नयाँ प्रधानमन्त्रीको मुख्य चुनौती ‘प्रचण्ड’

नयाँ प्रधानमन्त्रीको मुख्य चुनौती ‘प्रचण्ड’


Deuwa-Prachanda 1

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाका अघिल्तिर चुनौतीका अनेक रूप देखिएका भए पनि सबैभन्दा खतरनाक चुनौतीचाहिँ प्रचण्डलाई सम्हालेर अघि बढ्नुलाई मानिएको छ । गिरिजाप्रसाद कोइरालाझैँ प्रचण्ड पनि सत्ताकेन्द्रमा आफैँ नभईकन सन्तुष्ट नरहने र कुनै पनि बेला कुनै पनि निहुँमा साथ छोड्न तयार हुने चरित्र प्रचण्डको छ । २०७२ मा केपी ओलीलाई प्रधानमन्त्री बनाउने क्रममा प्रचण्डले संसद्मा बोलेको सुन्दा केपी र प्रचण्ड सधैँका निम्ति ‘एक’ भएको अनुभूति धेरैले गरेका थिए ।

तर, प्रचण्डको त्यस्तो वाचा धेरै लामो समय टिकेन । सात महिना पुग्दा–नपुग्दै प्रचण्ड बदलिएका थिए र ओलीद्वारा उनलाई विश्वासमा लिन गरिएका अनेकौँ प्रयास सफल हुन सकेनन् । माओवादीलाई खुसी राखेर सरकार चलाइरहने विश्वासका साथ ओलीले गृहसहित महत्वपूर्ण मन्त्रालयहरू माओवादीको जिम्मा दिएका थिए । तथापि प्रचण्ड सम्हालिएनन् र ‘दाम्लो चुँडाएर’ अर्को ‘गोठ’मा पुगे । यसपटक आफ्नो खुसीराजीले प्रचण्डद्वारा देउवालाई सत्ता हस्तान्तरण भएको होइन । प्रचण्ड सत्तामा निरन्तर रहन चाहन्थे र त्यस निम्ति आवश्यक परे एमालेको साथ लिएर भए पनि अगाडि जाने मानसिकतामा उनी थिए । तर, छिमेकी मित्रराष्ट्रको चाहना–भावनाविपरीत निर्णय लिने हिम्मत उनले गरेनन् । यदि भारतले यस विषयमा आँखा चिम्लिने स्थिति भइदिएको भए प्रचण्डद्वारा सत्ता हस्तान्तरण हुन निकै कठिन थियो । सत्ताबाट बाहिर रहेको अवस्थामा भने प्रचण्ड कहिलेकाहीँ भारतसँग पनि निहुँ खोजेझैँ गर्छन् ।

सन् २००२ मा भारतीय प्रधानमन्त्री अटलबिहारी वाजपेयीसमक्ष भारतको हितप्रतिकूल हुने प्रकारका कुनै काम कहिल्यै नगर्ने लिखित प्रतिबद्धता जनाएका प्रचण्डले त्यसको केही महिनापछि नै भारतसँग युद्ध गर्ने भन्दै सीमाक्षेत्रमा सुरुङ खन्ने काम गराएका थिए । पहिलोपटक प्रधानमन्त्री बन्दा (२०६५ मा) भारतको जयजयकार गर्ने प्रचण्ड सत्ताबाहिर आउनेबित्तिकै राष्ट्रियताको नाममा भारतविरोधी अभियान चलाउन सक्रिय भएका थिए । त्यसरी भारतविरुद्ध देशव्यापी अभियान चलाउँदाचलाउँदै कतिबेला उनी भारतको विश्वास जित्न सफल भइसकेछन् । बाबुराम भट्टराईलाई प्रधानमन्त्री पदबाट हटाएर तात्कालिक प्रधानन्यायाधीशलाई सरकारको नेतृत्व जिम्मा लगाउने बेलासम्ममा प्रचण्ड भारतको निकै नजिक पुगिसकेका थिए । त्यसपछि २०७२ सालमा संविधान जारी गर्ने क्रममा प्रचण्डले फेरि भारतविरुद्ध बोल्न थालेका थिए । आफ्नो स्वार्थ पूरा गर्न भारत सहयोगी नभएको ठानेपछि भारतविरुद्ध बोल्ने र राष्ट्रियता खतरामा परेको भन्दै अनेकौँ क्रियाकलाप गर्ने प्रचण्डले केपी ओलीलाई प्रधानमन्त्री बनाउँदा पनि भारतविरुद्धको आफ्नो जित ठानेका थिए । राष्ट्रियताको दोहोरी गाएर केपी ओलीसँग हिँड्दाहिँड्दै कतिबेला प्रचण्ड भारतसँग नजिक भइसकेछन् त्यसको सुइँकोसम्म ओलीले पाउन सकेनन् । यस्तै नियति कुनै पनि निहुँमा फेरि नदोहोरिएला भन्न सकिने स्थिति छैन ।

त्यसैले प्रचण्डलाई सम्हालेर राख्न सक्नु देउवाका निम्ति सबैभन्दा ठूलो चुनौती हो । काङ्ग्रेससँगको ‘पार्टनरसिप’बाट लिन सक्नेजति लाभ उठाइसकेपछि प्रचण्डले आफ्नो बाटो तताउनेमा शङ्का गर्नुपर्दैन । त्यस्तो परिस्थितिको सामना देउवाले कसरी गर्न सक्नुहोला, जिज्ञाशा र प्रतीक्षाको विषय बनेको छ ।