भूपिको कविताका पात्र हौँ कि ह्वेनसाङले भेटेका पुर्खाका सन्तान ?

भूपिको कविताका पात्र हौँ कि ह्वेनसाङले भेटेका पुर्खाका सन्तान ?


– देवप्रकाश त्रिपाठी

पार्टीका तर्फबाट उम्मेदवार बन्न नेताहरूसँग टिकट खरिद गर्ने हामीमध्येकै मानिस हौँ र मतदान गर्नका लागि नगद खोज्ने पनि हामी नै हौँ । नगदसँग मत साटेपछि नेताले राम्रो गरेनन्, देश बर्बाद गरे, मुलुक बनाउन नसक्ने भए भन्ने पनि हामीमध्येकै मानिस हौँ । एक थान मारुती कारसँग देश साट्न चाहने मानिसको सङ्ख्या पछिल्लो दशकमा निकै बढेको महसुस पनि नेपालभित्रै गरिँदै छ ।

भारतको दार्जिलिङमा चलिरहेको आन्दोलन हामीले चासो राखिरहन नपर्ने, तर चासो नलिई बस्न नसकिने विषय–सन्दर्भ बन्न पुग्यो । त्यसप्रति हामीले लिने चासोले नेपाल–भारतबीचको सम्बन्ध र दार्जिलिङवासीको आन्दोलनमा समेत प्रतिकूल प्रभाव पार्ने शङ्काका कारण पटकपटक उठ्ने गरेको दार्जिलिङ आन्दोलन हाम्रा निम्ति अत्यन्त संवेदनशील विषय बन्ने गरेको छ । शताब्दी अघिदेखि दार्जिलिङका नेपालीभाषी भारतीयहरूले गोर्खाल्यान्ड माग राखेर चलाउँदै आएको आन्दोलन कहिले सत्ताधारीहरूको दमनचक्रमा त कहिले ‘चक्रब्यूह’मा परेर शिथिल हुने गरेकोमा यसपटक उक्त आन्दोलनले अलिक भिन्न गति लिएको छ । सङ्घर्षका क्रममा केही व्यक्तिले सहादत प्राप्त गरिसकेका छन् भने कैयनलाई सुरक्षाकर्मीहरूले पक्राउ गरेका छन् । यसपटकको आन्दोलन उठान र त्यसको प्रभाव अवलोकन गर्दा कुनै न कुनै ठोस उपलब्धि हासिल गरेर मात्र विराम लाग्ने सङ्केतहरू देखिएका छन् ।
दार्जिलिङका बासिन्दाले अलग राज्यको माग राखेर आन्दोलन चलाइरहँदा उनीहरू जुन पीडा भोग्दै छन्, त्यसमा सहयोगी बन्न नखोजे–नसके पनि थप पीडा दिने काम नेपालभित्रबाट नभएको भए हामी मानवीय छौँ भन्ने सन्देश जान सक्थ्यो, त्यति मात्र काम पनि यहाँबाट हुन नसक्दा हामीले लज्जाबोध गर्नुपरिरहेको छ ।

