■ बबिता बस्नेत (दोहा, कतार)
साउदी अरबलगायत केही मुलुकले अचानक कूटनीतिक सम्बन्ध विच्छेद गरेपछि कतारको आर्थिक गतिविधिमा गम्भीर असर परेको छ । दिन र रात थाहा नहुने गरी यात्रुहरूले खचाखच हुने दोहास्थित हमाद इन्टरनेसनल एयरपोर्ट अहिले करिबकरिब सुनसान छ । एयरपोर्ट पार्किङमा कतार एयरवेजबाहेक अन्य जहाज देखिँदैनन् । विभिन्न मुलुकका जहाजले भरिभराउ हुने एयरपोर्ट खाली–खालीजस्तै छ । ब्रिटिस एयरवेज, जापानलगायतका केही अन्तर्राष्ट्रिय उडानहरू मात्रै अहिले दोहाबाट हुने गरेका छन् । यसअघि इत्तेहाद, गल्फ, ओमान, फ्लाई दुबईलगायतका दर्जनौँ उडान दोहा हुँदै विभिन्न मुलुक जाने गर्थे । ती सबै उडान ठप्प हुँदा एयरपोर्टभित्रको चहलपहल र आर्थिक कारोबार न्यून भएको छ । यात्रा गर्ने मानिस कम भएपछि यो एयरपोर्टका रेस्टुरेन्ट र ड्युटी फ्री पसलहरू सुनसान छन् । केही दिनदेखि ड्युटी फ्री पसलमा कारोबार अत्यन्तै कम भएको पसलमा काम गर्ने नेपाली युवाले बताए । सधैँ यात्रुको चाप धान्दै आएका चेकजाँचका कर्मचारी अहिले घरि–घरि आउने जहाजका यात्रुको सेवामा सीमित छन् । कतारमा करिब चार लाख नेपाली कार्यरत छन्, विभिन्न कम्पनीहरूसँगै एयरपोर्टमा काम गर्ने नेपालीको सङ्ख्या ठूलो छ ।
कतार एयरवेजले अहिलेको नाकाबन्दीविरुद्ध आवाज उठाइदिनका लागि संयुक्त राष्ट्रसङ्घसँग आग्रह गरेको छ । कतारको एयर ट्राफिकमाथि गरिएको नाकाबन्दीले मानिसको आवतजावतको अधिकार हनन गरेको भन्दै कतार एयरवेजका कार्यकारी प्रमुख अकबर अल वाकरले १८ वटा हवाई गन्तव्य विच्छेद भएको उल्लेख गरेका छन् । १८ वटा हवाई गन्तव्य एकैपटक बन्द हुँदा कतारमाथि आर्थिक दबाब मात्र पर्ने नभई त्यसको सीधा असर नेपाली कामदारमाथि पनि पर्न सक्ने देखिन्छ । एयरपोर्टभित्र सुरक्षा जाँच, ड्युटी फ्री, रेस्टुरेन्ट, सरसफाइलगायतका काममा ठूलो सङ्ख्यामा नेपाली काम गर्छन् । यस्तै एयरपोर्टबाहिर सामान लोड गर्नेदेखि लिएर ग्राउन्डसँग सम्बन्धित सबै काममा नेपाली छन् । विगत एक सातादेखि एयरपोर्ट यसरी सुनसान भएको एयरपोर्टमा खटिएका नेपालीले बताए । आफूहरू पहिलाजस्तो व्यस्त हुनु नपरे पनि एयरपोर्टमा कामदारको सङ्ख्या भने अहिलेसम्म नघटाइएको उनीहरूले बताए ।
विभिन्न देशका एयरलाइन्सले कतार एयरपोर्ट हुँदै आफ्ना उडान भर्न बन्द गरेपछि त्यसको असर एयरपोर्टभित्र मात्र होइन, होटेलहरूमा पनि त्यत्तिकै परेको छ । अलि लामो समय ट्रान्जिटमा बस्नुपर्ने यात्रुहरू होटेलमा बस्ने गरेका थिए । एयरलाइन्सहरूले नै यस्तो व्यवस्था गर्ने गर्थे, तर अहिले दर्जनौँ उडान बन्द भएपछि होटेलहरू पनि खाली–खाली भएका छन् । कतारका प्रायः सबै होटेलमा नेपालीहरू काम गर्ने गर्छन् । होटेल नचलेपछि त्यसको असर पनि नेपाली कामदारमा पर्ने देखिन्छ । कतार सरकारले आफूहरू आर्थिक रूपमा बजबुद भएकोले यो नाकाबन्दीले असर नपर्ने बताए पनि आर्थिक क्षेत्रमा ठूलो असर परेको एयरपोर्टमा पुग्दा नै प्रत्यक्ष महसुस गर्न सकिन्छ । खाली–खाली ड्युटी फ्री र सुनसान रेस्टुरेन्ट देखेर आफूहरू खिन्न भएको कामदारले बताए । विभिन्न देशबाट उडान भर्दै आएको कतार एयरवेजमा सिटहरू पनि खाली–खाली हुन थालेका रहेछन् । यो पङ्क्तिकार लन्डनबाट दोहासम्म आउँदा करिब आधा सिट खाली थिए । अन्य देशका कनेक्टिङ फ्लाइटहरू नभेटिने या कम भेटिने कारणले मानिसले दोहालाई ट्रान्जिट रोज्न छाडेका हुन् । कतार एयरवेजले आफूहरूलाई अपराधीलाई जस्तो व्यवहार नगर्न र अहिले बिग्रिएको परिस्थितिलाई सुधार्नका निम्ति सहयोग गरिदिन विश्व समुदायसँग आग्रह गरेको छ । कतार एयरवेज कतारको सरकारी एयरलाइन्स हो । यो अवस्था लम्बिँदै गएमा कतारमा कार्यरत नेपालीको भविष्य के हुने हो यसै भन्न सकिने अवस्था छैन ।
प्रतिक्रिया