अन्तर्राष्ट्रिय सहयोगको दुरुपयोग

■ श्रीविक्रम भण्डारी
नेपाली खेलकुदको समग्र विकासका लागि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र ओलम्पिक कमिटी अफ एसियाले पठाएको रकमको दुरुपयोग भएको जानकारीमा आएको छ । प्राप्त जानकारीअनुसार सन् २०१६ फेब्रुअरी ५ देखि डिसेम्बर २० सम्म आईओसी र ओसीएले नेपाल ओलम्पिक कमिटीलाई ४ लाख ४ हजार २ सय ११ अमेरिकी डलर अर्थात् लगभग साढे चार करोड रुपैयाँ विभिन्न शीर्षकमा पठाएको थियो । तर, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले उक्त रकम के कार्यका लागि खर्च गरे ? त्यसको कुनै लेखाजोखा देखिएको छैन । श्रेष्ठले नेपाल ओलम्पिक कमिटीलाई सहयोगस्वरूप आएको उक्त रकम नेसनल ओलम्पिक कमिटी खातामा जम्मा गराई त्यहाँबाट पनि व्यक्तिगत खातामा राखी आईओसी र ओसीएबाट आएको रकमको दुरुपयोग गरेको खुलासा भएको छ । आईओसी र ओसीएको रकम दुरुपयोग गर्नकै लागि अध्यक्ष जीवनराम श्रेष्ठ, महासचिव लामा टेन्डी शेर्पा र कोषाध्यक्ष रतन टण्डनको नाममा अवैधानिक एनओसीले इन्भेष्टमेन्ट बैंक लगनखेलमा संयुक्त खाता खोलेका छन् । त्यस्तै अवैधानिक एनओसीको माछापुुच्छ«े बैंकमा पनि खाता खोलेको जानकारीमा आएको छ ।
प्राप्त जानकारीअनुसार अवैधानिक ओलम्पिक कमिटीले इन्भेष्टमेन्ट बैंक लगनखेलमा चल्ती, बचत र डलर गरी तीनवटा खाता खोलेको स्रोतले जानकारी गराएको छ । एउटै बैंकमा तीनवटा खाता किन खोलिए ? त्यो आफँैमा प्रश्नवाचक बनेको छ । आईओसी र ओसीएबाट डलरमा रकम आउने भएकोले श्रेष्ठ एन्ड कम्पनीले डलर खाता खोलेको स्रोतको दाबी छ । त्यस्तै चल्ती खाता डलरबाट रुपैयाँमा रूपान्तरण गर्न र संयुक्त बचत खाता व्यक्तिगत रूपमा उपभोग गर्न खोलिएको प्रस्ट रूपमा थाहा पाउन सकिन्छ । यसरी आईओसी र ओसीएलगायत अन्य वैदेशिक निकायबाट डलरमा आउने सहयोगलाई डलर खातामा राखी त्यसपछि चल्ती खातामा उक्त रकमलाई रूपान्तरण गर्दै जम्मा गर्ने र त्यहाँबाट संयुक्त रूपमा खोलिएको बचत खातामा उक्त रकम जम्मा गर्दै आएको स्रोतले दाबी छ । स्मरण छ, श्रेष्ठ, लामा र टन्डनको नाममा संयुक्त बचत खाता खोलिए पनि तीनमध्ये दुईजनाको हस्ताक्षरबाट रकम झिक्न पाउने व्यवस्था गरिएकाले उक्त संयुक्त बचत खाताबाट श्रेष्ठ र लामाले हस्ताक्षर गर्दै रकम निकाल्दै आएको बुझिनमा आएको छ । यसबारे कोषाध्यक्ष टन्डनलाई कुनै जानकारी नभएको पनि स्रोतले बताएको छ । यसरी नेपाली खेलकुद र खेलाडीको विकास र वृद्धिका लागि आएको वैदेशिक सहयोगलाई श्रेष्ठ र लामाले हिनामिना गर्दै व्यक्तिगत फाइदा उठाउँदै आएको प्रस्ट रूपमा देख्न सकिन्छ । अन्यथा नेपाल ओलम्पिकको नाममा तीनवटा खाता कदापि खोलिने थिएनन् । उनीहरूले के उद्देश्य र स्वार्थ पूरा गर्न उक्त तीनवटा खाता खोलेका हुन् त्यो जोकोहीले सोझै अनुमान लगाउन सक्छ ।
