प्रदेश नं. ५ बन्यो तेक्वान्दोमा टिम–च्याम्पियन

प्रदेश नं. ५ बन्यो तेक्वान्दोमा टिम–च्याम्पियन


पाँचौं राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको उपाधि प्रदेश नं. ५ ले जितेको छ । ७ स्वर्ण, १ रजत र १ कास्य जित्दै प्रदेश नं. ७ टिम–च्याम्पियन बनेको हो । राष्ट्रिय तेक्वान्दो संघ नेपालद्वारा आयोजित प्रतियोगितामा २ स्वर्ण, ३ रजत र २ कांस्यसाथ प्रदेश नं. २ दोश्रो भयो । त्यस्तै २ स्वर्ण, २ रजत र ५ कांस्य जितेको प्रदेश नं. १ ले तेश्रो स्थानमा हासिल गरेको थियो ।

प्रदेश नं. ५ बाट महिलाको ४९ केजीमा डीना तामाङ र ५३ केजीमा पार्वती पाण्डे तथा पुरुषको ५० केजीमा तपन केवत, ५४ केजीमा सुमित लामा, ५८ केजीमा अजय रिजाल, ६३ केजीमा रविन अधिकारी र ६८ केजीमा प्रेमबहादुर नेपालीले स्वर्ण जितेका थिए । प्रदेश नं. २ का लागि महिला ४६ केजीमा मेलिना माझी र ६२ केजीमा अस्मिता रिजालले स्वर्ण जिते । त्यस्तै प्रदेश नं. १ लाई महिला ४३ केजीमा विनिता घिमिरे र ५७ केजीमा पार्वती राईले स्वर्ण जितेका थिए ।

प्रतियोगिताको पुरुषमा प्रदेश नं. ६ विवेक विश्वकर्मा तथा महिलामा प्रदेश नं. १ की विनिता उत्कृष्ट खेलाडी चुनिए । विजेतालाई राखेपका सदस्य–सचिव केशवकुमार विष्ट, आयोजक संघका अध्यक्ष शिव कोइराला र महासचिव राजकुमार कार्की, तेक्वान्दो मुख्य प्रशिक्षक ध्रुवबहादुर गुरुङलगायतले पुरस्कार प्रदान गरेका थिए । दुईदिने प्रतियोगितामा ७ प्रदेशका १ सय ४० खेलाडीले विभिन्न १७ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।