प्रचण्डलाई बधाई !

प्रचण्डलाई बधाई !


– देवप्रकाश त्रिपाठी

उनले अवलम्बन गरेको सिद्धान्त, विचार, नीति, कार्यक्रम, सोच र व्यवहारप्रति मौन रहेर उनको आफ्नै सफलता र असफलताका आधारमा विश्लेषण गर्दा प्रचण्ड एकपटक फेरि बधाईका निम्ति उपयुक्त पात्र बनेका छन् । ०६५ मा प्रधानमन्त्री रहँदा नेपाली सेनामा ‘हात हालेपछि’ ओरालो लागेका प्रचण्ड ०७० को संविधानसभा (दोस्रो) निर्वाचनसम्म आइपुग्दा राजनीतिक रूपमा ‘सुकुम्बासी’ बनेका थिए । उक्त निर्वाचन परिणामले लज्जास्पद अवस्थामा पुगेको माओवादी त्यतिबेला थप सकसमा प¥यो, जब पहिलो र दोस्रो ठूला दलहरू नेपाली काङ्ग्रेस र एमालेको गठबन्धनबाट ‘शक्तिशाली सरकार’को जन्म भयो । क्रमगत रूपमा तेस्रो ठूलो दल बनेको भए पनि दोस्रो ठूलो दलसँगको लामो अन्तरले माओवादीलाई यति धेरै तल पु¥याएको महसुस गराएको थियो कि अब फेरि माओवादीमा पालुवा लाग्ने आशा नै मरणासन्न भएको ठानिन्थ्यो । आफूसँग असहमत र सहयोगी बन्न नसक्नेहरूको गर्धन र गालामा प्रहार गर्दै रोल्पादेखि सिंहदरबारसम्मको यात्रा तय गरेका प्रचण्ड सार्वजनिक रूपमै थप्पड खाने स्तरमा झरेका थिए । वचनको अतिसारका बिरामी उनी काँध हल्लाई–हल्लाई जुन फुर्तीका साथ प्रस्तुत हुन्थे ०७० को निर्वाचन परिणामले काँधको हल्लिने गतिलाई सुस्त बनाइदिएको थियो ।

हिजोसम्म प्रचण्डलाई माओ त्से तुङ, स्टालिन, महिषासुर र रावणका रूपमा ‘प्रशस्ति’ गाएर नथाक्नेहरू उनलाई देखेपछि शिर मोड्न थालेका थिए । आफ्नै कार्यकर्ता र समर्थकले प्रचण्डबाट टाढिएर आफ्नो सुरक्षित भविष्यको खोजी गर्न सुरु गरिसकेका थिए । केही समय अघिसम्म आफू माओवादी भएकोमा गौरव गर्नेहरू, प्रचण्डसँग एकाधपटक भेटघाट गर्न पाउँदा सौभाग्यशाली ठान्नेहरू, प्रचण्डको खुसीमा रमाउनेहरू रातारात यसरी पल्टिएका थिए कि ‘हिजोको प्रचण्ड’सँग फेरि भेट हुने आशा प्रचण्ड स्वयम्ले मार्नुपर्नेजस्तो स्थिति देखापरेको थियो । प्रसिद्ध गायक मुरलीधरको गीत ‘उडायो सपना सबै हुरीले…’ प्रचण्डको वास्तविक जीवनमा अनुवाद हुन पुगेको प्रतीत हुन्थ्यो । काङ्ग्रेस र एमालेबीचको गठबन्धन कायम रहँदासम्म अरू क–कसको के–के चल्न छोडेको थियो कुन्नि ! नेपालभित्र चाहिँ माओवादी र मधेसकेन्द्रित समूहहरू खोटो सिक्काझैँ सबैतिरबाट फालिने–हुत्याइने कोटिमा परेका थिए ।

