तीन वर्षदेखि २१ जुनका दिन विश्वव्यापी रूपमा मनाइँदै आएको अन्तर्राष्ट्रिय योग दिवस गत साता काठमाडौंलगायत मुलुकका विभिन्न स्थानमा उत्साहका साथ मनाइयो । नेपालस्थित भारतीय दूतावासको सहयोगमा नेपालमा रहेका विभिन्न सङ्घ–संस्थाहरूले तेस्रो अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा योग शिविरहरू सञ्चालन गरे, जो वीरगञ्ज, विराटनगर, जनकपुर, पोखरा, लुम्बिनी र चितवनमा समेत सञ्चालन भएको थियो । भारतीय दूतावासकै सहयोगमा विभिन्न विद्यालयमा पनि योग शिविर आयोजना गरिएको थियो भने दूतावास स्वयम्ले पनि आफ्नो प्राङ्गणमा योग शिविर आयोजना गरेको थियो ।
यस्तै, राजधानीस्थित प्रदर्शनीमार्गमा आयोजित विशाल योग शिविरका लागि भारतीय दूतावासले नेपाल सरकारलाई सहयोग गरेको छ । योग दिवसका अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दिएको शुभकामना सन्देश पनि सुनाइएको थियो भने योग अभ्यास कार्यक्रममा सरिक हुनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले योगले मानिसको मानसिक र शारीरिक स्वास्थ्य प्राप्ति हुने तथा मन र दिमागको सन्तुलन हुने बताउनुभयो । उहाँले आचार्य बालकृष्णले लेखेको ‘दैनन्दिन योगाभ्यास’ र नेपालका लागि भारतीय दूतावासले प्रकाशन गरेको ‘योग सन्देश’ पुस्तकको विमोचनसमेत गर्नुभयो ।

योग दिवसकै अवसरमा वलिउड अभिनेत्री मनीषा कोइरालाको उपस्थितिमा भारतीय महिला सङ्घको आयोजनमा एक संवाद कार्यक्रम गरियो । सो अवसरमा सङ्घले अभिनेत्री कोइरालामार्फत भक्तपुर क्यान्सर अस्पताललाई एक लाख नेपाली रुपैयाँ प्रदान ग¥यो । योग दिवसकै अवसरमा भएको निबन्धलेखन, चित्रकला, हाजिरीजवाफ तथा योग प्रतियोगितामा सहभागी विद्यार्थीलाई भारतीय राजदूत मन्जीवसिंह पुरीले पुरस्कार वितरण गर्नुभएको थियो ।
यसैगरी, तेस्रो अन्तर्राष्ट्रिय योग दिवसको अवसर पारेर भैरहवा, रूपन्देहीमा निःशुल्क योग शिविर आयोजना गरिएको थियो । भारत–नेपाल चिकित्सक सङ्घ तथा श्यामाश्यामधाम, प्रहरी टोल–संस्थाको सामूहिक समन्वयमा आयोजित उक्त कार्यक्रममा चिकित्सक, समाजसेवी, शिक्षकहरू, स्थानीय विद्यार्थी तथा आमजनसमुदायको उपस्थिति रहेको थियो । युनिभर्सल मेडिकल कलेज भैरहवाका कम्युनिटी मेडिसिन एचओडी प्रा.डा. आरएस खरे प्रमुख अथितिका रूपमा उपस्थित हुनुहुन्थ्यो भने भारत–नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा. शुभान्क सिन्हाले भिडियो कलमार्फत उपस्थिति जनाउनुभएको थियो । कार्यक्रममा योग प्रशिक्षक ओम स्वामीले करिब दुई घन्टा लामो योग शिल्प तथा शिक्षा दिनुभएको थियो । मधुमेह, उक्त रक्तचाप, थाइरोइडजस्ता डरलाग्दा रोगहरूले पार्ने प्रतिकूल प्रभावका कारण वर्षेनी करोडौं बिरामी ग्रसित भइरहेको उल्लेख गर्दै उहाँले नियमित योगले मानव स्वास्थ्यमा पु¥याउने फाइदामाथि प्रकाश पार्नुभएको थियो ।
प्रतिक्रिया