युरोप भ्रमणको रमाइला अनुभूति…(भाग ११)

युरोप भ्रमणको रमाइला अनुभूति…(भाग ११)


सुनेको भरमा भन्दा आँखाले प्रत्यक्ष हेरेर नै यथार्थलाई बुझ्न सकिन्छ । हामीले प्रत्यक्ष देखेका फ्लोरेन्सका गिर्जाघरहरु अथवा क्याथाड्रलहरुमा विख्यात मुर्तिकार हरुले कैयौ शताब्दी पहिले निर्माण गरेका कलाकृतिहरू फ्लोरेन्सका विभिन्न ठाउँ हरुमा प्रदर्शन गरि सजाएर राखे जस्तै देख्यौ । म्युजियम हरुमा उस्तै प्राचीन, मध्ययुगिन तथा आधुनिक युगका उत्कृष्ट रचनाहरु निर्माण गरेर राखेका रहेछन् । मलाई फ्लोरेन्सका गल्ली, चोक तथा त्यहाँ निर्माण गरिएका सयौ गिर्जाघरहरु, क्याथाड्रलहरु, मेडिची परिवारका महलहरु र दरबारहरु सबैदेख्दा यो शहर नै एउटा अजयबघर जस्तो प्रत्तित भईरहेको थियो । हामी शहरका गल्लीहरुहुँदै बढ्दै थियौ, मेरी पत्नि मलाई बराम्बार सोधिरहेकी थिईन्, “बुरा ! ईटालीमा छालाबाट बनेका समानहरु सस्तो पाईन्छ भन्छन्, समानहरु हेरौ कता होलान्” । नजिकै एउटा छालाको ज्याकेटहरु झुन्ड्याईएका पसलभित्र पस्यौ । लगभग सबै दुकानमा छालाको ब्याग, ज्याकेट ईत्यादि अर्डर गरेर जस्तो चाहियो त्यस्तै बनाएर दिंदो रहेछ । हामीलाई समयको कमी थियो र त्यहाँ बनाएर राखेका समानहरु खासै मनपरेन त्यसकारण केहि समान नकिनी निस्क्यौ । आधा दिन जति हामीले हिडेर सकुन्जेल सबै ठाउँहरु हेर्ने कोशिस गर्यौ । त्यहाँ निर्माण गरिएका ऐतिहासिक धरोहरहरु देख्दा रोमन साम्रज्य र सभ्यतालाई प्रशंसा नगरि रहन सक्दैनन् । हामी अन्तिममा मेडिची परिवारको विशाल महलतर्फ गयौ ।

१३औ शताब्दितिर बनेको महलको वैभवता, निर्माण कौशल र कलाकृतिहरुले फ्लोरेन्सको विगतलाई गौरवन्दित गरिरहेको थियो । घुम्दा घुम्दा पिशाबाको लागि ट्वाईलेट खोज्दै जाँदा एउटा सार्वजनिक ट्वाईलेटमा पुग्यौ । ट्वाईलेट प्रयोग गर्नकोलागि एकजनाले साठीपेन्स युरो तिर्नु पर्दोरहेछ । ट्वाईलेट निकै सफा र कलात्मक हिसाबले निर्माण गरिएको रहेछ । त्यहाँ एकजना स्टाफ कुर्सीटेबल राखेर बसकाउन्टरको रिसेप्सनिष्ट सरह बसेका देखियो । पैसा तिरेर ट्वाईलेट जाँदा रसिद दिएको पहिलोचोटि जीवनमा फ्लोरेन्सकमा अनुभव गरियो । पछि जर्मनतिर आउँदापनि रसिददिने चलन देखियो । फ्लोरेन्सको ट्वाईलेट घरको स्टाफ एकजना फिलिपिनो रहेछ । पिशाब फेरेपछि केहिबेर उनीसित कुरा गरे । मैले धेरै फिलिपिन्सका मानिसहरु हामीजस्तै विदेशमा कामगर्न हिडेका देखेको छु । हङकङमा ३ लाखभन्दा बढी घरेलु कामदारहरुको जमातमा बहुसंख्यक यी नै फिलिपिनोहरु छन् ।

