उपलब्धि नदेखिएपछि प्रशिक्षण नै रोकिने

उपलब्धि नदेखिएपछि प्रशिक्षण नै रोकिने


नेपालमा आयोजना हुने १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) र इन्डोनेसियामा आयोजना हुने १८औँ एसियाली खेलकुद प्रतियोगितालाई मध्यनजर राख्दै राष्ट्रिय खेलकुद परिषद्ले राष्ट्रिय टिम तयारी समितिको गठन गरेको थियो । राखेपले उक्त राष्ट्रिय टिम तयारीको निर्देशकमा रिम रानाभाटलाई नियुक्त गर्दै गत फागुन २६ गतेदेखि प्रशिक्षणको शुभारम्भ गरेको थियो । फागुन २६ गतेदेखि शुभारम्भ भएको उक्त प्रशिक्षणमा सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता र भारतको गुवाहाटी र सिलोङमा सम्पन्न १२औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा उत्कृष्ट प्रदर्शन गर्ने खेलका खेलाडीलाई समावेश गरिएको थियो ।

शुभारम्भमा १२ वटा खेल तेक्वान्दो, बक्सिङ, कराते, आर्चरी, सुटिङ, उसु, भारोत्तोलन, कुस्ती, टेबुलटेनिस, एथलेटिक्स, जुडो र ब्याडमिन्टन समावेश गराउँदै प्रशिक्षण दिए पनि त्यसपछि दुईवटा खेल पौडी र ट्रायाथलन थप गरिएको थियो । उक्त राष्ट्रिय तयारी टिमअन्तर्गत महिला र पुरुष गरी विभिन्न खेलका १ सय ६९ जना खेलाडीले दैनिक रूपमा प्रशिक्षण गर्दै आएका थिए । ती खेलाडीलाई राखेपले दैनिक ३ सय रुपैयाँको डाइटभत्ता दिँदै आएको थियो । उपत्यकाकेन्द्रित प्रशिक्षणमा उपत्यकाबाहिरका खेलाडीलाई भने बसोबास खर्चसहित ६ सय रुपैयाँ प्रदान गरिएको थियो । प्रशिक्षण लिने सम्पूर्ण खेलाडीले २ सय रुपैयाँको डाइट खानुपर्ने व्यवस्था मिलाएको थियो । यदि कुनै खेलाडीले उक्त डाइट नखाए उनीहरूको भत्ताबाट कटौती गर्ने गरिएको थियो । एक सय रुपैयाँचाहिँ खेलाडीले आफूले मनखुसी गर्न पाउने व्यवस्था थियो ।

वर्तमान अवस्थामा नेपालमा हुने भनिएको १३औँ साग अन्योलमा परेपछि राष्ट्रिय खेलकुद परिषद्ले राष्ट्रिय तयारी टिम प्रशिक्षण बन्द गर्ने जानकारीमा आएको छ । प्राप्त जानकारीअनुसार विगत चार महिनादेखि निरन्तर सञ्चालन हुँदै आएको प्रशिक्षण यही साउन १ गतेदेखि बन्द हुँदै छ । यो विषयमा राखेपले औपचारिक जानकारी भने गराएको छैन । खेलकुदमा चलेको चर्चाअनुुसार चार महिनाको प्रशिक्षण सोचेजस्तो उपलब्धिमूलक नभएपछि राखेपले प्रशिक्षण बन्द गर्न लागेको हो । साथै राखेपले वर्तमान अवस्थामा बजेटको अभाव र बीचमा पर्ने चाडवाडलाई मध्यनजर गर्दै आगामी मङ्सिर १५ गतेदेखि पुनः राष्ट्रिय टिम तयारीको प्रशिक्षण शुभारम्भ गर्ने स्रोतले जानकारी गराएको छ ।

राखेपले राष्ट्रिय टिमको प्रशिक्षण साउन १ गतेदेखि बन्द गर्ने निर्णय गरेपछि सम्बन्धित १४ खेलका प्रशिक्षकले आक्रोश व्यक्त गरेका छन् । ती प्रशिक्षकले राखेपको यो निर्णयले चार महिनासम्म दिएको प्रशिक्षण प्रभावहीन हुने बताएका छन् । बल्लबल्ल खेलाडी स्तरमा सुधार आएको थियो, यस्तो अवस्थामा प्रशिक्षण बन्द हुनु खेलाडी र खेलकुदका लागि दुर्भाग्य हुने उनीहरूले बताएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका अध्यक्ष तथा करातेका प्रशिक्षक दीपक श्रेष्ठले प्रशिक्षण बन्द हुने हल्ला आफूले पनि सुनेको बताउँदै प्रशिक्षण बन्द गर्न नहुने प्रतिक्रिया दिएका छन् । ‘हामीले फागुनमा शून्यबाट प्रशिक्षण सुरु गरेका थियौँ, अहिले यसमा निकै सुधार भएको छ, तर बीचैमा प्रशिक्षण बन्द हुँदा यसले खेलाडीको स्तरमा निकै प्रभाव पर्छ । साँचो रूपमा भन्नुपर्दा पाँच महिनापछि उनीहरूको स्तर पुनः शून्यमा झर्छ । त्यसैले राखेपको यो निर्णय खेलकुद र खेलाडीको हितमा छैन,’ श्रेष्ठले भने । फेरि शून्यबाट शुभारम्भ गर्दा औचित्यहीन हुने बताउँदै श्रेष्ठले यसको बारेमा आफूले सदस्यसचिव विष्टसँग कुराकानी गर्ने बताए ।

विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितालाई लक्षित गरी पूर्वसदस्यसचिव युवराज लामाले ०६९ साल साउनदेखि राष्ट्रिय तयारी टिमको प्रशिक्षण शुभारम्भ गरेका थिए । त्यतिबेला लामाले सरकारबाट बजेटको व्यवस्था गराउँदै प्रशिक्षणमा रहेका खेलाडीलाई छात्रावासको व्यवस्थासमेत गरेका थिए । जुन प्रशिक्षण १२औँ साग तोकिएको समयमा नभएपछि बीचैमा तुहिएको थियो । सरकारको करोडौँको लगानी बालुवामा पानी हालेसरि भएको थियो । यसपटक पनि त्यस्तै स्थिति सिर्जना भएपछि राखेपले राष्ट्रिय टिम तयारी प्रशिक्षण बन्द गर्ने निर्णय गरेको बुझिएको छ । हेरौँ अब राखेपले मङ्सिर १५ गते पुनः प्रशिक्षण सुरु गर्छ कि गर्दैन ? गरे राम्रो, नगरे अन्यथा मान्नुपर्ने छैन ।
– श्रीविक्रम भण्डारी