प्रवासबाट के सिक्ने के अपनाउने ?

प्रवासबाट के सिक्ने के अपनाउने ?


– डिल्लीराम अम्माई, बेल्जियम

पछि पारिएको तर ब्यापक बहस चलाउनु पर्ने आधुनिक नेपाली संस्कृति बारेको बहस अहिले निस्क्रिय बन्दै गएको छ । न त्यो बहस नेपालका बुद्धिजीबी वर्गले बहसमा ल्याउने प्रयत्न गरेका छन् न त झन्डै १२ लाखको हाराहारीमा डायस्पोराको मञ्च सम्हालिरहेका एनआरएनएहरूले नै । प्रवासको नयाँ पुस्ताको अबको सांस्कृति र पश्चिमा ज्ञानबारे धारणा के त ? यो सार्थक बहस अब नचलाई नहुने अवस्था छ । उनीहरूलाई हाम्रो पूर्वीय दर्शन र कलाबारे एउटा दृष्टिकोण हस्तान्तरण गर्नु पुरानो पुस्ताको दायित्व पनि हो । त्यसैले यो आलेखमा पश्चिमा ज्ञानलाई हाम्रो मौलिक कलासँग कसरी जोड्ने भन्नेबारे एउटा राय राखिएको छ जसको उद्देश्य केवल बहसको निमन्त्रणा हो भन्दा अत्युक्ति नहोला ।

आमअर्थमा प्रवासमा हामीले सिक्नुको अर्थ सिकेका सम्पूर्ण कुराहरूको आयात गर्नु हैन । हामीले सिकेका सम्पूर्ण कुरालाई आलोचनात्मक रुपमा ग्रहण गर्नुपर्छ । हामीले हाम्रो पहिचानको रक्षार्थ र समाजको हित हुने क्रममा जसरी प्राचीनबाट सिक्दछौँ त्यस्तै विदेश वा पश्चिमी सभ्यताबाट पनि सिक्न कन्जुस्याइँ गर्नु हुँदैन । तलका शब्द यही कुराको पुष्टिको लागि हुन् ।

हामीले विदेशी रास्ट्र वा आफू बसेको देशबाट राम्रा कुराहरू सिक्नै पर्दछ र हाम्रो इतिहासको विकासक्रमबाट पनि राम्रा कुराहरू सिक्नु पर्छ । पूरा भाँडो नभरी राखेको अमिलोमा ढुसी लाग्छ । आधि बोतल अमिलोलाई हामीले पुरा भरेर राख्यौँ भने बर्षौं केही हुँदैन । हामी दुवैतर्फको आधि–आधिलाई पूर्ण बनाउने प्रयास गर्नैपर्छ । हामी नेपाली र पश्चिमा दुवै कुरामा निपुर्ण भयौँ भने तिनलाई मिलाएर एउटा हाम्रा मौलिक विशेषतासहितको वस्तुमा बदल्न सक्छौँ ।

बीपी र मदन भण्डारीले त्यो प्रयत्न गर्नुभयो, राजनैतिक परिप्रेक्षमा । त्यो सिद्धान्तको मौलिकतासहित हामीलाई शिक्षा दिने प्रयत्न पनि गर्नुभयो । उहाँहरू नेपाली र पश्चिमा दुवै सभ्यताको अध्ययनमा निपुर्ण हुनुहुन्थ्यो । उहाहरूको त्यो निपुर्णता उहाहरूको दर्शनको व्याख्या, साहित्य र ब्याबहारमा प्रष्ट देखिन्थ्यो । उहाँहरूका दार्शनिक व्याख्या न विदेशी रचनासँग ठ्याक्कै मिल्ने खालका छन् न त पुराना शैलीका नेपाली राजनेताहरूका जस्ता छन् । हामीले उहाँहरूको स्पिरिटको मिहीन अध्ययन गरेजस्तो लाग्दैन । हामीले बीपी र मदन भण्डारीको यो स्पिरिटलाई मिहीन तरिकाले अध्ययन गर्नैपर्छ । नेपाली र पश्चिमा दुवै सभ्यता र राजनैतिक विकासक्रमको अध्ययनमा निपुर्ण हुनुपर्छ, नेपाली र विदेशी कलाका राम्रा पक्षहरूलाई लिन कन्जुस्याइँ गर्नु हुँदैन । तिनलाई एक ठाउँमा गालेर एउटा नयाँ कलाको रचना गर्नुपर्छ । जुन हाम्रो राष्ट्रि पहिचानले युक्त हुन्छ ।