आजको दिनको लञ्च हामीदुबैले एउटा रेस्टुरेन्टमा लियौ । म्याकडोनाल्डमा जस्तै बर्गर, फ्रेन्चफ्राईस र कोक किनेर खाएका थियौ । हामीले देखेका सबै ठाउँहरुका भौतिक संरंचनाहरु सबै नौलो लागिरहेको थियो । फोटो खिचेको खिचे नै थिएँ । कतिपए ठाउँमा बुरियाले … ए बुरा धेरै भो अब नखिचौ न … केहि विश्राम गरौ… भन्थिन् , तर, म चाँहि … आजको दिन बितेर गएपछि भोलीहामी यहाँ हुन्नौ..भन्दै फोटोहरु खिंचेको थिएँ । हामी फ्लोरेन्सको रिपब्लिक स्क्वाएर भएर आर्ट डी ग्यालारिया, मेडिची महलहरु, मेडीचीहरुले बनाएका क्याथाड्रलहरु, पियाज्जो डेल्ला सग्निरिया र विभिन्न संरक्षणमा राखेका गल्लीहरुहुदै एउटा बँदेलको मुर्ति भएको ठाउँमा पुग्यौ । यो मुर्ति १७औ शताब्दिमा एकदमै कलात्मक झल्किने गरि बनाएको देखें । त्यो तामाको बँदेलको मुर्तिलाई पिगलेट भन्दो रहेछ । त्यो पिगलेटलाई स्पर्शगरे फेरि फेरि फ्लोरेन्स घुम्न आउनपाउने विश्वास गर्दारहेछन्, त्यसकारण त्यो पिगलेटलाई छोएर फोटो खिंच्ने मानिसहरुको घुँईचो थियो । बँदेलको नाकमा बढीले स्पर्श गरेर होला त्यस ठाउँमा टिलिक्क टल्किएको थियो भने शरिरको अरुभागमा समयको छाप थियो । मैलेपनि छोए, फोटो खिंचे, तर, ईस्लामधर्म अवलम्बिहरुले त्यसलाई छोएको देखिएन । शायद सुँगुर उनिहरुका धर्ममा निषेध भएर होलाकि जस्तो अनुभूती भयो मलाई । बुरियाले छोएकी थिईनन्, हतार हतार बोलाएर बँदेललाई छुन लगाएँ । हामी फेरि फ्लोरेन्स जान पाउने होकि होईन यो पछि समयले बताउनेछ । तर, एउटा रमाइलो अनुभूती सँगाले । हामीसित गएका २ मुसल्मान युवतिहरुलेपनि स्पर्श गरेनन् । मानिस मानिसमा सोचको फरक होकि धर्मको न्यायिक निर्देशन हो मैले केहि बुझ्न सकिनँ आखिरमा यहाँकिन यति धेरै धर्म छन् र मान्छे मान्छेभित्रको सोचलाई किन फरक पार्दैछन्? किन विभाजन बनाउँदैछन? हामी बसेको संसार किन कहिलेकहिँ हामीलाई नरमाइलो लाग्ने गर्दछ? मलाई यी विभाजनहरु नै मानव सभ्यताको कलंक जस्तो लाग्छ ।

हामी बुझ्न शहर दिनको २बजे सम्म घुमेर बिहान समीले भने अनुसार दिनको ठिक २ बजे सबैजना पुरानो पुलमा भेला भयौ । त्यहाँबाट केहिपरसम्म अर्नो नदिको किनारैकिनार भएर हामी गाडी भएको ठाउँसम्म हिडेर आयौ । हप्तादिनसम्म राम्रो घामको किरण पाएकोले मेरो अनुहारको रंग फेरिदै थियो किनभने म गाडीमा बस्दापनि झ्यालतिर बस्थे तथा दिनभरि ठाउँहरु भ्रमणगर्दा सफा घाममा हिडीरहेको थिएँ । बुरियाले मेरो अनुहार वास्ताविक रंगमा परिवर्तित भएको छ भनेर जिस्क्याउन थालीसकेकी