– श्रीविक्रम भण्डारी
युवा तथा खेलकुद मन्त्रालयमा सचिवको रूपमा कार्यभार सम्हालेलगत्तै सचिव महेश्वर दाहाल विवादमा परेका थिए । मन्त्रालयमा सचिवको रूपमा आउनेबित्तिकै नेपाल ओलम्पिक कमिटीका विषयमा दाहालले सर्वोच्चद्वारा अवैधानिक घोषित जीवनराम एन्ड कम्पनीसँग साँठगाँठ गरेपछि दाहाल विवादमा तानिएका थिए । तत्कालीन खेलकुदमन्त्री दलजित श्रीपालीलाई पथभ्रष्ट बनाउने कार्यमा त्यसपछि दाहालले विशेष भूमिका निभाउँदै सेतुको कार्य गरेका थिए । स्मरणीय छ, तत्कालीन मन्त्रालयका सहसचिव चूडामणि पौडेलले जीवनरामसँग दाहालको साइनो गाँस्न खलनायकी भूमिका निभाएका थिए । सर्वोच्च अदालत फैसला कार्यान्वयन निर्देशनालयले नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयलाई २०६७ साल असोज १८ गते भएको फैसला कार्यान्वयन गर्न दिएको निर्देशनलाई त्यसपछि सचिव दाहालले अनदेखी र अनसुनी गर्दै आएका छन् । परिणामतः ओलम्पिक कमिटीको विवाद ज्युँको त्युँमा रहन दाहाल प्रमुख कारकतत्व बनेका छन् ।
दाहाल एमाले कार्यकर्ता भएकै कारणले जीवनरामसँग गहिरो सम्बन्ध गाँस्दै ओलम्पिक कमिटीको विषयमा पर्दा हाल्दै आफ्नो व्यक्तिगत फाइदा उठाउँदै आएका छन् । दाहालले अवैधानिक ओलम्पिक कमिटीका पदाधिकारीसँग रसिया भ्रमणमा गएर यसलाई पुष्टि गरेका छन् । साथै यो कार्यलाई निरन्तरता दिँदै नेपाल सरकार, खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्लाई समेत बाइपास गर्दै दाहालले भ्रमको खेती गरेका थिए । यसको पुष्टि अमेरिकाको पोर्टल्यान्डमा भएको स्थानीय क्लबको कार्यक्रममा उनले दिएको अभिव्यक्तिबाट पनि हुन्छ । उनले त्यहाँ गैरजिम्मेवारीको पराकाष्ठा नाघ्दै राखेपमा दर्ता नै नभएको क्लबलाई नेपाल सरकार सहयोग गर्न आतुर रहेको बताएका थिए ।
युवा तथा खेलकुद मन्त्रालय नेतृत्वविहीन अवस्थामा रहेको र सचिव दाहालले मन्त्रीको कार्यभारसमेत सम्हालेको अवस्था छ । तर, उनले यो समयमा पनि विवादरहित कार्य गर्नुभन्दा विवाद आउने कार्यलाई प्रश्रय दिएको उनले गरेका हर्कतले प्रमाणित गरेका छन् । दाहालले नुनको सोझो गर्ने क्रममा अनावश्यक रूपमा मन्त्रालयमा बैठक राखेर आफ्नो पदीय दायित्वमा समेत प्रश्नचिह्न खडा गरेका छन् । आगामी वर्ष १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को आयोजनाका लागि नेपालले झन्डा बोकेको थियो । तर, अहिले ६ महिनाको समय मात्र बाँकी रहँदासमेत १३औँ सागका लागि कुनै कामकारबाही नेपाल सरकारले अगाडि बढाएको छैन । स्मरणीय छ, सरकारले बजेट भाषणमा समेत १३औँ आयोजना र बजेटबारे कुनै उल्लेख नगरेपछि १३औँ साग अहिले धरापमा परेको छ । हुनेभन्दा पनि नहुने प्रायः निश्चित भएको छ ।
यस्तो अवस्थामा सर्वोच्च अदालतको फैसला, गृह मन्त्रालयको आदेशबाट ओलम्पिक कमिटीको विवाद केही हदमा कार्यान्वयन भइरहेको अवस्थामा सरकारको एउटा निकाय युवा तथा खेलकुद मन्त्रालय फैसला कार्यान्वयनभन्दा गैरजिम्मेवारी कार्यमा अग्रसर हुनु खेलकुदका लागि दुर्भाग्य बनेको छ । प्रायजसो सचिव दाहालले १३औँ सागको नाममा अवैधानिक एनओसीका झुण्डहरूलाई मन्त्रालयमा बैठकमा बोलाई सर्वोच्चको फैसला र नेपाल सरकारलाई ठाडो चुनौती दिइराखेका छन् । सरकारको एक विशिष्ट श्रेणीको सचिवजस्तो मर्यादित व्यक्तिले कानुनको रक्षक हुनुपर्नेमा किन भक्षक भएर गैरकानुनी कार्यलाई बढावा दिइरहेका छन्– त्यो चर्चाको विषय बनेको छ । गृह मन्त्रालयबाट सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा सातदोबाटोस्थित एनओसी भवनमा रहने अवस्थामा पुगेका नेपाल ओलम्पिक कमिटीका अध्यक्ष रुक्मशमशेर राणालगायत विभिन्न पदाधिकारीले दाहालको यो गलत क्रियाकलाप बन्द गर्न र मुलुकको कानुन, सर्वोच्चको फैसलासमेतलाई ख्याल गर्न सुसूचित गराउँदा–गराउँदै पनि दाहालले अटेर गरेको सूत्रले बताएको छ ।