निशचय पनि नेपाली र पश्चिमा चिजको यस्तो सफल संयोजन सजिलो छैन । यो प्रक्रियाले गालिन समय लिन्छ । केही यस्ता चिज छन् जसमा विदेशी चिजहरू मिलाउन सकिन्छ । उदाहरणको लागि साहित्यमा भाषा, चरित्र तथा पृष्ठभूमि नेपाली हुनैपर्छ । तर ती नेपाली किस्ताबन्दी संरचनामै आउनुपर्छ भन्ने छैन । हामीले केही यस्तो चिज निर्माण गर्न सक्दछौँ जुन न नेपाली हो न त पश्चिमा । यदि त्यस्तो चिज खच्चडकै रूपमा भए पनि नराम्रो हुँदैन । दुई चिज जोडिएर बनेको तेश्रो वस्तु फरक हुनु स्वाभाविक नै हो ।

हामी कि त पुरै सकारात्मक छौँ कि पुरै नकारात्मक । हामी आलोचनात्मक हुनुपर्ने हो त्यो हुन सकिरहेका छैनौँ । हामीले आफ्नै सांस्कृतिक विशेषता र सभ्यताको मर्मत गर्नमा विदेशमा आर्जन गरेको ज्ञानलाई प्रयोग गर्न सक्यौँ भने हाम्रो कला र संस्कृतिको भविष्य उज्ज्वल हुनेछ ।

बीपी र भण्डारीले त्यहि गर्ने प्रयास गरे बुझ्नेले कसरि बुझे त्यो बेग्लै पाटो हो । जब कुनै दुई चिज जोडिन्छ, तिनको रुप पनि फेरिन्छ । राजनैतिक, आर्थिक र सांस्कृतिक रुपले नेपालको अनुहारमा ठुलो परिवर्तन हुँदैछ तर कसरी त्यस्तो परिवर्तन हुँदैछ ? नेपाली चिजको अहिले पनि आफ्नै विशेषता रहेको छ । विदेशी चिजहरू पनि परिवर्तनशील छन् । पछिल्लो आन्दोलनपछि नेपालको परिवेशमा विदेशी प्रभावसहितको आधारभूत परिवर्तन आयो । संविधानसभाको चुनाव र अहिलेको स्थानीय चुनावपछि यो नितान्त नयाँ दिशामा रुपान्तरित हुँदैछ । यो पश्चिमा, भारतीय र आफ्नो मौलिक राजनैतिक तत्वहरूको समिश्रणसहित नयाँ दिशामा विकशित हुँदैछ । हामीले जे–जस्तो रूपमा बुझे पनि सत्य यही हो । दोश्रो विश्व युद्धपछिका राजनैतिक परिदृश्य अनौठो लागेझैँ नेपालीको लागि यो नयाँ प्रयोग पनि अनौठो लाग्नु अस्वाभाविक हैन । अब हाम्रो ध्यान बीपीले भनेझैँ दुईध्रुवीय विश्व दृष्टिकोणको अन्तरघुलन प्रजातान्त्रिक समाजवाद वा मदन भण्डारीले भनेझैँको दुई विश्व दृष्टिकोणको अन्तरघुलन बहुदलीय जनवाद र त्यो अनुकुलको सांस्कृतिक निर्माणतर्फ मुलुक घिस्रिँदै अघि बढेको अवस्थालाई अस्विकार गर्न सकिन्न । यो पनि त्रिदेशीय चिजहरूको आलोचनात्मक ग्रहणमा र खास गरेर समाजवादी समाजका अणुहरूलाई पुंजिवादी संसारका प्रगतिशील आवाजहरूमा मिलाइएर बनाएको कक्टेल झोल हो, जुन नेपाली मैलिकतामा निहीत हुनुपर्छ ।

