आयोजक नेपाल वायुसेवा निगमका नवीनबहादुर शाक्य अन्तरएयरलाइन्स टेबलटेनिस प्रतियोगिताको पुरुष सिंगल्समा च्याम्पियन बनेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा मंगलबार भएको ‘बेस्ट अफ सेभेन’को फाइनलमा नवीनले कतार एयरवेजका कमल श्रेष्ठलाई ११–४, ११–४, ११–० र ११–८ को सोझो सेटमा पराजित गरे । निगमको ५०औँ वार्षिकोत्सवदेखि अन्तरएयरलाइन्स टेबलटेनिस प्रतियोगिताको सुरुवात भएको थियो । त्यसयता सबै संस्करणमा नवीन पुरुष सिंगल्समा च्याम्पियन बन्दै आएका छन् । निगमका सुरेशविक्रम हमाल तेस्रो भए ।
निगमको ५९औँ वार्षिकोत्सवका अवसरमा आयोजित प्रतियोगितामा नवीनले सहकर्मी प्रीतम प्रधानसँग मिलेर पुरुष डबल्सको उपाधि पनि हात पारे । फाइनलमा नवीन र प्रीतमको जोडीले निगमकै सुरेशविक्रम हमाल र बाबुराजा अवालेको जोडीलाई ११–७, ८–११, ११–६ र ११–८ को सेटमा हराए । निगमका जयबहादुर चन्द र समीर केसी तथा हिमालय एयरलाइन्सका सनी श्रेष्ठ र रोविन रिजालको जोडी संयुक्त रूपमा तेस्रो बने ।
यसअघि राउन्डरोविन लिगका आधारमा खेलाइएको महिला सिंगल्स स्पर्धामा रञ्जना पोखरेल पहिलो, उषा सिंखडा दोस्रो र निमाडोमा शेर्पा तेस्रो भएका थिए । शीर्ष तीन स्थान हात पार्ने सबै निगमका हुन् । विजेतालाई निगमको ५९औँ वार्षिकोत्सवका अवसरमा शनिबार आर्मी अफिसर्स क्लबमा हुने समारोहमा पुरस्कृत गरिनेछ ।
पुरुष÷महिला सिंगल्समा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः काठमाडौं–हङकङ–काठमाडौं, काठमाडौं–क्वालालम्पुर–काठमाडौं र काठमाडौं–बैंकक–काठमाडौंको हवाई टिकट पुरस्कारस्वरूप प्राप्त गर्नेछन् । चारदिने प्रतियोगितामा ४० पुरुष र ४ महिला प्रतिस्पर्धीले विभिन्न ३ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।
प्रतिक्रिया