दोस्रो संविधानसभा चुनाव परिणामले घाइते बनेको माओवादी त्यसबेला थप आहत भयो, जब भारतमा त्यहाँको राष्ट्रवादी शक्ति भारतीय जनता पार्टी पूर्ण बहुमतका साथ सत्तामा पुग्यो । सङ्घीयता र धर्मनिरपेक्षतालाई महान् उपलब्धि ठान्ने माओवादी लोकतान्त्रिक गणतन्त्र मात्रको रक्षा गर्न पनि नसकिने त्रासले निथु्रक्क भिज्यो । त्यसअघि क्रान्तिका धेरै ठूलाठूला गफ दिने माओवादी र माओवादीलाई काँध दिने अदृश्य शक्ति काङ्ग्रेस र एमालेलाई मान्य हुने बिन्दुमा सहमति जनाएर तत्काल संविधान जारी गरी ‘उपलब्धिहरूको रक्षा’ गर्ने निष्कर्षमा पुगे । हो, त्यहीँबाट प्रचण्डको पुनरुत्थान ‘यात्रा’ प्रारम्भ भएको हो ।

संविधान बनाउने र जारी गर्ने ‘उत्कट’ अभियान सुरु भएलगत्तै वर्षौंदेखि ‘कमा’ र ‘पूर्णविराम’का निहुँमा समेत विवाद गर्दै आएका दलहरू चामत्कारिक ढङ्गले रातारात एकताबद्ध हुन पुगे । अरू त अरू राजसंस्था र हिन्दूराष्ट्रलाई मुख्य एजेण्डा बनाउने राप्रपा नेपाललाई समेत गणतन्त्रात्मक र धर्मनिरपेक्ष संविधान जारी गर्ने प्रक्रियामा सामेल गराउने सफलता प्रचण्डहरूलाई मिल्यो । दृश्य र अदृश्य जुनसुकै शक्ति यस निम्ति लागिपरेका भए पनि राजनीतिक रूपमा यो प्रचण्डकै सफलता थियो । प्रचण्डलाई संविधान जारी गर्ने सफलता मिलेलगत्तै लगातार अन्य दुई सफलता प्राप्त भयो– काङ्ग्रेस र एमालेको गठबन्धन टुटाउने र केपी ओली (एमाले)लाई बोकेर सत्तारुढ हुने । यसप्रकारको सफलता हासिल गरेको वर्ष दिन नपुग्दै प्रचण्ड दुई ठूला दलको टाउकोमा टेकेर सरकारको नेतृत्व हात पार्न सफल भएका हुन् । खडेरीको झारझैँ सुक्दै गएको माओवादीमा त्यसपश्चात् सत्ताप्राप्तिसँगै हरियाली बहाल हुन पुगेको हो । फुटेर चार–पाँच भागमा विभाजित माओवादी आन्दोलनको मूल प्रवाह बन्न प्रचण्डबाट भइरहेको प्रयास स्थानीय निर्वाचनसम्म आइपुग्दा धेरै हदसम्म सफल भयो । प्रचण्डको भूमिकाले संसद्मा पहिलो या दोस्रो ठूलो दल बन्नुभन्दा तेस्रो दल बनेकै लाभकारी हुने रोचक सन्देश पनि प्रवाहित गराएको छ । एमालेसँगको गठबन्धनमा रहिरहेको भए प्रचण्डलाई न सरकारको नेतृत्व प्राप्त हुन सहज थियो न चुनावमा ‘अहिले प्राप्त’ हैसियत पाउन सम्भव थियो । काङ्ग्रेसलाई ‘घोडा’ बनाएर प्रचण्डले प्रधानमन्त्रीको जिम्मेवारी मात्र पाएनन् देशको तेस्रो ठूलो शक्तिको दर्जा पुनः कायम गरेका छन् ।

प्रचण्ड जोसँग मिल्न जान्छन् अन्ततः तिनकै भविष्य चकनाचुर गरिदिन्छन्, तथ्यहरूले यस्तै देखाएको छ । विगतमा राजासँग मिले, राजतन्त्र समाप्त भयो । गिरिजाप्रसादसँग मिले गिरिजालाई नै सिध्याइदिए । केपी ओलीलाई बोकेर राष्ट्रवादी नेता भन्दै आकाशमा पु¥याए र आखिरमा ओलीलाई आकाशबाट खसाउने पनि प्रचण्ड नै भए । एक वर्षदेखि शेरबहादुर देउवालाई काँधमा बोकेर प्रचण्ड हिँड्दै छन्, प्रचण्डद्वारा बोकिनुको तात्कालिक परिणाम काङ्गे्रसले भोग्दै छ, दीर्घकालिक रूपमा देउवा र काङ्गे्रसले कति ठूलो र गहिरो क्षति व्यहोर्नुपर्ने हो, प्रतीक्षा त्यसैको हुँदै छ ।

