यो प्रोपोगाण्डा मात्रै हो : राणा

यो प्रोपोगाण्डा मात्रै हो : राणा


राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले लामा टेन्डी शेर्पालाई भौतिक तथा निर्माण तयारी समितिको संयोजक बनाएपछि नेपाल ओलम्पिक कमिटीका अध्यक्ष रुक्मशमशेर राणाले यसलाई प्रोपोगाण्डाको संज्ञा दिएका छन् । ओलम्पिक भवनबाट लखेटिएर सडकमा पुगेपछि आफ्नो अस्तित्व जोगाउन राखेपको आडमा जीवनराम एन्ड कम्पनीले यस्तो हर्कत गरेको राणाले बताएका छन् । अहिले तोकिएको समयमा नेपालमा १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) हुने कुनै आधार छैन । यस्तो अवस्थामा लामाको संयोजकत्वमा समिति गठन हुनु रहस्यमय र गैरकानुनी छ– राणाले भने ।

त्यस्तै राणाले लामाको नियुक्तिलाई राखेपको ‘जोक’को रूपमा परिभाषित गरेका छन् । जोक सुन्दा रमाइलो हुन्छ, सबै हाँस्छन् । त्यस्तै नियमविपरीत कार्य गरेर राखेपले खेलकुदमा क्षणिक मनोरञ्जन गराउने कार्य गरेको छ, जुन साँच्चिकै हास्यास्पद छ । राज्यले गठन गरेको मूल आयोजक समिति र मूल समितिले गठन गरेको समिति हुँदाहँुदै राखेपले बिनाबादल वर्षात् गर्ने दुःस्साहस गरेको राणाको आरोप थियो । यो सबै जीवनरामको प्लान हो । चौतर्फी दबाव परेपछि अवैधानिक ओलम्पिक कमिटीलाई बचाउन राखेपले चलेको चाल हो । अन्यथा यतिबेला राखेपको उपाध्यक्षलाई संयोजक बनाउनुको कारण के हुन सक्छ राणाको प्रश्न थियो ।

१३औँ साग भनेको अन्तर्राष्ट्रिय तथा अफिसियल प्रतियोगिता हो । त्यहाँ राज्यको सहभागिता र निर्णयबिना केही हुन सक्तैन । साग भनेको व्यक्तिविशेषले नभैई राज्यले गर्ने हो । त्यसैले व्यक्तिविशेषको निर्णय हावादारी मात्रै हुन्छ अर्थात् त्यस्तो निर्णयले कुनै औचित्य राख्दैन । यहाँ आफ्नो पार्टीको सदस्यसचिव छ भन्दैमा जताभावी निर्णय गरेर खेलकुदको हुर्मत लिने कार्य भएको छ । यस्तो निर्णयले व्यक्तिलाई मात्र फाइदा हुन्छ, राष्ट्रलाई हँुदैन । सदस्यसचिवले किन र के लागि यस्तो गैरकानुनी र गैरजिम्मेवारी निर्णय गरिरहेका छन् मैले बुझ्न सकेको छैन । खेलकुद एमाले पार्टीको मात्रै होइन, त्यस्तै सदस्यसचिव पनि एमालेको मात्रै होइन, ऊ खेलकुदको साझा व्यक्तित्व हो । उसले एमालेको मात्र नभई समग्र खेलकुदको हित र विकासका लागि सोच्नुपर्छ । तर, विष्ट यसमा असफल भएका छन्, खेलकुदलाई खेलाडीको भन्दा पनि एमालेको थलो बनाउन तल्लीन छन् । अन्यथा लामालाई सङ्घसंस्था दर्ता, खारेज र पूर्वाधार तथा निर्माण समितिको संयोजक कदापि बनाउने थिएनन्– राणाको कथन थियो ।

नेपालमा १३औँ साग कहिले हुन्छ या हँुदैन त्यसको कुनै टुङ्गो छैन । तर, १३औँ सागको नाममा व्यक्तिगत फाइदा लिने कार्य भइरहेको राणाले आरोप लगाएका छन् । राणाले अवैधानिक ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले १३औँ सागको बहाना बनाउँदै अदालतलाई समेत गुहराहमा पारेको खुलासा गरेका छन् । राज्यले १३औँ सागबारे कुनै टीका–टिप्पणी नगरे पनि अदालतमा उनीहरूले यसलाई बहसको विषय बनाएका छन् । जसले अदालतसमेत भ्रमित हुन पुगेको छ ।