बाटो छेक्नेलाई अख्तियारको डण्डा !

बाटो छेक्नेलाई अख्तियारको डण्डा !


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लामो समयदेखि अर्थ मन्त्रालयअन्तर्गत आन्तरिक राजस्व कार्यालयको महानिर्देशकका रूपमा कार्यरत सहसचिव चूडामणि शर्मालाई अनुसन्धान तथा कारबाहीको दायरामा ल्याएपछि त्यसको सर्वत्र प्रशंसा भएको छ । लोकमानसिंह कार्कीको बहिर्गमनपछि शिथिलझैँ बनेको अख्तियारले माथिल्लो तहको कर्मचारीमाथि हात हालेपछि उक्त कदमलाई लिएर आममानिसले प्रशंसा गरेका हुन् । कर फस्र्योट आयोगका सदस्यसचिवसमेत रहेका शर्मामाथि एनसेललाई कर तिर्नबाट मुक्ति दिन खोजेको आरोप लगाउँदै अख्तियारले उनलाई गिरफ्तार गरी अनुसन्धान गरिरहेको छ । यसक्रममा सतासी वटा मात्र फाइल खोल्दा अर्बाैं रुपैयाँबराबरको अनियमितता भएको देखिएको भनी अख्तियार सूत्रको हवाला दिँदै प्रचार पनि भइरहेको छ । तर, यस प्रकरणको भित्री तथ्यबारे अनुसन्धान गर्दा केही रोचक तथ्य फेला परेका छन् ।

अनुसन्धानका क्रममा शर्माबाट भएका अनियमितताबारे तथ्य अवगत हुने र सोको आधारमा उनी दोषी या निर्दोष प्रमाणित हुने त छँदै छ, तर शर्मालाई गिरफ्तार गरी अनुसन्धान गर्न दीप बस्न्यात प्रमुख रहेको अख्तियारले अग्रसरता लिनु आफैँमा सन्देहास्पद र रहस्यपूर्ण मानिएको छ । प्राप्त जानकारीअनुसार हालका अख्तियार प्रमुख बस्न्यात पनि एक समय आन्तरिक राजस्व कार्यालयका महानिर्देशक थिए र सोही हैसियतमा उनले कर फस्र्योट आयोगको सदस्यसचिव भएर पनि काम गरेका हुन् । सचिवसम्म बनेर सेवानिवृत्त भएपछि बस्न्यात कर फस्र्योट आयोगको अध्यक्ष बन्न चाहन्थे र सो पदमा नियुक्तिका लागि उनले आकर्षक प्रस्ताव लिएर विभिन्न शक्तिकेन्द्रहरूमा धाएका पनि थिए ।

चूडामणि शर्माजत्तिकै ‘नाम चलेका’ दीप बस्न्यातलाई कर फस्र्योट आयोगको अध्यक्ष बनाउन तात्कालिक अर्थमन्त्री डा. रामशरण महतले अस्वीकार गरेको बताइन्छ । डा. महतले बस्न्यातलाई नगरी चार्टर्ड एकाउटेन्ट लुम्वध्वज महतलाई सो पदमा नियुक्त गरेपछि बस्न्यात क्रूद्ध बनेका थिए । आफू बन्न नपाएपछि त्यसको बदला लिन बस्न्यात अग्रसर भएको र बदला लिने नियतबाट नै अनुसन्धान र कारबाहीको प्रक्रिया बढाइएको आशङ्का जानकारहरूले गर्न थालेका छन् । यदि दीप बस्न्यात कर फस्र्योटको नाममा हुने गरेको भ्रष्टाचार तथा अनियमितता अन्त्यका प्रति गम्भीर बनेका हुन् भने उनले आफू आयोगको सदस्यसचिव हुँदा भए–गरेका निर्णयबारे पनि छानबिन तथा अनुसन्धान गर्न सक्नुपर्छ भन्ने आवाज उठिरहेको छ । भनिन्छ, शर्माबाट भन्दा बस्न्यातबाट कर फस्र्योटको नाममा व्यापक अनियमितता भएको छ । तर, उनी आफ्नो कार्यकालसम्मको छानबिन र अनुसन्धान गराउने पक्षमा अहिलेसमम छैनन् । चूडामणि शर्मा र लुम्वध्वज महतसँग बदला लिने मानसिकता मात्र उनमा पाइएको छ ।

चूडामणिको गिरफ्तारी हुनुमा अर्को एउटा कारण पनि रहेको बताइन्छ । लोकमानसिंह कार्की अख्तियार प्रमुख रहँदा कार्कीका निकटस्थ मानिसमध्ये एक चूडामणि शर्मालाई पनि मानिन्थ्यो । लोकमानको निकटस्थ हुनुलाई वर्तमान अख्तियार प्रमुखले सकारात्मक रूपमा लिने गरेका छैनन् । शर्मामाथि जाइलाग्नुको एउटा अर्को महत्वपूर्ण कारण यसलाई पनि मानिएको छ । बदला नै लिनका लागि शर्माको गिरफ्तारी गरिएको भए पनि उनीमाथि कारबाही चलाउन तथ्य र प्रमाण जुटाउनुपर्ने हुन्छ । तथ्य र प्रमाण जुट्न सकेको अवस्थामा भने बदलाको भावनाले नै कारबाही गरेको भए पनि आममानिसले त्यसलाई स्वागतयोग्य अवश्य मान्नेछन् । दीप बस्न्यात आफू कर फस्र्योट आयोगको सदस्यसचिव रहँदा भए–गरेका निर्णयमाथि पनि छानबिन गर्न तयार भए र भोलि दोषी प्रमाणित भएर कारबाही भोग्नुपर्ने स्थिति भयो भने पनि उनको यस्तो कदमको भने उच्च प्रशंसा हुने विश्वास गर्न सकिन्छ ।