हालसम्मको चुनावी परिणामले प्राविधिक रूपमा एमाले विजयी भएको देखाएको छ र तत्कालका लागि एमालेको यो ठूलो सफलता पनि हो । तर, जीवनमरणको दोसाँधमा पुगेको माओवादीले पुनर्जीवन पाउँदा स्वस्थ मानिसले दौडमा जितेको भन्दा कैयन गुणा बढी महत्व पाउने स्थिति बनेको छ । बाह्रबुँदे सम्झौतादेखि गणतन्त्रको घोषणासम्म पुग्न गिरिजाप्रसाद कोइरालामार्फत काङ्ग्रेसलाई उपयोग गर्न सफल प्रचण्डले शेरबहादुर देउवा नेतृत्वको काङ्ग्रेसलाई प्रयोग–उपयोग गरी आफ्नो राजनीतिक जीवनमा ‘बहार पुनस्र्थापन’ गर्ने सफलता प्राप्त गरेका छन् । उतिबेला (२०६२–२०६५) गिरिजाप्रसाद कोइरालालाई काङ्ग्रेसको मौलिक धरातलबाट खसाएर गणतन्त्रवादी बनाइदिएका थिए । गिरिजालाई गणतन्त्रवादी बनाउन अरू जो–जसले जस्तो भूमिका निर्वाह गरेका भए पनि प्रचण्डले दिएको आजीवन राष्ट्रपति बनाइदिने वचनबद्धताले निर्णायक काम गरेको हो । वि.सं. २०६४ सालमा (पहिलो) संविधानसभा निर्वाचन गराइँदा उक्त निर्वाचनपछि सरकार बदलिने सङ्केत प्रचण्डले गिरिजालाई दिएका थिएनन् । बरु संविधानसभाले संविधान निर्माण गरी जारी नगरिँदासम्म सरकारको नेतृत्व गिरिजाप्रसाद कोइरालाकै रहने वचन प्रचण्डले कोइरालालाई दिएका थिए ।

गिरिजालाई राष्ट्रपति पद (उधारोमा) दिएर गणतन्त्र साटेका प्रचण्डले ‘बाँचुञ्जेल गिरिजाप्रसाद’ नै राष्ट्रपति पदमा रहिरहने प्रतिबद्धता पनि जाहेर गरेका थिए । यसरी प्रचण्डले गिरिजासँग लिनुपर्ने र लिन सकिने जति सबै लिएपछि काङ्ग्रेसलाई मुख्य दुस्मन किटान गर्न उनले ढिलाइ गरेनन् । पहिले राजा र राजपरिवारलाई उपयोग गरेर कालान्तरमा राजतन्त्रकै अस्तित्व मेट्न सफल उनले २०६४ को संविधानसभा निर्वाचनसम्म आइपुग्दा काङ्ग्रेस र एमाले दुवैलाई ‘सिध्याउने’ सफलता पाएका हुन् । गणतन्त्र घोषणासम्म गिरिजा र भारतलाई चक्मा दिने प्रचण्ड २०६५ मा आफू प्रधानमन्त्री बनिसकेपछि दुवैलाई छोडी चीनसँग लहस्सिन पुगेका थिए । यही बिन्दुमा आइपुगेपछि प्रचण्ड सङ्कटमा परेका हुन् र, उनको ओरालो यात्रा पनि यहीँबाट सुरु भएको थियो । स्थानीय निर्वाचन सम्पन्न हुँदा प्रचण्डले संविधान कार्यान्वयन भएको दाबी गर्न त पाउने नै भए, पार्टी र आफ्नो हैसियत पुनर्वहाली गर्ने सफलता पनि यिनलाई मिलेको छ ।

