दशरथ चन्द मेधावी प्रतिभा पुरस्कार

दशरथ चन्द मेधावी प्रतिभा पुरस्कार


सहिद दशरथ चन्द मेमोरियल ट्रस्टले आठ खेलाडीलाई दशरथ चन्द मेधावी खेलाडी प्रतिभा पुरस्कारबाट सम्मान गरेको छ । सहिद दशरथ चन्दको १ सय १५औँ जन्मजयन्तीका अवसरमा राष्ट्रिय खेलकुद परिषद् त्रिपुरेश्वर हातामा रहेको सहिद चन्दको पूर्णकदको सालिक रहेको स्थानमा आयोजित कार्यक्रममा क्षेत्रगत रूपमा ५ र पाराबाट २ खेलाडी नगदसहित सम्मानित भएका हुन् । २०७३ सालमा भएका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा खेलाडीलाई सम्मान गरिएको हो ।

पूर्वाञ्चलबाट फुटबलका नवयुग श्रेष्ठ, मध्यमाञ्चलबाट भलिबलकी प्रतिभा माली, पश्चिमाञ्चलबाट एथलेटिक्सकी विपना परियार, मध्यपश्चिमाञ्चलबाट क्रिकेटकी नेरी थापा र सुदूरपश्चिमाञ्चलबाट तेक्वान्दोकी ओलम्पियन निशा रावल सम्मानित भए । पारातर्फ तेक्वान्दोकी सीता भण्डारी तथा एथलेटिक्स र क्रिकेटका विक्रमबहादुर राना पुरस्कृत भए । ट्रस्टले २०६२ सालदेखि खेलाडीलाई पुरस्कृत गर्दै आएकोमा पहिलोपटक पारा विधामा खेलाडीलाई सम्मान गरेको हो । त्यस्तै मरणोपरान्त अल्ट्राधावक एवम् पर्वतारोही सञ्जय पण्डितलाई पनि सोही अवसरमा सम्मान गरिएको थियो । सञ्जयको असार ३ गते अमेरिकाको अलस्कास्थित माउन्ट डेनाली हिमाल आरोहण क्रममा ‘हाई अल्टिच्युट’का कारण निधन भएको थियो ।

सम्मानित सबैलाई जनही १० हजार रुपैयाँ र प्रशंसापत्र प्रदान गरिएको थियो । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, राखेपका सदस्यसचिव केशवकुमार विष्ट, ट्रष्टका अध्यक्ष कर्णबहादुर चन्द र नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान), राखेपका कार्यकारी निर्देशक डा. प्रकाश प्रधानले खेलाडीलाई सम्मान गरेका थिए ।