थिईन् । वास्तवमा म धुँवासे कलरको बन्दै थिएँ । लण्डनको जागिर, दिनभरि बिल्डिङभित्र नै रहने हुनाले घामको किरण सप्ताहको अन्तमा पर्ने २ दिन बाहेक हिउँदमा अरुदिन मुश्किलले (समरमा बाहेक) घामको किरण अनुभूती गर्न पाईन्छ । कोचभित्र सबै पसिसकेपछि हाम्रो गाडी फ्लोरेन्सलाई बाई बाई गर्दै राजमार्गबाट भेनीसका लागि उत्तर हानिदै गुड्न थाल्यो । फ्लोरेन्सबाट भेनीस ४ घण्टाजतिको यात्रा रहेछ । भेनीसलाई ईटालीवासीहरुले भेनेजिया भन्छन् । अहिले गाडीभित्र झ्यालतिर बसेर म फ्लोरेन्सको बारेमा देखेजति र बुझेजति नोटबुकमा उतार्दैछु । बुरियाले अरामगर्ने आग्रह गर्दैछिन्, तर, म लेखिरहेको छु । एकछिन् पछि मलाई गुडिरहेको गाडीभित्र निन्द्रा लाग्छ । बुरियाले मलाई नेक प्रोटेक्टर (घाँटीमा अडाउने फोमको कपडाले बेरिएको गोलाकार) दिन्छिन् । म एकघण्टाजति सुतेछु । म उठेपछि बुरियालाई थर्मसमा लगेको तातोपानीमा एक कप कफी बनाउने अनुरोध गरे । हामीले चियाकफीको सबै बन्दोबस्त गरेर गएका थियौ । तातो कफी पिएपछि म आफैलाई स्वच्छ महसुस गरे । समथल भुभागमा मलिलो खेतहरु, गाउँशहरहुँदै हामी भेनीस तर्फ लागिरहेका थियौ । हामी सातौदिनको साँझ भेनीस नगर पुग्नु अघि मुख्य भुभागमा पर्ने भेनीस शहरको भेनेजिया होटलमा वास बस्नु थियो । भेनीस शहर पुर्णतया द्वीपहरुलाई जोडेर बनेको ऐतिहासिक शहर हो । तर, मुख्य भुभागसंग एउटा सडक शहरको एकछेउसम्म जोडिएको रहेछ । हामी ५ मेस्त्रे सेन्टरको भेनेजिया होटलमा बेलुकी साढे ६ बजेतिर पुग्यौ । यो होटल शहरको मुख्य शपिङ सेन्टरमा अवस्थित रहेछ । सधैं झै होटलमा पुग्ने बित्तिकै आ–आफ्नो सुट्केश समानहरु गुडाएर रिसेप्शनको अघि गाईडलाई पर्खेर बस्यौ । यस होटलमा हाम्रो २ रात व्यतित हुनेछ । भोली हामी प्रसिद्ध टापुहरु र पानीको शहरको नामले चिनिने भेनीस शहरको भ्रमण गर्ने हो । मैले भ्रमण गरेका शहरहरु सबै ऐतिहासिक हिसाबमा चर्चित शहरहरु हुन् । बेलाबखत यी शहरहरुले कैयौ युद्धहरुको जिजिविषा देखेका थिए । युरोपेली ईतिहासमा दक्षिणपुर्वेली युरोपको नेतृत्वमा पकड भएका सिजर, नेपोलियन, हिटलर र मुसोलिनीजस्ता कैयौ नेताहरुको अवाजहरु गुञ्जेका यी शहरहरुमा विकाशका आयामहरु थप्दै अविष्कारको सुत्रपात गर्दै वाणिज्यव्यापरमा धेरैमाथि पुगेका थिए । त्यसैकारण यी शहरहरुले गौरवपुर्ण ईतिहास बोकेका छन् । अहिले त्यहि गौरवपुर्ण ईतिहास बोकेका शहरहरुबारे जान्न र त्यहाँका भौतिक संरचनादेखि कला, संस्कार र धार्मिक कृयाकलापहरुका अभिलेख हेर्नकालागि संसारभरिका मानिसहरु यहाँ आउने गर्छन् ।

