निर्णायक सङ्घर्ष गर्दै राजपा

निर्णायक सङ्घर्ष गर्दै राजपा


आन्दोलनरत राष्ट्रिय जनता पार्टी नेपालले अन्ततः मंगलबारदेखि आमहडताल घोषणा गरेपछि प्रदेश नं. २ को स्थानीय चुनाव अनिश्चित हुन पुगेको छ । सरकार र राजपा नेपालबीच भएको पटकपटकका वार्ताले निष्कर्ष ननिकालेपछि प्रदेश नं. २ लगायत तराईका अधिकांश जिल्लामा चुनाव प्रचार र झडपका घटना एकसाथ हुन थालेका छन् ।

आमहडतालका कारण पूर्वपश्चिम राजमार्ग र भारतीय सिमानातर्फको नेपालका बजार प्रभावित बन्न पुगेका छन् । यो अनिश्चयको वातावरण कहिलेसम्म रहने हो– सरकार तथा आन्दोलनरत दुवै पक्षले प्रदेश नं. २ का जनतासमक्ष कुनै भरपर्दो जवाफ दिएका छैनन् । राजपा नेपालले अहिलेसम्म चुनाव चिह्न पाएको छैन । पहिलो चरणको चुनावअघिसम्मको मधेस आन्दोलनको सहयात्री दल सङ्घीय समाजवादी फोरम चुनावमा होमिएको छ । यसैलाई तारो बनाएर राजपा कार्यकर्ताले फोरम अध्यक्ष उपेन्द्र यादवलाई गद्दार घोषित गरी फोरमका कार्यक्रम बिथोल्न थालेका छन् । मंगलबार नै पर्साको भौराटार बजारमा फोरमले आयोजना गरेको कार्यक्रम राजपा नेपालका कार्यकर्ताले बिथोले । मंगलबार गर्ने कार्यक्रमलाई फोरमले ठूलो तयारीका साथ थालेको थियो । तर, अघिल्लै दिनमा राजपा कार्यकर्ता पुगेर कार्यक्रमस्थलको मञ्च भत्काएका थिए । यो कार्यक्रममा फोरम अध्यक्ष उपेन्द्र यादव सहभागी हुने भनिएको थियो । राजपा नेपालका कार्यकर्ताले फोरमलाई गद्दार र एमालेलाई मधेसविरोधी दल घोषणा गरेर उनीहरूका कार्यक्रम बिथोल्ने, उम्मेदवार र कार्यकर्तालाई धम्क्याउनेलगायतका चुनावविरोधी कार्यक्रम गरेका छन् ।

बारा, पर्सा, रौटहट, सर्लाही, सप्तरी र सिराहामा ५ दिनदेखि फोरम, एमाले र काङ्ग्रेसका विभिन्न कार्यक्रम राजपाका कार्यकर्ताले बिथोलेका छन् । शनिबार बाराको पर्सौनी बजारमा फोरमको कार्यक्रमलाई राजपाका कार्यकर्ताले तोडफोड गरी बिथोलिदिए । सोही दिन सप्तरीमा काङ्ग्रेसको र गौरमा एमालेको कार्यक्रम गर्न राजपाले दिएन । आइतबार राजविराज पुगेका प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले राजपा नेपालका कार्यकर्ताको विरोधको सामना गर्नुप¥यो । यादव राजविराजका बासिन्दा हुन् । राजपाका कार्यकर्ताले उनलाई कालोझन्डा देखाउनुको साथै निर्वाचन आयोगविरुद्ध नाराबाजी गरेका थिए । सोमबार नै बाराको कलैयामा निर्वाचन आयोगको प्रशिक्षण कार्यक्रमलाई राजपाका कार्यकर्ताले अवरोध पैदा गरे । मतदान अधिकृतको तालिम कार्यक्रममा भित्र पसेर राजपाका कार्यकर्ताले अधिकृतहरूलाई दुव्र्यवहार गरेका थिए । उनीहरूलाई नियन्त्रण लिन खोज्दा प्रहरीले लाठीचार्ज गर्नुपरेको थियो । उता नेपालगञ्ज उपमहानगरपालिमा काङ्ग्रेसका मेयर उम्मेदवार डा. सुरेशकुमार कनौडियाको गाडीमा राजपा नेपालका कार्यकर्ताले तोडफोड गरेका छन् । राजपाका जिल्ला नेता ललितकुमार रौनियारको समूहले कनौडियाको गाडी तोडफोड गरेको प्रहरीले जनाएको छ ।