यो कुरा बुझ्न मिहीन अध्ययनको जरुरी पर्छ । बाहिरबाट हेर्दा संसारका सबै देशको कला र राजनैतिक आधारभूत सिद्धान्तहरूमा समान हुन्छ । तर, रुप र शैलीगत भिन्नता अवश्याम्भावी छ । विभिन्न पश्चिमा समाजवादी देशहरूका प्रत्येक कलासँग समाजवादी अन्तरवस्तु छ । तर नर्वे, फिनल्याण्ड, डेनमार्क, बेल्जियम, जर्मनी आदिसँग आफ्नो मौलिक राष्ट्रिय चरित्र भिन्न–भिन्न छ । तिनीहरूबीच समानता र भिन्नता दुवै छ, साझा गुण र निजी विशेषताहरू दुवै विद्यमान छन् । पङ्क्तिकारको बुझाईमा यो एउटा स्वाभाविक नियम हो । सबै चिजहरू चाहे ती प्रकृतिसँग सम्बन्धित होउन्, चाहे समाज वा ज्ञानको क्षेत्रसँग, यस्तै हुन्छन् । एउटै तलाउमा फुलेका कमलका फूलहरूलाई लिउँ । पहिलो हेराइमा ती समान देखिन्छन् तर जब हामीले गहिरिएर निरीक्षण गर्न थाल्छौँ, प्रत्येक अर्कोसँग फरक देखिन्छ । दुईवटा उस्तै नितान्त समान फूलहरू खोज्नु असम्भव छ ।

संघर्ष, क्रान्ति, रुपान्तरण आदि सबैको लगभग एउटै आधारभूत सिद्धान्त हुन्छ । तर जतिबेला केहि सम्भाव्यता र प्रधान सिद्धान्तहरूमाथि आधारित भएर प्रयोगको कुरा आउँछ, त्यतिबेला प्रत्येक राष्ट्रमा भिन्नता दृष्टिगोचर हुन्छ । भारतीय स्वतन्त्रता संग्राम, फ्रान्सको राज्यक्रान्ति, चिनियाँ क्रान्ति, ०४६ को नेपाली जनआन्दोलन र ६२÷६३को जन आन्दोलनलाई लिउँ, आधारभूत रुपमा यी सबै क्रान्ति समान छन् तर तिनको रुपका सन्दर्भमा, जसमा ती सिद्धान्त प्रयोग भए, यी सबै क्रान्तिका थुप्रै भिन्नताहरू छन् । उदाहरणको लागि भारतमा भएको औपनिवेशिकताबिरुद्धको आन्दोलन र नेपालमा भएका सबै आन्दोलनहरू स्वाधीनता र प्रजातन्त्रप्राप्तिका आन्दोलन हुन् । तर यी आन्दोलन सारमा प्रजातन्त्र प्राप्ति वा स्वाधीनताका लागि भए पनि रुपमा अत्याधिक भिन्नता पनि छन् ।

उदाहरणको लागि ०४६ को आन्दोलन शहरकेन्द्रित आन्दोलन थियो भने ६२÷६३ को आन्दोलन राजतन्त्रविरुद्धको गाउँबाट शुरु भएको ससस्त्र विद्रोहको निष्कर्ष थियो । यो जनयुद्धको स्थगन सम्झौताबाट गरिएको मौलिक तथा अनौठो राजनैतिक ब्यवस्थापन थियो । त्यस्तै, भारतीय स्वतन्त्रता संग्राम साम्राज्यवादी औपनिवेशिकताबिरुद्धको विद्रोह थियो ।

संसारभरी रहेका समुदायबीच कलाको आफ्नै विशिष्ट राष्ट्रिय रुप र राष्ट्रिय शैली हुन्छ । सबैले यो कुरा बुझ्दैनन् । अझ प्रवासमा रहेकाहरूले यो कुरा बुझ्न झन् मुस्किल हुन्छ । उनीहरू आफ्ना राष्ट्रिय विशेसताहरूको उपेक्षा गर्छन् र अन्धतापुर्वक पश्चिमाहरूको पुजा गर्छन् अनि के सोच्छन् भने हरेक सन्दर्भमा पश्चिमी सभ्यता नै उत्कृष्ट छ । उनीहरू पूर्ण पश्चिमीकरणको वकालत गर्दै निकै अगाडिसम्म पुग्दछन् । यो गलत हो । पूर्ण पश्चिमीकरण अव्यवहारिक छ र यसलाई नेपाली जनसाधारणले स्वीकार गर्दैन ।