दार्जिलिङ र आसपासका क्षेत्रमा जहिलेदेखि मानव बसोबास सुरु, भयो त्यसै समयदेखिका बासिन्दा हुन् ‘गोर्खा’का रूपमा चिनिन चाहने नेपालीभाषीहरू । आर्य या मङ्गोल जुन नश्लका भए पनि त्यहाँका बासिन्दा आफूलाई नेपालीभाषी भारतीय गोर्खाका रूपमा गौरव महसुस गर्दछन् । नेपाली मूलको भएका कारण उनीहरूमा नेपाल र नेपालीप्रति आत्मिकताको अनुभूति हुन्छ भने त्यो अस्वाभाविक हुँदैन । दार्जिलिङवासी भारतीय नेपाली र नेपालवासी नेपालीहरूबीच ‘नागरिकता’बाहेकको दूरी कायम भएको मान्न सकिँदैन, साँच्चै दूरी बढेछ भने पनि बाँकी विश्व यो तथ्य स्वीकार गर्न तयार हुनेछैन ।
भारतको पश्चिम बङ्गालकी मुख्यमन्त्री या अरू कोही भारतभित्र र नेपालमा पनि त्यस्ता मानिस हुन सक्छन् जो दार्जिलिङवासी नेपाली र नेपालबीच हार्दिकतापूर्ण सम्बन्ध बनोस् भन्ने चाहँदैनन् । भारतको देहरादुनदेखि नेपाल हुँदै दार्जिलिङ, सिक्किम, मेघालय, आसाम र भुटान करिडोरका नेपालीभाषीहरूबीच परस्पर भ्रातृत्व, प्रेम र मैत्रीपूर्ण सम्बन्ध विकास हुँदा कसैलाई चुनौतीको अनुभूति हुन्छ भने तिनले बुझ्नुपर्छ– भारतको सीमारक्षाका निम्ति पनि नेपालीभाषीहरूले इमानदारीपूर्ण योगदान पु¥याइआएका छन् । नेपाल र भारतका नेपालीबीचको भावनात्मक एकताले भारतको सुुरक्षामा चुनौती थप्ने कसैले ठानेका छन् भने ती या त नेपालीहरूप्रति पूर्वाग्रही छन् या उनीहरू राजनीतिक उद्देश्यपे्ररित धारणा राख्दछन् । दार्जिलिङमा गोर्खाल्यान्ड माग राखेर आन्दोलन चलिरहेको यस घडीमा नेपालभित्र र बाहिरबाट सामाजिक सञ्जालको प्रयोग गरी परस्पर वितृष्णा बढाउने काम जसरी भइरहेको छ, त्यसले भूपि शेरचनको कविताको एक अंश स्मरण गराइरहेको छ– ‘हामी वीर छौँ त्यसैले बुद्धू छौँ ।’

ख्यातिप्राप्त चिनियाँ यात्री ह्वेन साङले त हामीलाई न बुुद्धू देखे न वीर ! उनले आफ्नो यात्रा वृत्तान्तमा हिमालयको दक्षिणतर्फ अविश्वसनीय, धूर्त र जाली मानिसहरू बस्दारहेछन् भनी लेखेको कुरालाई प्रसिद्ध फ्रान्सेली लेखक सिल्भाँ लेवीले शताब्दीअघि नेपालबारे लेखिएको ‘हिन्दू अधिराज्य नेपालको परिचय’ नामक पुस्तकमा निकै सचेततापूर्वक उद्वरण गरेका छन् । छैटौँ शताब्दीका चिनियाँ यात्रीको शब्द वर्णनलाई सही मान्ने हो भने हामीले आफूलाई ‘खानदानी जाली’का रूपमा स्वीकार गर्नुपर्ने हुन्छ । पितृदेवहरूका बारेमा कुनै नकारात्मक टीका–टिप्पणी गर्नु शोभनीय मानिँदैन, तथापि राम्रा मानिस र राम्रो गर्न चाहने मानिसलाई निरुत्साहित गर्ने नेपाली संस्कारचाहिँ हामीले पुर्खाहरूबाट नै पाएका हौँ कि भन्ने लाग्दै छ । जाली, धोखेबाज या परपीडक भन्न सुहाउने प्रकारका मानिसको नेपाल र आसपासमा चल्ने गरेको बोलवाला काजी भीम मल्लकी सतीको श्रापपछि मात्र नभएको, धेरै पहिलेदेखि यो पवित्र भूमिमा अपवित्र क्रियाकलापको राज चल्दै आएको ऐतिहासिक तथ्यहरूले स्पष्ट गर्दछ । राजनीतिकर्मीहरूमा मात्र झेली प्रवृत्ति देखिने गरेको भए नेपाली समाजमा व्याप्त विकृतिलाई बेग्लै ढङ्गले विश्लेषण गर्न सकिन्थ्यो । पार्टीका तर्फबाट उम्मेदवार बन्न नेताहरूसँग टिकट खरिद गर्ने हामीमध्येकै मानिस हौँ र मतदान गर्नका लागि नगद खोज्ने पनि हामी नै हौँ । नगदसँग मत साटेपछि नेताले राम्रो गरेनन्, देश बर्बाद गरे, मुलुक बनाउन नसक्ने भए भन्ने पनि हामीमध्येकै मानिस हौँ । एक थान मारुती कारसँग देश साट्न चाहने मानिसको सङ्ख्या पछिल्लो दशकमा निकै बढेको महसुस पनि नेपालभित्रै गरिँदै छ ।

