रहेनन् प्रमुख प्रशिक्षक जोशी

रहेनन् प्रमुख प्रशिक्षक जोशी


भारोत्तोलनका प्रमुख प्रशिक्षक ओलम्पियन सुनीललाल जोशीको ५३ वर्षकौ उमेरमा निधन भएको छ । उनको हृदयघातका कारण बाँसबारीस्थित गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा निधन भएको हो । १९९६ मा अमेरिकाको एटलान्टामा भएको २६औँ ओलम्पिकमा सहभागी भएका नेपाल ओलम्पियन सङ्घका अध्यक्ष जोशीले २०४१ सालमा काठमाडांैमा आयोजित दक्षिण एसियाली खेलकुदमा सहभागिता जनाउँदै रजत पदक प्राप्त गर्न सफल भएका थिए । पहिलोदेखि सातौँ दक्षिण एसियाली खेलकुदसम्म प्रतिस्पर्धा गर्दै ६ रजत र ११ कास्य पदक प्राप्त गरेका थिए ।

नेपाल भारोत्तोलन सङ्घका उपाध्यक्षसमेत रहेका जोशीले खेलजीवनपश्चात् २०५२ साल असोज १ गतेबाट प्रशिक्षकको रूपमा राष्ट्रिय खेलकुद परिषद्मा कार्यरत रहँदै २०६३ साल पुस २१ गतेबाट वरिष्ठ भारोत्तोलन प्रशिक्षकमा बढुवा भएका थिए । श्रद्धाञ्जलीका लागि राष्ट्रिय खेलकुुद परिषद्मा राखिएको उनको पार्थिव शरीरमा युवा तथा खेलकुद निमित्त सचिव ज्ञानराज सुवेदी तथा कर्मचारीहरू, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष लामा टेन्डी शेर्पा, पूर्वसदस्यसचिव जीवनराम श्रेष्ठ, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका पदाधिकारी, ओलम्पियन खेलाडीहरू, खेलाडी, खेलकर्मी, राखेपका कर्मचारीलगायतले फूल, अबिरद्वारा श्रद्धाञ्जली अर्पण गरेका थिए । जोशीको पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिएको छ । जोशीका श्रीमती र एक छोरा रहेका छन् । जोशीको निधनप्रति राष्ट्रिय खेलकुद परिषद्, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घले गहिरो दुःख व्यक्त गरेका छन् ।