खेलकुदमा ठेकेदारहरूको उपद्रो बढेको सदस्यसचिवको खुलासा

खेलकुदमा ठेकेदारहरूको उपद्रो बढेको सदस्यसचिवको खुलासा


राष्ट्रिय खेलकुद परिषदका सदस्य केशवकुमार विष्टले नेपाल तेक्वान्दो संघ ‘ठेकदार’को पेवा नभएको अभिव्यक्ति दिएका छन् । राष्ट्रिय तेक्वान्दो संघ–नेपालले आयोजना गरेको पाँचौं राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपको उद्घाटन समारोहमा केही उत्तेजक रूपमा प्रस्तुत भएका विष्टले तेक्वान्दोे र करातेको विवादले समग्र खेलकुदलमा प्रभाव पारेको खुलासा गरे ।

नेपाल तेक्वान्दो संघका महासचिव दीपराज गुरुङविरुद्धमा राखेपमा उजुरी परेर राखेपले छानबिन कमिटी बनाई छानविनको प्रक्रियालाई अगाडि बढाइरहेको अवस्थामा विष्टको यस्तो अभिव्यक्ति आउनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

‘तेक्वान्दो र कराते नेपालका नम्बर एक खेल हुन् । अन्तर्राष्ट्रिय स्तरमा नेपालले पदक जित्ने सम्भावना भएका खेल पनि तेक्वान्दो र कराते नै हुन् । तर विडम्वना, अहिले यी दुई खेलमा विवाद छ । दुवैका दुईवटा संघ छन् । मैले यो विवादलाई समाधान गर्न अथक प्रयास गरेँ तर असफल भएको छु,’ विष्टले भने । नेपालको समग्र खेलकृुदको विकासका लागि यी दुई संघको विवाद समाधान हुनुपर्ने बताउँदै उनले मिलेर आउनु र एउटै हुनुको बाहेक अर्को विकल्प नभएको प्रष्ट पारेका थिए ।

उनले थपे– ‘राष्ट्रिय खेलकुद संघ कुनै व्यक्तिको पेवा होइन । यहाँ केही जडसुत्रवादीले संघलाई व्यक्तिगत पेवा सम्झिएर रजाइँ गर्दै आएका छन् । संघमा आफ्नो हैकम जमाउन खेलकुदको ऐन–कानुनलाई नजरअन्दाज गरेका छन् । जुन खेलकुदको लागि कदापी राम्रो लक्षण होइन । तसर्थ अब त्यस्तो हुँदैन र म गर्न पनि दिन्नँ । चाहे त्यो तेक्वान्दो संघ नै किन नहोस्, म ठेकेदारको चङ्गुलबाट तेक्वान्दोलाई मुक्ति दिलाउँछु, ठेकेदारहरूले उपद्रो निकै बढ्यो, अब उनीहरूलाई निष्काशन गर्नु पर्छ,’ विष्टले भने । अहिले तेक्वान्दोमा निकै चलखेल भैरहेको उजुरी राखेपमा परेको छ, वास्तविकता के हो ? त्यसको छानबिनको लागि राखेपले छानविन समितिको गठन गरेको छ । अब छानबिन समितिको प्रतिवेदनसँगै कारवाहीको प्रक्रिया पनि अगाडि बढाउने विष्टले दाबी गरे ।
– श्रीविक्रम भण्डारी