श्रेष्ठ एन्ड कम्पनीले लगनखेलस्थित इन्भेष्टमेन्टमा संयुक्त रूपमा खोलिएको ०४००५०२०२६२५६९ नम्बरको बचत खातामार्फत रकम निकाल्दै आएका छन् । जुन आफँैमा गैरकानुनी छ । यसर्थमा कि संस्थाको खाता संस्थाको नामबाट चल्नुपर्छ । त्यसको व्यक्तिगत खाता खोल्न मिल्दैन । व्यक्तिगत रूपमा संस्था चल्ने भए संस्था खोल्नुको औचित्य के हो ? त्यसको जवाफ श्रेष्ठले कसरी दिन्छन्– त्यो अहिले चर्चाको विषय बनेको छ । र पनि, श्रेष्ठले नेपाल ओलम्पिक कमिटीको खाता व्यक्तिगत रूपमा खोलेर संस्थाको नाममा आएको रकमको दुरुपयोग गर्दा पनि उनलाई नेपालको कुनै कानुनले छुन सकेको छैन । सम्बन्धित निकाय युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् र नेपाल सरकारले यो विषयमा कुनै चासो राखेका छैनन् । परिणाम, सर्वोच्च अदालतले अवैधानिक भनेर फैसला गरेको श्रेष्ठको अवैधानिक ओलम्पिक कमिटीले राष्ट्रको खेलकुदको विकास र विस्तारका लागि आएको वैदेशिक सहयोगको रकममा ढलीमली गर्न सफल भएको छ । स्वदेशमा अवैधानिक घोषित भए पनि अन्तर्राष्ट्रिय मान्यताको आडमा नेपाली खेलकुदलाई तरङ्गित गर्दै आएका श्रेष्ठले खेलकुदको विकासका लागि आएको विदेशी सहयोगको दुरुपयोग गरेर आफू अवैधानिक भएको प्रस्ट पारेका छन् । यो विषय अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र विशेष अदालतजस्ता निकायहरू के हेरेर बसेका छन् ? ती निकायको जिम्मेवारी के हो ? त्यो खेलकुदका लागि दुर्भाग्य भएको छ ।
आईओसी र ओसीएले सन् २०१६ मा एनओसीलाई पठाएको रकम
– आईओसी, ५ फेब्रुअरी, २०१६ मा ३५ हजार ९ सय ८० अमेरिकी डलर
– आईओसी, १४ मार्च, २०१६ मा १८ हजार १ सय ३३ अमेरिकी डलर
– आईओसी, २० मार्च, २०१६ मा १६ हजार ५९ अमेरिकी डलर
– आईओसी, १ अप्रिल, २०१६ मा ४१ हजार ९ सय ९८ अमेरिकी डलर
– ओसीए, १८ मे, २०१६ मा ८४ हजार ९ सय ८० अमेरिकी डलर
– आईओसी, २७ मे, २०१६ मा ६ हजार २२ अमेरिकी डलर
– आईओसी, १२ जुन २०१६ १२ हजार २ सय ६३ अमेरिकी डलर
– आईओसी, १० जुन २०१६ मा ६ हजार ९ सय ६९ अमेरिकी डलर
– आईओसी, २५ जुलाई २०१६ मा ५० हजार ६ सय ७९ अमेरिकी डलर
– आईओसी, अगस्त, २०१६ मा २ हजार ७ सय ६८ अमेरिकी डलर
– आईओसी, सेप्टेम्बर २०१६ मा ५ हजार ९ सय ७९ अमेरिकी डलर
– ओसीए, १४ अक्टुबर २०१६ मा ५ हजार अमेरिकी डलर
– आईओसी १६ अक्टुबर २०१६ मा १९ हजार ९ सय ४९ अमेरिकी डलर
– आईओसी, २५ अक्टुबर २०१६ मा ६ हजार ६ सय ७४ अमेरिकी डलर
– आईओसी ४ डिसेम्बर २०१६ मा ४३ हजार ८ सय ५३ अमेरिकी डलर
– आईओसी १४ डिसेम्बर २०१६ मा १७ हजार ४ सय ७५ अमेरिकी डलर
– आईओसी १४ डिसेम्बर २०१६ मा २३ हजार ४ सय ५५ अमेरिकी डलर
– आईओसी २० डिसेम्वर २०१६ मा ५ हजार ९ सय ७५ अमेरिकी डलर
– जम्मा ४ लाख ४ हजार २ सय ११ अमेरिकी डलर