वैदेशिक भ्रमण भनेपछि मरिहत्ते गर्ने दाहालले आफ्नो स्वार्थ पूर्तिका लागि वैदेशिक भ्रमणका नाममा जथाभावी सम्झौता गर्दै आएको खुलासा भएको छ । सरकार परिवर्तन भई हाल शेरबहादुर देउवा प्रधानमन्त्री तथा युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारीसमेत सम्हालिरहेको अवस्थामा सचिव दाहालले आफूलाई जंगबहादुरको रूपमा प्रस्तुत गरेका छन् । अन्यथा यतिबेला १३औँ साग नेपालमा हुने कुनै आधार नभएको बेलामा उनले सागको आयोजनाको लागि दैनिक बैठक बोलाउनुको औचित्य के हो ? त्यो चर्चाको विषय बनेको छ । उक्त वैठकमा जीवनराम एन्ड कम्पनीका पदाधिकारी र बेलाबेलामा राखेपका सदस्यसचिव केशवकुमार विष्टको उपस्थिति रहने भए पनि त्यसले समग्र खेलकुदको विकास र विस्तारमा कुनै अर्थ नराख्ने खेलकुदका एक विज्ञले बताएका छन् ।
प्राप्त जानकारीअनुसार दाहाल मन्त्रालयको जिम्मेवारी सम्हालेपछि उनका गलत कार्य र रवैयाबाट मन्त्रालयका आमकर्मचारी आहत भएको बुझिएको छ । अरूको त के कुरा मन्त्रालयका सहसचिव रामप्रसाद थपलिया र अर्णप्रसाद न्यौपानेसमेत दाहालको कार्यबाट चिढिन पुगेको खबर प्राप्त भएको छ । पछिल्लो समय सचिव दाहालले आफ्नो कार्यमा विमति राख्ने सहसचिव रामप्रसाद थपलियालाई जीवनराम एन्ड कम्पनीमा प्रवेश गराउँदै भुटानको थिम्पुको यात्रा गराउन सफल भएका थिए । यसबाट मन्त्रालयका एक सहसचिव अर्णप्रसाद न्यौपाने विक्षिप्त हुँदै हाँस न कुुखुराको चालमा सचिव दाहालको गलत कार्यमा लालमोहर लगाउँदै आएको स्रोतको दाबी छ । सचिवले आयोजना गरेको बैठकमा बारम्बार एनओसीका अध्यक्ष जीवनराम भनी मन्त्रालयको निर्णय–पुस्तिकामा लेख्न उपसचिवस्तरका कर्मचारीलाई दबाब दिएको समाचार गत अङ्कमा नै घटना र विचारले सार्वजनिक गरिसकेको छ । कानुन कार्यान्वयनको मुख्य जिम्मेवारी पाएका सचिव दाहालले अवैधानिक एनओसीको आर्थिक र वैदेशिक लालचमा परी आफूलाई नाङ्गो रूपमा प्रस्तुत गरिरहेको कसैबाट छिपेको छैन । उक्त बैठकमा खेलकुद परिषद्का पूर्वाधार निर्माण शाखाका कर्मचारीहरू, प्रशासन विभाग र आर्थिक प्रशासन शाखाका कर्मचारी उपस्थित भए पनि अवैधानिक एनओसीसँग सहकार्य गर्न नहुने आवाज उठाउन नसक्नुका पछाडि ठूलो रहस्य र आर्थिक चलखेल भएको स्रोतले दाबी गरेको छ ।
दोस्रो चरणको निर्वाचनसमेत सम्पन्न भइसकेको परिप्रेक्ष्यमा तत्कालै सरकारको विस्तार हुने सङ्केत देखिएको छ । अब आउने युवा तथा खेलकुदमन्त्री जसले मन्त्रालय सम्हाल्नेछन, तब दिनहुँ गैरकानुनी कार्य गरेर सरकार र सर्वोच्च अदालतलाई समेत गुमराहमा राख्दै आएका दाहालले कस्तो जवाफ देलान्– त्यो प्रतीक्षाको विषय बनेको छ । दाहालको गलत कार्यको त्यतिबेला पर्दाफास हुनेछ, जब नवनियुक्त खेलकुदमन्त्रीले पद बहाल गर्नेछन् र मन्त्रालयमा दाहालबाट शोषित र पीडित कर्मचारीले उनीविरुद्ध मन्त्रीको कान फुक्नेछन् । त्यसबेला दाहालको सुरुवालमा बाँधेको इँजारले कत्तिको काम गर्नेछ त्यो हेर्न लायक हुनेछ ।
प्रतिक्रिया