युवा तथा खेलकुद मन्त्रालयका सचिव महेश दहालले नेपालमा हुने १२औँ अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी)लाई खेलकुद मन्त्रालयले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । अमेरिकाको पोर्टल्यान्डमा भएको आईओएफटीसीको बैठकमा सहभागी हुने क्रममा सचिव दाहालले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् ।
‘च्याम्पियनसिपका लागि बजेटको व्यवस्था पनि गरेका छौँ । अन्य कुरामा पनि मन्त्रालयले सक्दो सहयोग गर्नेछ,’ बैठकमा सचिव दाहालले भनेको कुरालाई उद्धृत गर्दै आईओएफटीसीका टुर्नामेन्ट डाइरेक्टर दिवाकर महर्जनले भने । बैठकमा च्याम्पियनसिपलाई व्यवस्थित र सफलतापूर्वक सम्पन्न गर्ने विषयमा पनि छलफल भएको महर्जनले जानकारी गराएका छन् ।
दुई वर्षको अन्तरालमा हुने च्याम्पियनसिप २०१८ को जनवरी पहिलो साता सुनसरीको इटहरीमा हुँदै छ । २०१६ मा पोर्टल्यान्डमै सम्पन्न च्याम्पियनसिपको ११औँ संस्करणको समापनका अवसरमा १२औँ संस्करण नेपालमा हुने घोषणा गरिएको थियो । त्यसबेला आयोजकले राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टलाई झन्डासमेत हस्तान्तरण गरेको थियो ।
केही महिनाअघि महर्जन च्याम्पियनसिपका लागि भौतिक पूर्वाधारलगायतको अवलोकन गर्न पोर्टल्यान्डबाट इटहरी आएका थिए । पोर्टल्यान्डमै आईओएफटीसीले आयोजना गरेको तेक्वान्दो ग्य्राजुएसन कार्यक्रम र ओलम्पिक डेका अवसरमा आयोजित पिसवाकमा पनि सचिव दाहाल प्रमुख अतिथिका रूपमा सहभागी भए । सचिव दाहाल आइतबार क्यानडा जाँदै छन् । युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडेरेसन (यूयूएनटीएफ) का अध्यक्ष आठौँ दक्षिण एसियाली खेलकुदअन्तर्गत तेक्वान्दोका स्वर्णधारी राजकुमार राईको अध्यक्षतामा बस्ने यूयूएनटीएफको बैठकमा सहभागी हुन सचिव दाहाल क्यानाडा जान लागेको महर्जनले जानकारी गराएका छन् ।
प्रतिक्रिया