राजपा नेपालले प्रदेश नं. २ र ५ मा कुनै पनि हालतमा चुनाव हुन नदिन विभिन्न कार्यक्रम सार्वजनिक गरेपछि यहाँको चुनावी वातावरण त्रसित बन्दै गएको छ । राजपाको केन्द्रीय बैठकले यी दुवै प्रदेशमा आमहडतालदेखि मतदातालाई भोट दिन जानै नदिनेसम्मका कार्यक्रम गर्ने भएका छन् । राजपाको बैठकले सबै शीर्ष नेता मधेसमै बसेर कार्यकर्तालाई चुनाव बिथोल्न खटाउने निर्णय गरेबमोजिम नेताहरूका आ–आफ्ना गृहजिल्लामा पुगिसकेका छन् । राजपा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरसहित पाँचजना मण्डल सदस्यहरू राजकिशोर यादव, अनिल झा, राजेन्द्र महतो, शरत्सिंह भण्डारी र महेन्द्र राय यादवहरू आन्दोलन चर्काउन आ–आफ्नो जिल्लामा पुगेका छन् । उनीहरूले चुनाव हुन नदिन बजारदेखि गाउँसम्म सबै परिचलित हुन कार्यकर्तालाई निर्देशन र आह्वान गरेका छन् । सर्लाही गृहजिल्ला भएका राजेन्द्र महतो सप्तरीका विभिन्न कार्यक्रममा यो साताभरि सहभागी भए । उनले अब आफ्नै जिल्ला सर्लाहीमा चुनाव बिथोल्ने अभियान चलाउने राजपाले जनाएको छ । अनिल झाले रौतहटमा, राजकिशोर यादवले सिराहा, शरत्सिंह भण्डारीले महोत्तरी र महन्थ ठाकुर जनकपुरमा खटिनेछन् । एकातिर चुनाव गर्नेहरू र अर्कोतिर चुनाव बिथोल्नेहरूको टकाराव र झडपले असारको मध्यसम्म तराई निकै अशान्त हुने देखिएको छ । असारको १४ गते हुने दोस्रो चरणको स्थानीय निर्वाचन सरकारका लागि निकै चुनौतीपूर्ण हुने सङ्केत देखापरेको छ । सरकारले शान्तिसुरक्षालाई ध्यानमा राखेर प्रदेश नं. २ र ५ मा ठूलो सुरक्षाफौज परिचालन गरेको छ ।

मंगलबारबाट राजपा नेपालले तराई क्षेत्रमा गरेका आमहडतालका कारण जनजीवन प्रभावित बनेपछि चुनावका विभिन्न कार्यक्रम अवरुद्ध बनेका छन् । आमहडतालले निर्वाचनको मात्र होइन शिक्षा, स्वास्थ्य, उद्योग, व्यापारलगायतका क्षेत्रमा समेत असर पु¥याएको स्थानीयले गुनासो गरेका छन् । मंगलबारदेखि नै पूर्वपश्चिम राजमार्गमा सवारी चल्न सकेका छैनन् । राजपा नेपालले १४ गतेको चुनाव बिथोल्ने गरी असार १५ सम्म तराई क्षेत्रमा आमहडताल घोषणा गरिसकेको छ । यता सरकार र निर्वाचन आयोगले भने १४ गतेको चुनाव कुनै हालतमा नसर्ने दाबी गरिरहेका छन् । राजपा नेपाल १४ गतेको चुनाव सारेर राजपालाई निर्वाचन चिह्न दिनुपर्ने, मधेस आन्दोलनमा मृत्यु भएकालाई सहिद घोषणा गर्नुपर्ने, आन्दोलनका पीडितलाई क्षतिपूर्ति दिनुपर्ने, प्रदेश नं. २ र ५ मा स्थानीय तह सङ्ख्या जनसङ्ख्याका आधारमा बढाउनुपर्नेलगायतका माग राखेर निर्वाचनमा सहभागी नहुने गरी चुनाव बिथोल्न आन्दोलनमा होमिएको हो । राजपा नेपालको अवरोधले ठूला दलहरूका निर्वाचन प्रचार कार्यक्रम प्रभावित हुन पुगेका छन् ।

उपेन्द्र यादवको फोरम राजपाका कार्यकर्ताका निशानामा पर्न थालेका छन् । यादवलाई तराईमा कहीँ पनि कार्यक्रम गर्न नदिन राजपा नेपालका जिल्ला समितिहरूले निर्णय नै गरेका छन् । यसले प्रदेश नं. २ को स्थानीय चुनाव गर्न ठूलो व्यवधान पैदा हुने स्पष्ट देखिएको छ । तराईको जनजीवनको अवरोधले भारतसँगको आयात–निर्यात प्रभावित हुने भएकोले केही दिनमै राजधानीमा महँगी बढ्ने आशङ्का जन्मिएको व्यवसायीहरू बताउँछन् । अहिले भैरहवा, सुनौली, वीरगञ्ज, विराटनगरलगायतका नाकाहरूबाट देशमा आवश्यक सामान आयात–निर्यात हुँदै आएको छ । प्रदेश नं. २ का केही स्थानमा निर्वाचन बिथोल्नेलाई लखेट्न भन्दै काङ्ग्रेस, एमाले, माओवादी केन्द्र, फोरमलगायतले कार्यकर्ता उतार्न थालेपछि झडप हुने अवस्था देखिएको छ । चुनावविरोधी राजपा नेपालका कार्यकर्तालाई रौटहटलगायतका जिल्लामा चुनाव पक्षधर पार्टीका कार्यकर्ताले सोमबार र मंगलबार लखेटेका थिए । चुनाव गर्ने र नगर्नेबीचको टकरावका कारण तराईका स्थानीय सर्वसाधारणहरू असार महिनाभरि मर्कामा पर्ने अवस्था देखिएको छ ।