तुल्नात्मक हिसाबमा विकाशको गतिलाई हेर्दा युरोपेली राष्ट्रहरु एसियाली राष्ट्रहरुभन्दा धेरै द्रुतगतिमा अघि बढेका पाईन्छन् । बेलायत आउनुअघि हङकङसमेत मिलाएर एसियाका ५ वटा राष्ट्रहरुमा नौकरी गरेको अनुभव मलाई थियो । यसरि ती राष्ट्रहरुमा जागिरको क्रममा देखेका विकाशलाई तुलनात्मक हिसाबले हेर्दा ती देशहरुका विकाशको गति यी युरोपली मुलुकहरुभन्दा दशकौमात्र नभई शताब्दियौ पछि रहेको अनुभव अहिले भईरहेको छ । यतिबेला हामी सबैले आ–आफ्नो कोठाको चाबी पाईसकेका छौ । हाम्रो पहिलो तल्लाको १७ नम्बरको कोठा रहेछ । हामी दुबैजना सरासर कोठामा पुगेर समानहरु थन्कायौ र केहिबेर अराम गर्यौ । आठबजे हाम्रो डिनर होटलको ग्राउण्डफ्लोरमा थियो । समय प्रशस्त थियो । विस्तारै नुहाईधोई गर्यौ । बुरियाले केहि हल्का कपडा र मोजाहरु सबै सफा गरेर हिटरमा सुकाईन् । कोठा एकदमै सफा र राम्रो थियो । स्वच्छ भएर एकैचोटि कोठाबाट साढेसातबजेतिर निस्क्यौ । रिसेप्शन् काउन्टरको छेउमा रहेको कम्प्युटर कक्षाबाट ईमेल चेक गरे र केहि ईमेल पठाएँ । सन्तानसुखपनि जीवनको एउटा अभिन्न पाटा हो । हामी सन्तानमोहमा बाँधिएका हुन्छौ । मलाई बुरियाले दिनमा दुईचारचोटि बच्चाहरुको बारेमा कुरा गर्छिन् । आमाको मनमा सन्तानप्रत्तिको मोह कति गहिरोहुन्छ यो नाप्न गाह्रो हुन्छ, यो सीमा विहीन हुन्छ । म त्यहि भावनाको कदर गर्दछु । जीवन भोगाईकोक्रममा सन्तानहरुबाट पनि बुवाआमाप्रतिको माया र दायित्वबोध भए जीवनसंसार स्वर्गमय बन्दछ । यहि नै मायाको संसार हो त्यहि माया र स्नेहले डेर्याएको, हाम्रा बच्चाहरुले जुटाईदिएका यो भ्रमण हाम्रोलागि अविस्मरणीय बनेको छ ।

खानाको लागि सबै हलमा आईसकेका थिए । हामीलाई खाना राम्रो लागेतापनि भातखाने साह्रै ईच्छा भएकोले भोलीको खानाचाँहि नजिकैको चिनीयाँ रेस्टुरेन्टमा खाने योजना बनायौ । आजको डिनर राम्रो नै थियो । भेनीस शहरतर्फ फ्लोरेन्सबाट उन्मुखहुँदा मलाई आठ कक्षामा पढ्दा विलियम शेक्सपियर रचित विख्यात नाटक मार्चेण्ट अफ भेनीसको सम्झना आएको थियो । नाटकको प्रमुख खलनायाक शाईलक र नायक एन्टोनियोलाई अधार बनाई भेनीसको पृष्ठभुमीलाई लिएर रचेको नाटक विश्वभरिका अन्य भाषाहरुमा समेत उल्था भईसकेकाछन् र यो अत्यन्त लोकप्रिय छ । उसरि शेक्सपियरका धेरै कृतिहरु त्यतिबेलाको रोमनकालको वर्णन र ईटालीका शहरहरुलाई पृष्ठभुमी बनाएर लेखेका छन् । मैले लगभग ती सबै कृतिहरु पढेको