माओवादीको राज सुरु भएयता देशमा नकारात्मक प्रवृत्ति विस्तार भएको अनुभूति धेरैले गरेको हुनुपर्छ । एउटा पीडादायी अवस्थाबाट गुज्रिरहेका दार्जिलिङवासीहरूको घाउमा नुन छकिर्ने तहको अभिव्यक्ति नेपालभित्रबाट प्रकट हुन थालेपछि त्यसले हामीमा हुर्किएको नकारात्मक प्रवृत्तिको स्तर स्पष्ट गरेको छ । नेपालमा बसोबास गर्ने हामीमध्ये कसैमा दार्जिलिङवासीहरूप्रति कुनै ‘रिजर्भेसन’ छ भने पनि त्यो प्रकट गर्ने उपयुक्त समय यो होइन । नेपालको सरकार र यहाँका बासिन्दाले दार्जिलिङवासीहरूको मागप्रति सहयोगी भूमिका निर्वाह गर्न या ऐक्यबद्धता जनाउन सक्ने या पर्ने अवस्था नहरे पनि तिनको बद्ख्वाइँ गर्ने या खिल्ली उडाउने कार्यलाई कुनै पनि तर्कका आधारमा जायज मान्न सकिँदैन । नेपाली जनता या नेपालको सरकारले आन्दोलनको पक्षमा बोलिदिएका कारण दार्जिलिङवासीको माग सम्बोधन हुने स्थिति होइन र यति नै कारणले भारतीय नेपालीहरूमाथी भइरहेको दमन न्यून हुने विश्वास गर्न पनि सकिँदैन । करिब तीन दशक लामो कम्युनिस्ट पार्टीको जब्बर सरकारलाई बङ्गालबाट विस्थापित गर्ने सफलता प्राप्त गरेपछि ममता बेनर्जीमा अहंकार र महत्वकाङ्क्षा बढेको छ भने त्यो स्वाभाविक रूपमा बुझ्नुपर्ने अस्वाभाविकता हो । ममतामा बङ्गाली अहंकार पैदा नभएको भए या भारतीय राष्ट्रियताप्रतिको अद्वितीय लगावले उत्पे्ररित गरेको भए उनले नेपाली वा बङ्लालाई ऐच्छिक बनाएर हिन्दीलाई अनिवार्य तुल्याउने प्रस्ताव राख्न सक्थिन्, त्यसो गरिनन् ममताले । समग्र भारतीय राष्ट्रियताको कोणबाट हेर्ने हो भने ममता आफैँ एक क्षेत्रीयतावादी राजनीतिकर्मी हुन् । एउटा क्षेत्रीयतावादीले अर्को भाषिक या क्षेत्रीय समुदायप्रति असहिष्णुता दर्शाउँदा त्यसले द्वन्द्व बढाउने खतरा पैदा गर्दछ, ममता बनर्जी यस्तै खतरा निम्त्याउँदै छिन् ।

दार्जिलिङवासीहरूको इतिहास, पृष्ठभूमि र यहाँको माटोसँगको नातालाई लिएर कसैले प्रश्न उठाउँछ भने त्यो आवेग र आक्रोश नभए चरम पूर्वाग्रह हुन सक्छ । ममता बेनर्जीहरूकै उद्गम खोज्न थालियो भने पनि त्यो माटो हाल पश्चिम बङ्गालको रूपमा चिनिने भूक्षेत्रभित्र नभेटिन सक्छ । इस्लाम धर्मावलम्बीहरूमध्ये भारतलाई आफ्नो ‘हृदयको देश’ ठानेर समर्पित र विश्वस्त हुनेहरूको सङ्ख्या कति हुन सक्ला, यो अनुसन्धानको विषय बन्न सक्छ । तर, भारतीय राष्ट्रवादीहरू अहिले पनि मुसलमानहरूप्रति पूर्ण विश्वस्त हुन सकेका छैनन् र दुवै पक्ष एक–अर्काप्रति सशङ्कित छन् ।