नेपाल ओलम्पिक कमिटीको नाममा सन् २०१६ मा आईओसी र ओसीएबाट डलरमा आएको सहयोगको विवरण यहाँ प्रस्तुत गरिएको छ । आईओसीले पहिलोपटक सन् २०१६ फेब्रुअरी ५ तारिखमा नेपाल ओलम्पिक कमिटीको नाममा ३५ हजार ९ सय ८० अमेरिकी डलर पठाएको थियो । त्यस्तै, आईओसीले मार्च १४ मा दोस्रो किस्ता १८ हजार १ सय ३३ अमेरिकी डलर एनओसीलाई पठाएको थियो । यसैगरी मार्चको २० तारिखमा पुनः १६ हजार ५९ अमेरिकी डलर आईओसीले एनओसीलाई पठाएको देखिन्छ । त्यस्तै, पुनः आईओसीले अप्रिल १ तारिखमा एनओसीलाई ४१ हजार ९ सय ९८ अमेरिकी डलर पठाएको थियो । यसैगरी मे १८ मा ओसीएले ८४ हजार ९ सय ८० अमेरिकी डलर एनओसीलाई पठाएको देखिन्छ । सोही मे २७ मा पुनः आईओसीले ६ हजार २२ अमेरिकी पठाएको स्टेटमेन्टमा देखिएको छ ।
त्यस्तै, १२ जुनमा आईओसीले पुनः १२ हजार २ सय ६६ डलर पठाएको पठाएको देखिन्छ । प्रत्येक महिना एनओसीलाई आर्थिक सहयोग गर्दै आएको आईओसीले पुनः जुन महिनामै थप रकम पठाएको स्टेटमेन्टमा देखिएको छ । दोस्रोपटकमा आईओसीले ६ हजार ९ सय ६९ डलर पठाएको छ । यसैगरी प्रत्येक महिना रकम पठाउँदै आएको आईओसीले २५ जुलाईमा पुनः ५० हजार ६ सय ७९ डलर पठाएको देखिन्छ । त्यस्तै, अगस्टमा पनि २ हजार ७ सय ६८ डलर, सेप्टेम्बरमा ५ हजार ९ सय ७९ डलर पठाएको छ । यसैगरी १४ अक्टुबरमा ओसीएले ५ हजार अमेरिकी डलर र १६ अक्टुवर आईओसीले १९ हजार ९ सय ४९ र २५ अक्टुबरमा ६ हजार ६ सय ७४ डलर पठाएको देखिन्छ । त्यस्तै डिसेम्बरमा पनि आईओसीले एनओसीलाई चारपटक रकम पठाएको स्टेटमेन्टमा देखिएको छ । जसअनुसार ४ डिसेम्बर ४३ हजार ८ सय ५३ डलर, १४ डिसेम्बरमा १७ हजार ४ सय ७५ डलर, १४ डिसेम्बर २३ हजार ४ सय ५५ डलर र २० डिसेम्बरमा ५ हजार ९ सय ७५ डलर पठाएको देखिन्छ । यसरी सन् २०१६ मा आईओसी र ओसीएले नेपाल ओलम्पिक कमिटीको नाममा कुल ४ लाख ४ हजार २ सय ११ अमेरिकी डलर पठाएको स्टेटमेन्टमा देखिन्छ ।
स्मरण रहोस्, नेपालमा खेलकुदको विकास र विस्तारका लागि आईओसी र ओसीएले उक्त रकम नेपाल ओलम्पिक कमिटीलाई सहयोगस्वरूप पठाएका हुन् । तर, एनओसीको नाममा आएको रकम जीवनराम श्रेष्ठ एन्ड कम्पनीले अन्तर्राष्ट्रिय मान्यताको आधारमा डलर, चल्ती र संयुक्त खाता खोलेर हिनामिना गर्दै आएका छन् । साँचो कुरा के हो भने जीवनराम श्रेष्ठ अध्यक्ष रहेको संस्था नेपाल ओलम्पिक कमिटी होइन । त्यो डोटी जिल्लामा दर्ता भएको नेसनल ओलम्पिक कमिटी हो । सो कुराको प्रमाणको रूपमा सातदोबाटोस्थित ओलम्पिक भवनमा राखिएको साइनबोर्डलाई हेर्दा पनि प्रस्ट रूपमा थाहा पाउन सकिन्छ । त्यहाँ प्रस्ट रूपमा नेसनल ओलम्पिक कमिटी भनेर लेखिएको छ । यहाँ बुझ्नु र जान्नुपर्ने के हो भने आईओसी र ओसीएले नेसनल ओलम्पिकलाई आर्थिक सहयोग गरेको होइन । उक्त संस्थाहरूले नेपाल ओलम्पिक कमिटीलाई सहयोग गरेका हुन । आईओसी र ओसीएको चार्टरबमोजिम कुनै पनि राष्ट्रमा एउटा मात्रै ओलम्पिक कमिटी हुन्छ । त्यसअनुसार अर्थात् आईओसीले मान्यता प्रदान गरेको ओलम्पिक कमिटी भनेको नेपाल ओलम्पिक कमिटी मात्रै हो ।
प्रतिक्रिया