छोरा गुमाएका बाबु प्रहरी प्रशासनबाट समेत पीडित

छोरा गुमाएका बाबु प्रहरी प्रशासनबाट समेत पीडित


वीरगञ्ज । आस्था नेपाल नामक सुधार केन्द्रमा दूव्र्यसनको कुलतबाट छुटकारा दिलाउन भनि भर्ना आप्mनो छोराको केन्द्रभित्रै हत्या गरिएको भन्दै न्याय दिलाइदिन पीडित परिवारले आग्रह गरेको छ । वीरगंज–१९, (हाल वडा नं.१६) नगवानिवासी रामबाबु प्रसाद कम्करले आप्mना २१ वर्षीय एक मात्र छोरा दिपुकुमार कम्करले आस्था नेपाल नामक संस्थाका संस्थापक दीपु बर्माले आफ्नो छोरालाई कुलतबाट मुक्त तुल्याउने भन्दै संस्थामा भर्ना गरेका तर त्यहीँ छोराको हत्या गरिएको आरोप लगाए ।

बर्माले तीन महिनाभित्र कुलतबाट छोरालाई कुलतबाट छुटकारा दिलाउने विश्वास दिलाएकाले तीन महिनाको लागि सुधार गृहमा राख्न आफूले अनुमति दिएको उनको भनाई छ । तर उक्त सुधार केन्द्रभित्र विभिन्न दुःख, यातना दिने गरेको कुरा छोराबाट गुनासो आएपश्चात छोरा घर फर्काउन खोज्दा नदिएको उनको भनाई छ ।

पीडित रामबाबु कम्करका अनुसार गत जेठ १६ गते विहान ७ः३० देखि ८ बजेको समयमा एकाएक सुधार केन्द्रका दीपु वर्माले फोन गरी तपाईंको छोराको अवस्था चिन्ताजनक रहेकोले तुरुन्तै नारायणी अस्पतालमा आउनु भन्ने जानकारी गराएपछि त्यहाँ पुग्दा छोराको मृत्यु भइसकेको भन्ने कुरा अस्पतालका चिकित्सकले जानकारी दिएका थिए । छोराको मृत्यु कसरी भयो भनी प्रश्न गर्दा अस्पतालमा ल्याउनुअगावै मृत्यु भइसकेको जवाफ चिकित्सकले दिएका थिए ।

मृतक छोराको शरीर हेर्दा शरीरमा ब्लेडले चिरेको तथा शरीरको अन्य भागमा समेत चोटपटक लागेको र निजको टाउको समेत त्यही दिन मुण्डन गरी नयाँ लुगा लगाएको देखेर आफू दुःखद आश्चार्यमा परेको उनले बताए । बर्मासँग छोराको मृत्युबारे जिज्ञासा राख्दा उनले प्रष्ट जवाफ नदिएको र गोलमटोल जवाफ दिएर टार्न खोजेको रामबाबुको भनाई छ ।

मृतक छोराको अन्तिम संस्कार सकेपछि जेठ २२ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराउन जाँदा प्रहरी नायब उपरीक्षक चक्रराज जोशीसँग सम्पर्क गर्दा जाहेरी दर्ता गर्नुको साटो प्रहरीले उल्टै हप्काएको पीडितको आरोप छ । बाध्य भई जिल्ला हुलाक कार्यालय पर्सामार्फत जाहेरीलाई रजिष्ट्री दर्ता गराउँदा समेत प्रहरी प्रशासनबाट हालसम्म कुनै किसमको छानबिन र अनुसन्धान नगरी अपराधलाई प्रोत्साहन तथा पीडितलाई झन् पीडा हुने काम गरिरहेकाले उच्च स्तरीय छानबिन आयोग गठन गरी वास्तविक अपराधीलाई पत्ता लगाएर न्याय दिलाउन पहल गरिदिन पीडित कम्करले मानवअधिकारवादी संघसंस्था, समाजसेवी, राजनीतिक दल, बुद्धिजिवी, संचारकर्मी लगायतसँग आग्रह गरेका छन् ।