देशभित्र बसोबास गर्ने सबै आकार–प्रकारका समुदायहरूको कानुनी र मानवीय अधिकार समान भए पनि खास समुदायमा मुलुकप्रति अलिक बढी अपनत्व या स्वामित्वभाव हुन सक्छ । छिमेकी मित्रराष्ट्र चीनमा हान जातिले चीनको वास्तविक मालिक ठान्ने गर्दछ । यसबाहेक क्षेत्रीय रूपमा सङ्घाईले चीनको स्वामित्व आफूमा रहेको महसुस गर्ने गर्दछ । चिनियाँ कम्युनिस्ट पार्टीमा पनि ‘सङ्घाई’ र ‘बेइजिङ’ कसले शासन गर्ने भन्ने अघोषित प्रतिस्पर्धाको स्थिति छ । छिमेकी मित्रराष्ट्र भारतमा उत्तरप्रदेश, बिहार, उत्तराखण्ड, हिमाञ्चल र गुजरातलगायतका केही राज्यहरूमा देखिने स्तरको ममताभाव दक्षिणी, उत्तरपूर्वी र कास्मिरी खण्डले राख्छ कि राख्दैन भन्ने प्रश्न विद्वान्हरूले यदाकदा उठाउने गरेको पाइन्छ । अफगानिस्तानमा पस्तुनहरूमा रहेकै स्तरको स्वामित्वभाव अन्य समुदायमा रहेको विश्वास कम्तीमा पस्तुनहरू गर्दैनन् । देशभित्र जुन समुदायमाथि अविश्वास या आशङ्काभाव राखिन्छ, विश्वास पैदा गर्ने दायित्व पनि तिनको आफ्नै हुन्छ । पाकिस्तानमा बलुच र श्रीलङ्कामा तमिल समुदायले देशभक्तिभावको प्रमाण दिनुपर्ने अवस्था सिर्जना हुनुमा यी समुदायको आफ्नै भूमिका जिम्मेवार रहेको ठानिन्छ । तर, भारतका नेपालीभाषी समुदायले अल्पसङ्ख्यक भएर पनि देशभक्तिको प्रमाण व्यवहारतः प्रस्तुत गरिसकेका छन् । भारतीय नेपालीहरूले निष्ठापूर्वक आफ्नो मुलुकको सेवा र रक्षा गर्दै आएका छन् । त्यसैले दार्जिलिङवासीहरूको निष्ठा, इमानदारी र देशभक्तिमाथि नयाँदिल्लीले शङ्का गरेको अहिलेसम्म पाइएको छैन । नेपालमा कुनै खास समुदायले बाँकी अन्यको या काठमाडौंको विश्वास आर्जन गर्न सकेको छैन भने तिनले आफ्नो सोच र क्रियाकलापप्रति समीक्षात्मक हुन आवश्यक छ ।

दार्जिलिङवासीहरू नेपालीका अतिरिक्त हिन्दी, अङ्गे्रजी र बङ्ला भाषा राम्ररी बुझ्न र बोल्न सक्छन् । मातृभाषा भएकोले नेपालीप्रति उनीहरूको विशेष मोह रहनु स्वाभाविक र वाञ्छनीय छ । त्यहाँ भाषा माध्यम भएर आत्मसम्मानको मुद्दा अगाडि आएको हो, आत्मसम्मानकै लागि उनीहरू आफ्नो भाषा, भेष, संस्कार र संस्कृति रक्षाका निम्ति अग्रसर हुन बाध्य भएका हुन् । भारत दार्जिलिङको सन्दर्भसँग नेपालको मधेसकेन्द्रित केही राजनीतिक समूहले उठाएका मुद्दालाई कतिपयले तुलना गरेर हेर्न पनि खोजेका छन् । नेपालको तराईमा थारू, राजवंशीलगायत केही आदिवासी समुदायको बसोबास छ भने बाँकी नेपालकै पहाडी भूभाग र मित्रराष्ट्र भारतबाट बसाइँ सरी आउनेहरू छन् । तराईमा थारू, राजवंशी, मैथिली, भोजपुरी, उद्र्धू, अवधि र नेपालीलगायतको भाषा बोलिन्छ भने सबै भाषिक समुदायको सम्पर्क भाषाका रूपमा नेपाली सर्वस्वीकार्य भइसकेको छ । त्यसैले नेपालमा हिँदीलाई सरकारी कामकाजको भाषा बनाउन आवश्यक ठानिएको छैन र ठान्ने सम्भावना पनि तत्काल देखिएको छैन । तराईतिर ‘हिन्दीपे्रम’ दर्शाउनेहरूले त्यहाँ मैथली, भोजपुरी, थारू, अवधि या राजवंशी भाषालाई सम्पर्क भाषा बनाइनुपर्छ भनेका भए त्यसलाई गम्भीरतापूर्वक बहस–छलफलमा ल्याउनु उपयुक्त हुन पनि सक्थ्यो । नेपालको तराईमा भारतको दार्जिलिङमा झैँ एउटै भाषिक समुदायका मानिसको बसोबास नरहेको र ऐतिहासिक पृष्ठभूमि पनि नितान्त भिन्न भएकोले दार्जिलिङका बासिन्दाले जस्तै तराइ–मधेसका क्षेत्रीयतावादी समूहहरूले त्यसस्तरको माग राख्न सक्दैनन् । कदाचित राखिहाले पनि त्यसको औचित्य सावित हुन मुस्किल पर्नेछ ।

