– श्रीविक्रम भण्डारी
यतिबेला राष्ट्रिय खेलकुद परिषद्का प्रशासकीय अधिकृत चूडामणि खरेलको चर्चा र परिचर्चाले आकाश छोएको छ । यसको मतलब खरेल कुनै चमत्कारी कार्य गरेर नभई खेलकुदमा उनले गर्दै आएका विभिन्न हर्कतले गर्दा चर्चामा आएका हुन् । माओवादी केन्द्र झापा जिल्लाका डीपीएम ‘अजय’को रूपमा परिचित खरेल एमाले नेता झलनाथ खनालको नाम भाँजेर कसरी खेलकुदमा छलाङ मारे र सिक्का जमाए त्यो कुनै रोचक कथाभन्दा कम छैन । खरेल खेलकुदमा प्रवेश गर्नुभन्दा पहिले औषधिको विज्ञापन गर्दै हिँड्थे । सोही क्रममा ०७२ साल वैशाखमा खरेलको भेट राखेपमा रेडियोग्राफरसम्बन्धी कार्य गर्ने भीमसेन आलेमगरसँग भएको थियो । आलेको सङ्गतबाट खेलकुदमा प्रवेश गरेका खरेलले आलेकै सहयोगमा खनालका स्वकीय सचिव कृष्ण भट्टराईसँग हिमचिम बढाएका थिए । त्यसपछि खरेलले आफूलाई नेता खनालको निकटको व्यक्तिको रूपमा प्रस्तुत गर्दै व्यक्तिगत फाइदा उठाउँदै आएका थिए । सो क्रममा खरेलले जिल्ला स्वास्थ्य कार्यालय झापा र चितवनमा दुई–दुईजना सहायक कर्मचारी नियुक्त गराएर प्रत्येक व्यक्तिसँग असी हजारका दरले रकम असुल गरेको स्रोतले जनाएको छ । यो कुराको सुइँको कृष्ण भट्टराईले पाउन नसक्दा उनीहरूको दोस्ती अझै सुमधुर हुँदै गएको थियो ।
‘के खोज्छस् कानो आँखा’ भनेझैँ राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिवको रूपमा केशवकुमार विष्टको नियुक्ति भएपछि खरेललाई बम्पर चिट्ठा परेको थियो । यसर्थमा कि सो समयमा युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेल खनालका गुटका भएकाले भट्टराईको दुवैसँग सम्बन्ध राम्रो थियो । परिणाम, कृष्णसँगको सम्बन्धको फाइदा उठाउँदै खरेल सदस्यसचिव विष्टसँग सम्बन्ध जोडेर ०७२ फागुनमा आयोजना भएको सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतको स्वास्थ्य उपससमितिको सचिव बन्न सफल भएका थिए । स्मरणीय छ, सातौँका अन्य समिति र उपसमितिको जिम्मेवारी राखेपका पदाधिकारी र कर्मचारीलाई दिए पनि स्वास्थ्यको जिम्मेवारी खरेललाई दिएपछि खेलकुदमा त्यसबेला निकै चर्चा–परिचर्चा चलेको थियो । स्वास्थ्यको जिम्मेवारी पाउन खरेलले साम, दाम, दण्ड, भेद चारै नीति अवलम्बन गरेको स्रोतले दाबी गरेको छ । खेलकुदको पदाधिकारी र कर्मचारी नरहेका खरेल स्वास्थ्य उपसमितिको सचिव कसरी बन्न पुगे र उनलाई राखेपको कुन ऐन–कानुनले यस्तो जिम्मेवारी दियो– त्यो अहिले पनि प्रश्नचिह्नको घेरामा परेको छ । यो समयमा सदस्यसचिव विष्टसँग सुमधुर सम्बन्ध स्थापित गर्दै आएका खरेलले त्यसपछि खेलकुद मन्त्रालयका सहसचिव चूडामणि पौडेललाई पनि आफ्नो जालमा पारेका थिए ।