०७० सालको निर्वाचन (संविधानसभा) पछि प्रचण्ड पतनोन्मुख र कमल थापा नेतृत्वको राप्रपा नेपाल उत्थानोन्मुख भएको विश्लेषण हुन थालेको थियो । यस्तो विश्लेषण गर्नेहरूले भविष्यमा हुने निर्वाचन परिणामले माओवादीलाई अरू तल लैजाने र कमल थापाहरूलाई थप सफलता मिल्ने निष्कर्ष पनि निकाल्न थालेका थिए । तेस्रो शक्ति बन्न राप्रपा नेपाल र माओवादीबीच प्रतिस्पर्धा हुनेसम्मको अनुमान विश्लेषकहरूबाट हुन थालेको थियो । तर, बितेका डेढ वर्षभित्रै प्रचण्डले उक्त अनुमान गलत प्रमाणित गरिदिए । राप्रपा नेपाल, जसले गाई चुनावचिह्न लिएर राजसंस्थाको पुनर्वहाली, हिन्दूराष्ट्र र सङ्घीयताविरोधी प्रवृत्ति र सिद्धान्तको प्रतिनिधित्व गर्दथ्यो, यही विचारका कारण उक्त दललाई संसद्को चौथो शक्तिका रूपमा स्थापित हुने ‘सौभाग्य’ प्राप्त भएको थियो, त्यसलाई ‘हिलोमा लतपतिएको गोरु’ बनाइदिए प्रचण्डले । कमल थापा र अन्य विभिन्न आकार–प्रकारका पञ्चहरूले नेतृत्व गरेको राप्रपालाई सत्ता र अरू कुन्नि केको चास्नीमा डुबाएर रङ र स्वाद परिवर्तन गराउने कार्यको जस (यश) केपी ओलीलाई पनि दिन सकिन्छ, तर यसका मुख्य सूत्रधारचाहिँ प्रचण्ड नै हुन् । प्रचण्डहरूले राप्रपालाई एउटा कुनै चुनावमा हराएरभन्दा तिनको राजनीतिक एवम् वैचारिक एजेण्डा ‘धुलोपिठो’ बनाएर आफूलाई सफल बनाएका हुन् । प्रचण्ड जोसँग मिल्न जान्छन् अन्ततः तिनकै भविष्य चकनाचुर गरिदिन्छन्, तथ्यहरूले यस्तै देखाएको छ । विगतमा राजासँग मिले, राजतन्त्र समाप्त भयो । गिरिजाप्रसादसँग मिले गिरिजालाई नै सिध्याइदिए । केपी ओलीलाई बोकेर राष्ट्रवादी नेता भन्दै आकाशमा पु¥याए र आखिरमा ओलीलाई आकाशबाट खसाउने पनि प्रचण्ड नै भए । एक वर्षदेखि शेरबहादुर देउवालाई काँधमा बोकेर प्रचण्ड हिँड्दै छन्, प्रचण्डद्वारा बोकिनुको तात्कालिक परिणाम काङ्ग्रेसले भोग्दै छ, दीर्घकालिक रूपमा देउवा र काङ्ग्रेसले कति ठूलो र गहिरो क्षति व्यहोर्नुपर्ने हो, प्रतीक्षा त्यसैको हुँदै छ ।

हिंसात्मक युद्धकालको दश वर्ष र खुला राजनीतिमा आएको दश वर्षमा प्रचण्डले निर्वाह गरेको भूमिका, उनको सोच तथा कार्यशैलीले उनमा बिगार्ने–भत्काउने र विपक्षीहरूलाई तहसनहस बनाउने क्षमता यथेष्ट भएको, तर सिर्जना गर्ने र देश बनाउने ज्ञान ठ्याम्मै नरहेको सिद्ध गरेको छ । तुच्छ सत्तास्वार्थका निम्ति अपनाइने प्रचण्ड–शैलीले देश बन्ने, शान्ति, स्थिरता र समृद्धि प्राप्त हुने सम्भावना नभए पनि कुनै न कुनै प्रकारले उनी आफ्नो भूमिका स्थापित गर्न सफल हुन सक्छन् भन्ने देखाएको छ । देश बन्नु र प्रचण्ड सफल हुनु नितान्त भिन्न पहलु हुन् । तर, काङ्ग्रेस र एमालेको उच्च तहका नेताहरूको अदूरदर्शिता र सत्तालोलुप प्रवृत्तिका कारण प्रचण्ड पटकपटक सफल भइरहने ‘खतरा’ देखिएको छ । देशको असफलता र बर्बादीको ‘भ्वाङ’ पारे पनि प्रचण्ड आफूचाहिँ ‘सफल’ भएका छन्, त्यसनिम्ति उनलाई ‘बधाई’ भन्न माओवादीको समर्थक हुनुपर्ने छैन । देश असफल भए पनि आफू ‘सफल’ हुने कौशल प्रस्तुत गरेर प्रचण्ड वास्तवमै बधाईको पात्र बनेका छन् ।