कला र प्राकृतिक बिज्ञान यस सन्दर्भमा फरक हुन्छन । औसधि विज्ञानको कुनै राष्ट्रिय रुप हुदैन तर कलामा राष्ट्रिय प्रश्न अगाडी आउछ । यसको मुख्य कारण के हो भने कला भनेको जनताको जीवन, विचार र आवेगको प्रस्तुति हो र यसले राष्ट्रिय परम्परा र भाषासँग अत्यन्त निकट सम्बन्ध राखेको हुन्छ । ऐतिहासिक रूपमा कलात्मक सम्पदा सांस्कृतिक ढाँचाकै बीचबाट विकसित हुन्छ ।

नेपाली कला, संगीत, पेन्टिङ, नाटक, गीत र नृत्य तथा साहित्य प्रत्येकका आफ्नै ऐतिहासिक विकास क्रम छन् । विदेशी रमणीहरूले के भन्दछन् भने नेपाली मूल्यको कुनै नियम छैन र ती अध्ययन योग्य अथवा विकासप्रिय लाग्दैनन् । यसले बस्तुतः नेपाली कलामा एउटा राष्ट्रिय सुन्यवादको प्रवृतिलाई पश्रय दिइरहेको छ ।

संसारमा प्रत्येक राष्ट्रको आफ्नो इतिहास हुन्छ र त्यसका आफ्ना सवलता र दुर्वलता पनि हुन्छन् । आरम्भदेखि नै उत्कृष्ट र निकृष्ट चिज लामो समयसम्म परस्पर एकै ठाउँमा मिसिँदै आएका छन् । तिनलाई छुट्याउनु र निकृष्ट चिजको थुप्रोबाट असललाई अलग्याउनु अत्यन्त गाह्रो काम हो । तर यो कठिनाईका कारण हामी इतिहासलाई नकार्ने वा उपेक्षा गर्न सक्दैनौँ । आफूलाई इतिहासबाट अलग्याउनु र आफ्नो सम्पदाको परित्याग गर्नु राम्रो हैन ।

नेपाली चिजको अहिले पनि आफ्नै विशेषता रहेको छ । विदेशी चिजहरू पनि परिवर्तनशील छन् । पछिल्लो आन्दोलनपछि नेपालको परिवेशमा विदेशी प्रभावसहितको आधारभूत परिवर्तन आयो । संविधानसभाको चुनाव र अहिलेको स्थानीय चुनावपछि यो नितान्त नयाँ दिशामा रुपान्तरित हुँदैछ । यो पश्चिमा, भारतीय र आफ्नो मौलिक राजनैतिक तत्वहरूको समिश्रणसहित नयाँ दिशामा विकशित हुँदैछ ।

निश्चय पनि यसको अर्थ यो हैन कि हामीलाई आफू रहेको प्रवासबाट सिक्ने आवश्यकता छैन । हामीले प्रवासबाट धेरै कुराहरू सिक्नै पर्दछ । हामीले आधारभूत कुराहरूमा निपुर्णता हासिल गर्नै पर्दछ । हामीले विदेशी कुराहरू सिक्छौँ किनभने हामी नेपाली समाजको मौलिक मूल्य–मान्यतासहित विकास गर्न चाहन्छौँ स्वदेशमा र प्रवासमा पनि । यस परिप्रेक्षमा प्राकृतिक र सामाजिक विज्ञान समान छन् । हामीले अन्तबाट सबै राम्रा कुराहरूमा निपूर्णता हासिल गर्नै पर्दछ र त्यसपछि त्यसलाई प्रयोगमा ल्याउनु पर्छ । त्यस प्रक्रियामा त्यसलाई विकसित गर्नैपर्ने हुन्छ । नेपाली मौलिकतालाई छुट्याउन विदेशबाट प्राप्त आधुनिक ज्ञान र पद्धतिको प्रयोग आवश्यक छ । जिव विज्ञान, रसायन विज्ञानलगायत भौतिक विज्ञान र चिकित्सा विज्ञानलाई नै लिउँ । यी सबै हरेक मुलुकमा आवश्यक छन् । त्यस्तै हाम्रो मौलिक आयुर्वेदिक चिकित्सा पद्धतिसँग पश्चिमा पद्धतिलाई जोडियो भने त्यो झन् आफ्ना विशेषतासहितको नयाँ र विकसित पद्धति बन्न सक्छ ।

