काउन्सिलका अध्यक्ष उम्मेदवारको घरमा

काउन्सिलका अध्यक्ष उम्मेदवारको घरमा


प्रेस काउन्सिल नेपालका नवनियुक्त अध्यक्ष भवानी बराल ‘मौन अवधि’ सुरु भएपछि मंगलबार (असार १३ गते) धरान पुगे । धरानमा माओवादीको तर्फबाट मेयरका उम्मेदवार अइद्रविक्रम बेघाको निवासस्थानमा माओवादी कार्यकर्ता सन्तोष लिम्बूसहित पुगेका बरालले बेघाको विजयका निम्ति शुभकामना प्रकट गरेका थिए । त्यस अवसरमा अध्यक्ष बरालले बेघालाई निर्वाचनमा विजयी गराउनका लागि आफ्नोतर्फबाट सबै प्रकारको सहयोग हुने प्रतिबद्धता पनि व्यक्त गरेका थिए । स्मरणीय छ, निर्वाचन आचारसंहिता उल्लङ्घन भए–नभएको विषयमा निर्वाचन आयोगसँगको सहकार्यमा अनुगमनको जिम्मेवारी लिएको पे्रस काउन्सिलका अध्यक्ष बराल धराननिवासी हुनुहुन्छ । माओवादी पार्टीको सिफारिसमा काउन्सिलको अध्यक्ष नियुक्त हुनुभएका बरालले अध्यक्षको रूपमा नभई माओवादी समर्थक एक नागरिकको रूपमा मेयरका उम्मेदवारसँग भेटघाट गरेको बरालका निकटवर्तीहरूले बताएका छन् ।

काङ्ग्रेस–एमालेको आ–आफ्नै दाबी
स्थानीय तहको दोस्रो चरणको निर्वाचन (असार १४)मा सरकारले करिब पौने दुई लाख सुरक्षाकर्मी परिचालन गरको छ । तीनवटा प्रदेशको कुल ३ सय ३४ स्थानीय तहका लागि हुने निर्वाचनमा एक लाख चौसट्ठी हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएकोमा करिब चालीस हजार नेपाली सेना मात्र भएको बताइन्छ । एक, पाँच र सात नम्बर प्रदेशको पैंतीस जिल्लामा हुने निर्वाचनमा नेपाली काङ्ग्रेस र एमाले दुवैले सर्वाधिक स्थानमा विजय हासिल गर्ने दाबी गरेका छन् । जो–जसले जे दाबी गरे पनि पाँच र सात नम्बर प्रदेशमा काङ्ग्रेस र एमालेबीच प्रतिस्पर्धात्मक स्थिति रहे पनि एक नम्बर प्रदेशमा एमाले धेरै अगाडि हुने देखिएको छ । उक्त प्रदेशमा कुल १ सय ३७ तहमध्ये ९० भन्दा बढीमा एमाले एक्लैले जित्ने दाबी गरेको छ ।