रे, हो ?

– हाँस्दै, घर नै छैन । महाराजगन्जमा ससुरालीमा बस्छु । उपचारका लागि ससुरालीको घरचाहिँ बेचियो ।

० उपचारमा व्यक्तिगत खर्च कति जति गर्नुभो ?
– मेरो आम्दानीको स्रोत भनेको जागिर मात्र हो । सबै सहयोगीहरूले दिएको सहयोगबाटै खर्च भो । आठ–नौ लाख रुपैयाँ त सबै सहयोगीहरूले दिएकोबाटै खर्च भइसक्यो ।

० तपाईं अहिले प्रहरीमा कुन तहमा हुनुहुन्छ ?

– प्रहरी निरीक्षक ।

० प्रहरी अस्पतालले पनि सहयोग गरेको होला नि ?
– विभागबाट पाउने सुविधा मात्रै हो ।

० सीमित सरकारी सुविधा मात्रै हो कि त्योभन्दा माथि ?

– सीमित । यहाँ जो साधारण बिरामीले सुविधा पाउँछन् त्यही सुविधा मात्रै हो । मैले यहाँ बेडको पैसा तिर्नुपर्दैन, विभागले व्यहोर्छ ।

० खेलकुदमा लागेपछि तपाईंको सबैभन्दा खुसीको क्षण कुनचाहिँ रह्यो ?
– खुसीको क्षण भन्नाले अब के भनौँ ? आठ–दश वर्ष खेलियो, खेलमा मेडल जित्दाको क्षण नै खुसीको क्षण हो । साफमा स्वर्ण र एसियन गेममा कांस्य पदक जित्दाखेरि ज्यादै खुसी थिएँ ।

० तत्कालीन सदस्यसचिव शरद्चन्द्र शाहको तपाईं निकै प्यारो खेलाडी हुनुहुन्थ्यो रे, हो ?
– अब प्यारो भन्दाखेरि म राम्रो खेलाडी थिएँ । मेरो मिहिनेत राम्रो थियो । म अनुशासित खेलाडी थिएँ । त्यसैले गर्दा उहाँको म प्यारो खेलाडी थिएँ । उहाँ मलाई निकै प्रोत्साहन र हौसला दिनुहुन्थ्यो ।

० उहाँ तपार्इंलाई घरमा आएर पनि सहयोग गर्नुहुन्थ्यो हो ?
– घरमा त होइन, बाटो वा अन्य ठाउँमा भेट्दा राम्रो व्यवहार गर्नुहुन्थ्यो । उहाँ मेरो प्रशंसा गर्नुहुन्थ्यो । अन्य खेलाडीलाई खेलाडी भनेको दलबहादुरजस्तो हुनुपर्छ भन्नुहुन्थ्यो ।

० तपाईं बक्सिङ खेलमा चाहिँ कसरी लाग्नुभयो ?

– कसरी लागे भनाँ, भन्नै सक्तिनँ । सिपाहीमा भर्ना भएपछि टाकटुक बक्सिङ खेल्न थालेँ, त्यहीँबाट खेल्दाखेल्दै खेलाडी बनेँ ।

० तपाईंले अन्तर्राष्ट्रिय प्रतियोगिता कति खेल्नु भो, याद छ ?
– त्यति याद त छैन मलाई । खेल्नलाई त मैले धेरै खेलेँ । त्यस्तै चालीस–बयालीसजति होला ।

तपाईसँग तपाईंले जितेका सबै पदक छन् ?
– छन् । दुई–चारवटा पदक छैनन् । खै त्यतिखेर पदकको मतलब नै नभएको जस्तो लाग्दो रहेछ । जितेको पदक त हो यसमा के हुन्छ जस्तो लाग्थ्यो । दुई–चार महिनापछि खिया लागेर बसेका हुन्थे ।

० तपाईंले राज्यबाट कुनै मान, सम्मान, पदवी पाउनुभएको छ ?
– दुईचोटि पाएँ । पहिलोपटक ०४० सालमा र दोस्रोपटक ०४३ सालमा । ती गोर्खा दक्षिणबाहु पाँचौँ र चौथो थिए ।

– यो अवस्थामा खेलकुद र सरकारबाट कस्तो सहयोगको अपेक्षा गर्नुभएको छ तपाईंले ?
– खेलाडीलाई बेग्लै किसिमको हौसला हुनुपर्छ । खेलाडीको भविष्यप्रति सरकारले अलि चिन्ता लिनुपर्ने आवश्यकता छ । जिन्दगीभर खेलमा एउटा खेलाडीले समय दिइराख्या हुन्छ । त्यसैले उसको भविष्यबारे सरकारले विशेष ध्यान दिनुपर्छ ।

० यतिबेला तपाईंलाई खेलकुदमा व्यर्थै लागेजस्तो लागेको छैन ?
– छैन, सन्तुष्ट छु । जे होस्, देशको लागि मैले केही गरेको रहेछु । देशले पनि मेरा लागि सक्दो किसिमको सहयोग गरेको महसुस भएको छ । यही हो ।

० यहाँबाट निको भएपछि भोलि के गरौँला जस्तो लाग्छ ?
– खै के गर्न सकिएला र ? केही गर्नका लागि शरीर स्वस्थ त हुनुप¥यो नि ।

० तपाईंको परिवार कहाँ छ ? परिवारको दायित्वप्रति कस्तो महसुस भइरहेको छ ?
– मेरो खासै ठूलो परिवार छैन । घर भनेको गाउँमा छ क्यारे । गाउँमा त्यति आवतजावत पनि छैन । सानै उमेरदेखि काठमाडौं आएको मान्छे । घरको वातावरण पनि त्यति राम्रो छैन । यहीँ जागिर खाइयो, यहीँ बसियो, अहिलेसम्म यहीँ बसेको छु ।

० तैपनि सरकारले केही गरिदेओस् भन्ने छैन ?
– छ नि, मेरो परिवार राम्रोसँग हेरिदेओस् । बच्चाहरू साना छन् । बच्चाहरूलाई केही सानो व्यवस्था गरिदिए हुन्थ्यो । पढाउने, खेलाउने त्यही त हो नि । मेरो इच्छा नै त्यही हो ।

० तपाईं नेपाली खेलाडीलाई के भन्न चाहनुहुन्छ ?
– खेलाडीले राम्रो खेल खेलून्, प्रगति गरून् र देशको इज्जत बढाऊन् । त्यस्तै, देशका लागि केही गरौँ भन्ने उनीहरूको भावना रहोस् भन्छु ।

० अन्त्यमा, तपाईं सबैभन्दा कसलाई माया गर्नुहुन्छ ?

– देशलाई माया गर्छु । यो माटोलाई माया गर्छु । यही माटोले मलाई ठूलो गुन लगाएको छ । म यसको ऋणी बनेको छु । त्यसपछि आफ्नो परिवारलाई माया गर्छु । उनीहरू मेरो सुखदुःखका साथी हुन् ।

– श्रीविक्रम भण्डारी