समीक्षा बैठक छल्दै देउवा

समीक्षा बैठक छल्दै देउवा


स्थानीय निर्वाचनमा पार्टीले भोगेको परिणामबाट निराश र चिन्तित बनेका काङ्ग्रेस नेता एवम् कार्यकर्ता सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको कार्य–व्यवहारबाट थप आहत हुन पुगेका छन् । पार्टीका कार्यकर्ता निर्वाचनमा अपेक्षाकृत उपलब्धि हासिल हुन नसक्नुको कारण जान्न चाहन्छन् र नेताहरू केन्द्रीय कार्यसमितिको बैठक राखेर निर्वाचनको समीक्षा तत्काल गरिनुपर्छ भन्ने पक्षमा छन् । पहिलो चरणको निर्वाचनलगत्तै त्यसको समीक्षा गरिएको भए दोस्रो चरणको निर्वाचनमा पार्टीले ठूलो क्षति व्यहोर्नु नपर्ने अवस्था आउन सक्थ्यो भन्ने विश्वास नेताहरूको छ ।

तर, सभापति देउवाले दोस्रो चरणको निर्वाचन भएको दुई साता बितिसक्दा पनि केन्द्रीय समितिको बैठक राखेर समीक्षा गर्ने तत्परता लिएका छैनन् । सभापति देउवालाई भेटेर पटकपटक बैठक माग गर्दा पनि देउवाले बेवास्ता गरेको आरोप असन्तुष्ट पक्षले लगाएको छ । वरिष्ठ नेता रामचन्द्र पौडलसँग सभापति देउवाले साताभित्र दुईपटक एकल भेटवार्ता गरेका छन् । उक्त भेटवार्ताका क्रममा पौडेलले समीक्षा बैठकको कुरा उठाउँदा देउवाले ‘संविधान संशोधनपछि’ भन्ने जवाफ दिएको बताइन्छ । त्यस्तै मन्त्रिमण्डल विस्तार पनि ‘संविधान संशोधनपछि’ गर्ने भनी देउवाले उक्त विषयलाई समेत पन्छाउने गरेका छन् ।

काङ्ग्रेसको असन्तुष्ट पक्ष स्थानीय निर्वाचनमा काङ्गे्रसले अपेक्षाकृत परिणाम हासिल गर्न नसक्नुमा सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको सोच र कार्यशैली मुख्य जिम्मेवार रहेको ठान्दछ । निर्वाचनको पूर्वसन्ध्यामा ‘राजदूत नियुक्ति’ र ‘प्रहरी महानिरीक्षकको नियुक्ति’लगायतका विषयमा पार्टीको मूल नेतृत्व विवादमा पर्दा त्यसले आमजनतामा नकारात्मक मनोवैज्ञानिक प्रभाव पारेको ठान्ने असन्तुष्ट पक्ष यिनै कारणबाट काङ्ग्रे्रसले पराजय व्यहोर्नुपरेको भन्ने पक्षमा भने देखिँदैन । पार्टीका तर्फबाट उम्मेदवार चयन गर्दा मूल नेतृत्वले वैज्ञानिक र व्यावहारिक विधि अवलम्बन नगरेको, मतदातालाई आकर्षित गर्ने कार्यक्रम र नारा तर्जुमा गर्न नसकेको, हचुवाको भरमा मनोमानी किसिमबाट माओवादीसँग चुनावी गठबन्धन गरेकोे र सम्भावित अन्तर्घातलाई निरुत्साहित गर्ने प्रकारको निर्णय लिन नसकेकोजस्ता कारण पार्टीले अधिकांश ठाउँमा पराजय व्यहोर्नुपरेको ठानिएको छ । केन्द्रीय कार्यसमितिको बैठक राखी पार्टी पराजयको कारण खोज्न हतारिएका नेता–कार्यकर्तालाई देउवाले अहिले ‘संविधान संशोधनको मुद्दा’ देखाएर पन्छाउने गरेका छन् । समय सार्दै जाँदा समस्या थपिने र पुराना समस्याप्रति चासो कम हुने भएकोले पनि देउवाले जानाजान कार्यसमितिको बैठक नराखेको अनुमान देउवालाई नजिकबाट बुझ्नेहरूले गरेका छन् ।

तेह्रौँ महाधिवेशनमा सभापति निर्वाचित हुनुअघिसम्म युवा जोस र गतिशीलता देखाउने देउवाले त्यसयता भने समस्याको समाधान खोज्नेभन्दा समस्यालाई पन्छाएर आत्मरति लिने गर्दै आएका छन् । उनको यस्तै कार्यशैलीका कारण पार्टीभित्र असन्तुष्टि बढ्दै गएको छ र असन्तुष्ट पक्ष देउवामाथि सङ्गठित प्रहार गर्ने सामथ्र्य जुटाउन विभिन्न ढङ्गले प्रयासरत भएको पाइएको छ ।