हुनाले यसपालीको भ्रमण मलाई रोचकपुर्ण अनुभूती भईरहेको छ । शेक्सपियरले मार्चेण्ट अफ भेनीस सन् १५९५मा लेखेका थिए जतिबेला भेनीसको नाम संसारका धनी र वैभवशाली शहरहरुमा गनिन्थ्यो । त्यतिबेलाका यहुदि व्यापरीहरुका सन्ततीहरु अहिलेपनि भेनीसमा छन् । मार्चेण्ट अफ भेनीस नाटकको खलनायक शाईलक यहुदि थिए । मैले किताबमा पढेको भेनीस र व्यापारी जहाजहरुको चित्रण शेक्सपियरले साँच्चै नै यथार्थको धरातललाई समेटेर लेखेका रहेछन् जस्तो मलाई प्रत्तित भईरहेका थियो । त्यसकारण मार्चेण्ट अफ भेनीस अर्थात भेनीसका व्यापारीहरु नामक शिर्षकबाट नाटक रचेका शेक्सपियरका कृति समयसापेक्ष रहेको मैले पाएँ । हामी छिट्टै डिनर लिएर कोठामा फक्र्यौ । केहिबेर दिनभरिका भ्रमणकाकुराहरु संम्झदै हामीदुबैजनाले कुरा गर्यौ । व्याटरीहरु चार्ज गर्दै केहि समय टीभी हेरयौ । अहिले ईटालीको टीभीमा प्राय च्यानलहरुमा सबै ईटालियन भाषामा प्रसारण गरिएका पायौ । अन्तमा फेरि एउटा च्यानलबाट अंग्रेजीमा प्रसारण गरेको पाईयो केहिबेर टीभीबाट समाचार सुनेपछि हामी विश्राम गर्दै निद्रदेवीको काखमा लुटपुटिन पुग्यौ ।

हामी बिहानै उठ्यौ । समानहरु प्याक गरेर राख्यौ । दैनिक नित्यकर्मबाट निवृत्त भएपछि हल्का कपडा र स्विटर लगाएर म तयार भएँ । बुरियाले आज सलवारकुर्ता लगाईन् । तमतयार भएर ब्रेकफास्टका लागि पहिलो तल्लाको हलमा गयौ । बे्रकफास्ट लिईसकेपछि हामी मुख्य भुभागबाट पानीको नगरीको नामले प्रसिद्धि पाएकी टापुहरुको सुन्दर ऐतिहासिक शहर भेनीस भ्रमणगर्नका लागि होटलबाट निस्क्यौ । मुख्य भुभागबाट भेनीस ९ किलोमिटर टाढा पर्दो रहेछ । भेनिस शहर ११७ वटा ससाना टापुहरुलाई ४०९वटा पुलहरुले जोडेर बनेको ऐतिहासिक नगर हो । भेनीस शहर घुम्नकालागि दिनभरिको १८ युरोको टिकट काटे । एउटै टिकट काटेपछि दिनभरि बसहरु, रेल र फेरीहरुबाट यात्रा गर्न सक्दोरहेछ । यी टिकटहरु होटलका काउन्टरहरुमा नै बिक्रि गर्दो रहेछ । बुरिया र मेरोलागि २वटा टिकट ३६ युरो तिरेर लियौ । त्यहाँबाट धेरै गाडीहरु, बस अथवा ट्रालीबसहरु पाउँदो रहेछ । हामी ४ नम्बरको बस पक्डेर समुहमा भेनिसकालागि होटलको छेउको बसस्टापबाट गयौ । भेनीस शहरकालागि पनि एकजना स्थानीय ईटालियान गाईड, खृष्टिनाले हामीलाई भेनिस भ्रमण गराउनका लागि आएकी थिईन् । संयोगवश फ्लोरेन्सकी गाईड र भेनीसको गाईडको नाम मिल्न गएको थियो । उनीपनि आधा वैंश ढल्केकी अंग्रेजी धारावाहिक बोल्ने महिला थिईन् । फेरि अर्को एपिसोडमा भेटौला… धन्यवाद ।