दार्जिलिङ आन्दोलन भारतको आन्तरिक मामिला भएकोमा द्विविधा रहेन । तात्कालिक ब्रिटिस भारतीय शासक (भाइसराय लर्ड वेभेल) ले (सन् १९४४मा) नेपालका तात्कालिक प्रधानमन्त्री श्री ३ जुद्धशमशेर राणालाई दार्जिलिङसहित पूर्वोत्तर भारतको स्वामित्व हस्तान्तरण गर्न खोजेकै आधारमा हामीले दार्जिलिङप्रति बेग्लै भाव राख्नुपर्ने कारण र औचित्य पनि अब देखिँदैन । भारतको आन्तरिक मामिला भएकै कारण दार्जिलिङ आन्दोलनप्रति नेपाल या अन्य कुनै मुलुकले अधिक चासो राख्नु उचित होइन । भारतको केन्द्रीय सत्ता भारतीय इतिहासकै एउटा राष्ट्रवादी, देशभक्त र सच्चा प्रजातन्त्रवादी शक्तिको हातमा आइपुगेको यो समयमा एउटा प्रान्तको मुख्यमन्त्रीले भावावेशमा लिएको या लिने निर्णय पुनरावलोकन गराउने सामथ्र्य प्रकट नहुँदा केही आशङ्का र प्रश्न अवश्य जन्मिएका छन् । यद्यपि भारतको सुरक्षा र सीमारक्षामा अविच्छिन्न योगदान पु¥याउँदै आएका ‘गोर्खा’हरूको मागप्रति नरेन्द्र मोदीजस्ता दूरदर्शी, व्यावहारिक र राष्ट्रवादी नेताले संवेदनशीलता दर्शाउँदैनन् भन्ने ठानिएको छैन । दार्जिलिङवासीहरूले खालिस्तानी या कास्मिरी विद्रोहीले झैँ अलग देश मागेका होइनन् र अलग देश माग्ने पक्षमा उनीहरू कहिल्यै थिएनन्, हुन सक्ने पनि छैनन् ।

स्वाभिमान र आत्मसम्मानको लडाइँ लडिरहेका दार्जिलिङवासीहरूलाई होच्याउने वा सु¥याउने प्रकारको क्रियाकलाप नेपालभित्रबाट जो कसैले पनि गर्नु उचित होइन । नेपालतिरबाट कोही–कसैले सामाजिक सञ्जालको दुरुपयोग गरी आन्दोलनकारी भारतीय नेपालीको मन दुखाउने कार्य गरेका छन् भने त्यसलाई सम्बन्धित व्यक्तिको बौलठ्ठीपन या अपरिपक्वता ठानेर दार्जिलिङवासीहरूले उदारतापूर्वक क्षमा दिने या तिनका कुरालाई गम्भीरतापूर्वक नलिने विश्वास यहाँ गरिएको छ । आत्मसम्मानको लडाइँ लडिरहेको एउटा शक्तिले अपरिचित या गुमनाम व्यक्तिको निजी अभिव्यक्तिका पछाडि लाग्नु शोभनीय हुँदैन । दुवैतर्फबाट जनस्तरमा प्रकट यस्ता व्यवहारले हामीलाई या त भूपिका कविताको पात्र सिद्ध गर्दै छ, या चिनियाँ यात्री ह्वेनसाङले छैटौँ शताब्दीमा भेटेका ‘पुर्खा’का सन्तान नेपालदेखि दार्जिलिङसम्म छरिएर रहेको प्रमाणित गर्नेछ ।