खेलकुद अस्पताल र विश्वविद्यालय निर्माण गरिने

खेलकुद अस्पताल र विश्वविद्यालय निर्माण गरिने


Rakhepa

राष्ट्रिय खेलकुद परिषद्को १०८औँ बोर्ड बैठकले खेलकुद अस्पताल र खेलकुद विश्वविद्यालय निर्माण गर्ने निर्णय गरेको छ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा राखेपका अध्यक्ष युवा तथा खेलकुदमन्त्री दलजित श्रीपालीको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । बैठकले आठौँ राष्ट्रिय खेलकुद हालकै संरचना कायम रहेको अवस्थामा मध्यपश्चिमाञ्चलमा गर्ने निर्णयलाई अनुमोदन गरेको छ । गत पुस १५ गते पूर्वाञ्चलको धरानमा भएको सातौँ राष्ट्रिय खेलकुदको समापनका अवसरमा ०७५ सालमा गर्ने गरी आठाँै राष्ट्रिय खेलकुदको झन्डा मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिलाई हस्तान्तरण गरिएको थियो । त्यतिबेला मन्त्रीस्तरीय निर्णय भएकोमा बैठकले उक्त निर्णयलाई अनुमोदन गरेको हो । यदि नयाँ संरचना कार्यान्वयन भएमा सोही वर्षको मङ्सिरमा आठौँ राष्ट्रिय खेलकुद प्रदेश नं. ५ को बाँके र दाङमा गर्ने निर्णय गरेको छ ।

खेलाडी विशेष सुविधा कार्यविधि– २०७३ का सम्बन्धमा सम्बद्ध पक्षसँग सहमति लिई कार्यान्वयन गर्न प्रक्रिया अगाडि बढाउने तथा राखेपको केन्द्र, प्रदेश र स्थानीय तहको सङ्गठन संरचना तथा व्यवस्थापन तालिका– २०७४ लाई पुनरावलोकन गरी मन्त्रालयमा पठाउने निर्णय भएको छ । बैठकले राखेपका नवनियुक्त सदस्यद्वय अर्जुनबहादुर केसी र सुदिल शाहीलाई स्वागत र बधाई ज्ञापन गर्दै निवर्तमान सदस्यद्वय शिवबहादुर बस्नेत र नारायणप्रसाद पौडेललाई आफ्नो कार्यकालमा पु¥याएको योगदानप्रति धन्यवाद प्रस्ताव पारित गरेको थियो ।

त्यस्तै, सातौँ राष्ट्रिय खेलकुद आयोजनाको प्रगति समीक्षा सम्बन्धको आर्थिक पक्षमा १५ दिनभित्र पेस्की फस्र्र्योट गराई यथार्थ खर्चको विवरण पेस गरी नपुग रकम माग गर्ने निर्णय गरिएको छ । लामो समयदेखि रोकिएको कर्मचारीको पदपूर्ति र बढुवा प्रक्रियालाई कार्यान्वयन गर्न जोडदार पहल गर्ने निर्णय गरेको छ । बैठकमा सातौँ राष्ट्रिय खेलकुदलाई सफलतापूर्वक सम्पन्न गर्न गठित विभिन्न उपसमितिका कार्यप्रगतिका सम्बन्धमा समीक्षाका साथै खेलकुदको विकास र विस्तारका विविध पक्षमा व्यापक छलफल भएको थियो ।