किर्गिस्तानको बिस्केकमा भएको ११औं एसियाली क्याडेट तथा १८ औं एसियाली जुनियर जुडो च्याम्पियनसिपको जुनियर महिला ५७ केजीमुनि कांस्य जितेकी मनीता श्रेष्ठ प्रधान नगदबाट पुरस्कृत भएकी छिन् । मनीता अध्ययनरत रानीवनस्थित बाल विकास माविले नगद १५ हजारसहित उनलाई सम्मान गरेको हो ।
उक्त प्रतियोगितामा मनीताले तीन राष्ट्रका खेलाडीलाई पराजित गर्दै करियरको छैटौं अन्तर्राष्ट्रिय पदक जितेकी थिइन् । मनीताले भारत, उज्वेकिस्तान र ताजकिस्तानका खेलाडी पाखा लगाउदै कांस्य जितेकी हुन् । नेपाल जुडो संघका उपमहासचिव एवं बन्दी सहायता नियोग (पाम) का जुडो प्रशिक्षक सूर्य श्रेष्ठले मनीतालाई विद्यालयको तर्फबाट नगद १५ हजार हस्तान्तरण गरे । ६ वर्षको उमेरदेखि पाममै आश्रित मनीतालाई सुरुआतदेखि नै श्रेष्ठले प्रशिक्षण दिइरहेका छन् । हाल कक्षा १० मा अध्ययनरत मनीता पूर्ण छात्रवृत्तिमा बाल विकासमा युकेजीदेखि अध्ययन गरिरहेकी छिन् । मनीताले पदक जितेको खुशियालीमा पुरस्कार वितरण कार्यक्रमपछि विद्यालयमा विदाको घोषणा गरिएको थियो ।
१२ औं दक्षिण एसियाली खेलकुद (साग) की रजत विजेता मनीताले २००९ सालदेखि जुडो खेल्न सुरु गरेकी थिइन् । मनीता सिनियर एसियालीस्तरको प्रतियोगितामा एक ‘बाउट’ जित्ने पहिलो नेपाली महिला जुडो खेलाडी पनि हुन् । केहि महिनाअघि हङकङमा भएको एसियाली सिनियर जुडो च्याम्पियनसिपमा एक ‘बाउट’ जित्दै मनीता सो इतिहास रचेकी थिइन् ।
प्रतिक्रिया