महेश अर्थमन्त्री बन्न नपाएपछि कार्कीको बदनाम

महेश अर्थमन्त्री बन्न नपाएपछि कार्कीको बदनाम


प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा अर्थमन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्कीको नियुक्तिपछि काङ्गे्रसभित्र र सामाजिक सञ्जालमा अनेकौँ नकारात्मक टिप्पणी भएका छन् । काङ्गे्रसका एकथरीले महेश आचार्यजस्ता अर्थशास्त्रीलाई अर्थ मन्त्रालयको जिम्मेवारी नदिएको भन्दै देउवाप्रति आक्रोश र असन्तुष्टि प्रकट गरिरहेका छन् भने देउवासँगै जोडेर कार्कीको छवि धमिल्याउने प्रयास पनि भइरहेको छ । अर्काथरीले भने अर्थमन्त्री बन्दैमा कोही अर्थशास्त्री हुन नसक्ने भन्दै यदि अर्थमन्त्री बनेकै कारण कुनै व्यक्ति अर्थशास्त्री बन्ने भए वर्षमान पुन, विष्णु पौडेल, कृष्णबहादुर महरा र सुरेन्द्र पाण्डेलाई सबैभन्दा ठूला अर्थविद् मान्नुपर्ने हुन्छ भन्ने तर्क दिइरहेका छन् ।

विष्णु पौडेलले अर्थमन्त्रीका रूपमा गत वर्ष प्रस्तुत गरेको बजेट कार्यान्वयन हुँदा देशको आर्थिक विकासदर सात प्रतिशतभन्दा माथि पुगेको छ, के यही आधारमा विष्णु पौडेललाई सबैभन्दा ठूलो अर्थशास्त्री मान्न सकिन्छ भन्ने प्रश्न काङ्गे्रसभित्र कैयनले गरिरहेका छन् । अर्थशास्त्री नभएर या औपचारिक शिक्षा कम भएर पनि वर्षमान पुन, विष्णु पौडेल, कृष्णबहादुर महरा र सुरेन्द्र पाण्डेले अर्थ मन्त्रालय राम्रोसँग चलाएको मानिन्छ । ज्ञानेन्द्रबहादुर कार्की जसलाई काङ्गे्रसभित्र कृष्णप्रसाद भट्टराईको अनुयायीका रूपमा समेत बुझिन्छ, उनी एक अनुभवी र देश बुझेका परिपक्व नेता भएकोले अर्थ मन्त्रालय राम्रोसँग सञ्चालन हुने विश्वास गरिएको छ । राजनीतिशास्त्रमा स्नातकोत्तर कार्कीले पञ्चायतविरुद्धको प्रजातान्त्रिक आन्दोलनका क्रममा पटकपटक गरी चार वर्ष जेलमा बिताएका थिए भने २०४६ को आन्दोलनको समयमा जर्मनीमा बसी नेपालको प्रजातान्त्रिक आन्दोलनको पक्षमा सहयोग र सद्भाव जुटाउन उनी क्रियाशील थिए । कार्कीसँगै जर्मनीमा क्रियाशील महेश आचार्यलाई गिरिजाप्रसाद कोइरालाले आफू प्रधानमन्त्री हुनेबित्तिकै २०४८ सालमा अर्थ राज्यमन्त्री बनाएका थिए ।

नेपाल विद्यार्थी सङ्घको केन्द्रीय अध्यक्ष र महामन्त्रीको समेत जिम्मेवारी कुशलतापूर्वक पूरा गरेका ज्ञानेन्द्र कार्की २०६२÷०६३ को आन्दोलनका क्रममा पार्टीका तर्फबाट आन्दोलन परिचालन समितिका संयोजक थिए । यसअघि ऊर्जामन्त्रीका रूपमा आफ्नो कार्यभार कुशलतापूर्वक सम्पन्न गरेका कार्की यसपटक सरकारको भन्दा पार्टी कामको जिम्मेवारी लिन इच्छुक थिए । महामन्त्री बनाइने चर्चा चलिरहेकै बेला उनलाई अर्थ मन्त्रालयको जिम्मेवारी प्राप्त भएको छ । कार्कीलाई अर्थमन्त्री बनाउन नेताहरू डा. शेखर कोइराला र खुमबहादुर खड्कालगायतको पनि सुझाव रहेको बताइन्छ । पार्टीभित्र ‘लो प्रोफाइल’मा रहेर ‘हाई प्रोफाइल’ काम गर्ने नेताका रूपमा समेत चिनिने कार्की अत्यन्त इमानदार तथा भद्र व्यक्तिका रूपमा स्थापित छन् ।

वास्तविकता यसप्रकारको हुँदाहुँदै पनि सामाजिक सञ्जालमा उनको सकारात्मकभन्दा नकारात्मक प्रचारबाजी योजनाबद्ध रूपमा भइरहेको छ । खासगरी महेश आचार्य र उनका हितैषीहरू कार्कीविरुद्धको प्रचारबाजीमा नियोजित ढङ्गले जुटेको पाइएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेललाई समेत कार्कीको नियुक्तिविरुद्ध भड्काउने प्रयास आचार्यको टोलीले गरिरहेको बुझिन्छ । महेश आचार्य जो रामचन्द्र पौडेलको हितैषीभन्दा बढी आलोचकको भूमिका निर्वाह गर्दथे र बाहिर प्रकट नभईकन पौडेलविरुद्ध कोइराला परिवारलाई भड्काउनेमा पनि उनकै नाम अगाडि आउने गर्दथ्यो । तर, अहिले उनी रामचन्द्रका सर्वाधिक निकटको हितैषी भएको अभिनय गरिरहेका छन्् । गायन र अभिनय क्षमतामा अब्बल मानिएका महेश आचार्यलाई अर्थमन्त्री नबनाइएकै विषयलाई ठूलो मुद्दा बनाउने पक्षमा भने वरिष्ठ नेता रामचन्द्र पौडेल नरहेको बुझिन्छ । जे होस्, घटनाक्रमले नेता ज्ञानेन्द्रबहादुर कार्कीलाई अर्थमन्त्रीका रूपमा अब्बल काम गरेर आफू योग्य व्यक्ति भएको पुष्टि गर्नुपर्ने चुनौती भने थपेको छ ।