गम्भीर आरोपसहित महासचिवविरुद्ध मुख्य प्रशिक्षकको उजुरी

गम्भीर आरोपसहित महासचिवविरुद्ध मुख्य प्रशिक्षकको उजुरी


नेपाल तेक्वान्दो संघका महासचिव दीपराज गुरुङविरुद्ध दर्जनौँ आरोप लगाउँदै तेक्वान्दोका मुख्य प्रशिक्षक ध्रुव गुरुङले गत साता राष्ट्रिय खेलकुद परिषदमा उजुरी दर्ता गराएको सन्दर्भ यतिबेला चर्चामा छ । उजुरीमा प्रशिक्षक गुरुङले तेक्वान्दोलाई मेनपावर एजेन्सीको रुपमा परिणत गरेको, खेलाडी र प्रशिक्षकको भत्ता नदिएको, प्रशिक्षकमाथि भेदभाव गरेको, १२औं दक्षिण एसियाली खेलकुदमा नेपाललाई स्वर्ण पदकविहीन गराउन परोक्ष तर अहम् भूमिका निभाएको र संघमा आर्थिक चलखेल गरेकोलगायत आरोप लगाउँदै कारवाहीको माग गरेका थिए । साथै दीपराज गुरुङले तेक्वान्दोमा तानाशाही भूमिका निर्वाह गरेको भन्दै त्यसविरुद्धमा आफु उजुरी दिन बाध्य भएको राखेपमा दिएको उजुरीमा उल्लेख गरेका छन् ।

तेक्वान्दोका मुख्य प्रशिक्षक ध्रुव गुरुङले उजुरी दर्ता गराएपछि सत्यतथ्य बुझ्न हालै राष्ट्रिय खेलकुद परिषद एक छानविन समितिको गठन गरेका छन् । पाँच सदस्य उक्त छानविन समितिको अध्यक्षमा राष्ट्रिय खेलकुद परिषदका सदस्य देवकुमार अधिकारी (बद्री) रहेका छन् । समितिका सदस्यहरूमा धनबहादुर बस्नेत (कानुनविज्ञ), बासुदेव आचार्य (प्रशासन विभाग प्रमुख), कुलबहादुर थापा (खेलकुद विकास विभाग) र नवीन उप्रेती (तालिम प्रशिक्षण विभाग प्रमुख, राखेप) रहेका छन् । १५ दिनभित्र छानविन गरी परिषदमा प्रतिवेदन पेश गर्न समितिलाई राखेपले निर्देशन दिएको छ । निश्पक्ष छानविनकर्ताको परिचय बनाएका अधिकारीले आफुले यो मुद्दामा पनि कुनै आग्रह–पूर्वाग्रह नराखि छानविन गरी प्रतिवेदन बुझाउने बताएका छन् ।

यसअघि राष्ट्रिय खेलकुद परिषदमा तेक्वान्दोका महासचिव दीपराज गुरुङले दोहोरो नागरिकता लिएको विषयमा उजुरी परेको थियो । महासचिव गुरुङले भारत र नेपालवाट भिन्दाभिन्दै नाम राखेर नागरिकता लिएको प्रमाणसमेत पेश गरिएको थियो । त्यसपछि राखेपले उक्त दोहोरो नागरिकताको विवादको सम्बन्धमा परेको विवाद र उजुरीको बारेमा छानविनगरि परिषदमा प्रतिवेदन बुझाएको थियो । तर गुरुङले भिन्दाभिन्दै नामबाट नागरिकता लिएको प्रमाणित भए पनि छानविन समितिको प्रतिवेदन छानविनमा मात्रै सिमित भएको थियो । यो पटक पनि गुरुङमाथि दर्जनौं आरोपसहित राखेपमा उजुरी दर्ता भएको छ, र राखेपले छानविन समिति समेत बनाएको छ । अब छानविन समितिले बुझाएको प्रतिवेदन राखेपले छानविनमै सीमित राख्छ कि कारवाही गर्ने आँट प्रदर्शन गर्छ, प्रतीक्षाको विषय बनेको छ ।