यदि यस्तो प्रयोग प्राकृतिक र सामाजिक विज्ञानमा सम्भब छ भने कलामा यो झन् उपयुक्त मानिन्छ । तर जतिबेला हामीले सिकिरहेका हुन्छौँ, हामीले त्यसलाई नेपाली कलाको विकास र अध्ययनका लागि प्रयोग गर्नुपर्ने हुन्छ । अन्यथा ती हितकारी हुँदैन । अरुको कला अनुशरण गर्दा नेपाली जनसमुदायको सांस्कृतिक कलाको लागि हुनुपर्छ जसको एउटा आफ्नै पृथक राष्ट्रिय रुप र शैली छ ।

हामीले यो कुरा स्विकार्नु पर्दछ कि आधुनिक संस्कृतिको परिप्रेक्षमा हामी पश्चिमाभन्दा पछि छौँ, हामी पछाडी पारिएका छौँ । के कलाको सन्दर्भमा पनि यही स्थिति हो त ? कलाका क्षेत्रमा हाम्रा सवलाताहरू पनि उत्तिकै छन् । हामीले आफ्ना कमजोरी हटाउने अथवा सच्याउने क्रममा विदेशी राष्ट्रहरूबाट राम्रा कुराहरू ग्रहण गर्ने कुराहरूमा सकारात्मक हुनुपर्छ । यदि हामी हाम्रा पुरानै तरिकामा टाँस्सिइरहन्छौँ र विदेशी साहित्य अध्ययन गर्दैनौँ, त्यसलाई नेपालमा चिनाउदैनौँ, यदि हामी बिदेशी संगीतलाई कसरी सिक्ने र कसरी बजाउने भन्ने कुरा जान्दैनौँ भने त्यो राम्रो हैन । हामी आफ्नोबाहेक सबै खराब भन्ने कठमुल्लावादी हुनु हुँदैन ।

तर प्रवासको नेपाली पुस्तालाई यो सबको ज्ञान छैन । उनीहरूले यताका सबै राम्रा र नेपालका सबै खराब भन्ने कुरामा विश्वस्त हुन थालेको आभास पाइन्छ । त्यो पछिको लागि खराब मात्र हैन अनिष्टकारी पनि छ ।

हामीले डायस्पोरामा जन्मे–हुर्केका नयाँ पुस्तालाई यो बुझाउन सक्नु पर्दछ कि कलामा स्वतन्त्र सिर्जनात्मक गुणहरू हुन्छन् । यो युगको चरित्र, साथै राष्ट्रिय चरित्रले विशिष्ट रूपबाट भरिएको हुन्छ । नेपाली कलाले बढीभन्दा बढी विगतलाई पनि हेर्नु हँुदैन, न त ज्यादाभन्दा ज्यादा पश्चिमीकरण नै हुनु पर्दछ । यसले ब्यापक रूपमा युग र राष्ट्रका विशेषताहरूलाई प्रतिनिधित्व गर्नु पर्दछ ।

यो सबै कुरा हामी प्रवासबाट मुलुकप्रतिको आफ्नो दृष्टिकोणको लागि हो । हामी कि त पुरै सकारात्मक छौँ कि पुरै नकारात्मक । हामी आलोचनात्मक हुनुपर्ने हो त्यो हुन सकिरहेका छैनौँ । हामीले आफ्नै सांस्कृतिक विशेषता र सभ्यताको मर्मत गर्नमा विदेशमा आर्जन गरेको ज्ञानलाई प्रयोग गर्न सक्यौँ भने हाम्रो कला र संस्कृतिको भविष्य उज्ज्वल हुनेछ । जुन कुरा हामीले प्रवासमा भएको नयाँ पुस्तालाई बुझाउन सक्छौँ कि सक्दैनौँ हाम्रो सांस्कृतिक विरासतको महत्व र विकासलाई त्यसले धेरथोर प्रभाव पार्नेछ ।