मनसराको आँखा विष्फोट भएपछि…

मनसराको आँखा विष्फोट भएपछि…


आँखा ‘विस्फोट’ भई सिकिस्त बिरामी परेकी कालीकोट रोस्कोट नगरपालिका–७ की चार बर्षीया बालिका मनसरा लुहारको उपचार कान्ति बाल अस्पतालमा जारी छ । स्थानीय स्तरमा उपचार असम्भव भएपछि थप उपचार गर्न नेपाल कम्युनिस्ट पार्टी र सामाजिक अगुवा, युवा पङ्क्तिको सहयोगमा पैदल र गाडीको दुई दिनको लामो यात्रापश्चात बाबु रने लुहार र अगुवा कालीबहादुर महतराले छोरीलाई दुई साताअघि काठमाडौं ल्याइपु¥याएका हुन् ।

महाराजगन्जस्थित बीपी आँखा अस्पतालमा आँखाको परिक्षणलगत्तै उपचारका लागि मनसरालाई कान्ति बाल अस्पतालको इमर्जेन्सी कक्षमा भर्ना गरिएको छ । भर्नाअगाडि छोटो समय लिएर पत्रकार सम्मेलन गरेर बिरामीको आर्थिक अवस्थाबारे बाबुले जानकारी दिएका छन् । मनसराको केश विश्वमै दुर्लभ भएको चिकित्सकको भनाई छ । बिरामीको उपचार चिकित्सक प्रकाशनिधि तिवारीको टोलीले गरिरहेको चिकित्सक प्रकाश न्यौपानेले जानकारी दिए । आँखाको भित्री भागसहित ठूलो साइजमा ट्युमर बाहिर निक्लिएको छ । मेडिकल भाषामा मनसरामा देखिएको केश ब्लास्ट अर्थात विस्फोट भएको अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघका अध्यक्ष डम्बर रावलले बताए । ‘क्यान्सर भइसकेको अवस्थामा ब्लास्ट हुन्छ’ अध्यक्ष रावलले भने । धादिङ स्वास्थ्यमा समाजका डा. राम थापा क्षेत्रीले बालिकाको उपचारका लागि आफूहरुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए भने अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघका केन्द्रीय सदस्य लोकेश जोशीले मनसराको जीवन बचाउन सबैको सहयोग आवश्यक रहेको बताए ।

चरम आर्थिक अभावबाट गु्रजिरहेका रने परिवारले छोरी बचाउन सबैसँग सहयोग गर्न अपिल गरेको छ । दुई महिनापहिले घरनजिकै नहरमा खसेर सामान्य चोट लागेका मनसराको दाहिने आँखा आर्थिक संकटकै कारण थप उपचार गर्न नसकिरहेको बाबु रने लुहारले जानकारी दिए । अभावकै कारण छोरीको स्वास्थ्यले जटिल रुप लिएको उनको दुःखेसो छ ।

चोट लागेको करिब दुई महिनापछि घाइते मनसराको घाइते आँखा एक्कासी विस्फोट भई बाहिर निक्लिएको थियो । त्यसबाट स्वास्थ्यवस्था गम्भीर बनेपछि स्थानीयको सहयोगमा मनसरालाई सदरमुकाम मान्मा पु¥याइयो । त्यहाँ उपचार सम्भव नभएपछि नेपाल कम्युनिस्ट पार्टीका नेता एवं स्थानीय भरत बम ‘रणवीर’सहितको टोलीले बिरामीलाई काठमाडौं ल्याइपु¥याइएको हो ।

मनसराको उपचारप्रति राज्य उदासिन हुन नमिल्ने बताउँदै उपचारका लागि सहयोग गर्न देशभित्र र बाहिर रहेका सम्पूर्ण नेपालीहरुसँग नेता रणवीरले अपिल गरे । नेपालीहरुकै सहयोगबाट मनसराको उपचार सफल बनाउनुपर्नेमा उनले जोड दिए । ‘हामी नेपालीको सहयोगलाई प्राथमिकता दिन्छौं । लुहारजस्ता चरम गरिबीको चंगुलमा पारिएकाहरुको उद्धार गर्न नेपाल कम्युनिस्ट पार्टी सदैव साथमा छ’ उनले भने । त्यसनिम्ति मनसरा संरक्षण कोष स्थापना गरिएको छ । संकलित रकम कोषमार्फत बिरामीको उपचारमा खर्च गर्ने र मनसरा जस्तै वर्गको उपचारमा निरन्तर लगाउने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

पत्रकार सम्मेलनमा बाबु रनेले भावकु हुँदै भने ‘मेरो छोरीलाई बचाउनु छ, तपाईहरुले सहयोग गर्नुस् ।’ स्थानीय अगुवा महतराले मनसराको परिवार चरम गरिबीको चपेटामा गुज्रिएको र छोरीलाई बचाउन सबैको सहयोग खाँचो रहेको बताए । सुर्खेतबाट काठमाडौं आउन वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरी खर्च जुटाएर काठमाडौं ल्याइपुर्याउन सकिएको महतराले बताए । उपचारको लागि सहयोग रकम जम्मा गर्न मनसराकी बाबु र महतराको नाममा सानिमा बैंकका संयुक्त खाता (खाता नम्बर ०४४००००००१०) खोलिएको छ । आवश्यक सम्पर्कको लागि महतराको मोवाइल नम्बर ९८४८३०७१७३ दिइएको छ ।