सहसचिव पौडेलको घरनजिकै डेरा गरी बस्ने खरेलले त्यसपछि बिहान–बेलुका पौडेलको चाकरी गर्दै आफ्नी पत्नी टीकादेवी कडरियालाई खेलकुदको चिकित्सा तथा अनुसन्धान आयोगमा जागिर खुवाउन सफल भएका थिए । पत्नी कडरियासहित मेडिकल डाक्टर र सहायक गरी आठ–दशजनालाई सदस्यसचिव विष्टको पावरमा खरेलले आयोगमा जागिर खुवाएको स्रोतको दाबी छ । सो क्रममा डा. राजु डङ्गोलसँग माथिल्लो तहको नियुक्ति दिने अधिकारीलाई दिनुपर्छ भन्दै तीन लाख र अन्य कर्मचारीसँग तीन महिनाबराबरको रकम असुलेको पनि स्रोतले जानकारी गराएको छ । पावर र पैसा भनेपछि हुरुक्कै हुने र जस्तोसुकै हर्कत गर्न पनि पछि नपर्ने कुराको सुइँको कृष्ण भट्टराईले पाएपछि उनले खरेलसँग सम्बन्ध तोडेका थिए ।
आर्थिक र नैतिक रूपमा साथीहरूलाई धोका दिएपछि खरेल समस्यामा परेका थिए । त्यसपछि उनले शकुनी दाउ चल्दै राखेपका सदस्यसचिव विष्ट र मन्त्रालयका सहसचिव पौडेललाई आफ्नो जालमा पार्न सफल भएका थिए । खरेलले कसरी यी दुवैलाई आफ्नो जालमा फसाए त्यो कुरा स्रोेतले उल्लेख गरे पनि नितान्त व्यक्तिगत भएका कारण यहाँ उल्लेख गर्न नमिल्ने जानकारी गराउँछु । सत्यता र आरोप छुट्टै पाटो हुन्, आरोप लगाउँदैमा सत्य हुन्छ भन्ने छैन । आखिर कुरोको चुरो जे भए पनि सातौँ राष्ट्रिय खेलकुदको समापनसँगै काठमाडौं फर्किएपछि खरेलले ०७३ पुस २५ गते उपसचिव पदमा नियुक्ति पाऊँ भनी राखेपमा निवेदन दर्ता गराएका थिए । सोही निवेदनको आधारमा सदस्यसचिव विष्टले परिषद्को आन्तरिक स्रोतबाट (अधिकृत तृतीय) प्रशासनले पाउने मासिक पारिश्रमिक उपलब्ध गराउने गरी परिषद्को सचिवालयमा हाजिर हुने गरी नियुक्ति गरेका थिए । परिषद्को निर्णयअनुसार खरेललाई दोभासेको रूपमा कार्य गर्न, वैदेशिक सम्बन्ध र समन्वय गर्ने जिम्मेवारी दिइएको थियो । तर, सातौँको आयोजना हुनुपूर्व नै युुवा तथा खेलकुद मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रबाट हाल राष्ट्र नै सङ्घीय संरचना अर्थात् प्रदेशको खाकामा गइरहेको अवस्थामा हाल कुनै पनि प्रकारको नियुक्ति, सरुवा र बढुवा नगर्नु भनी राखेपलाई पत्राचार गरेको थियो । यो कुरालाई नजरअन्दाज गर्दै कानुनी सल्लाहकार ओमप्रसाद थपलियाको रायको आधारमा विष्टले खरेललाई नियुक्ति गरेका थिए । यसप्रकार खरेलदम्पती राखेपमा जागिर खान सफल भएका थिए ।
यतिबेला खरेलको चलखेल खेलकुदमा निकै बढेको खेलकुदका कर्मचारीले बताएका छन् । नाम नराख्ने सर्तमा ती कर्मचारीले भने, ‘सदस्यसचिव मै हो, सदस्यसचिव र ममा केही फरक छैन, हामी दुवै एकै हौँ’ भनेर खरेल अन्य कर्मचारीलाई थर्काउँदै हिँडेका छन् । उनलाई यस्तो आँट र साहस कसले प्रदान ग¥यो, त्यो आफूले बुझ्न नसकेको र यहाँ ठूलै खिचडी पाकेको कुरामा चाहिँ सङ्केत गरेका थिए । वर्तमान अवस्थामा मासिक तलब, सुविधा, भ्रमण आदेश, स्वास्थ्य सामग्री खरिदमा कमिसन र भण्डारबाट सामान लिएर महिनाको लाखौँ रुपैयाँ खरेलले बुझेको ती कर्मचारीले आरोप लगाएका छन् । साथै भण्डार र आर्थिकका कर्मचारीलाई डर–धम्की देखाउँदै खरेलले आर्थिक शोषण गरेको स्रोतले बताएको छ । साथै आफ्नो आलोचना गर्ने कर्मचारीका विरुद्धमा सदस्यसचिवलाई कुरा लगाएर गाली ख्वाउनमा पनि खरेलदम्पती दत्तचित्त भएर लागेको थाहा भएको छ । उनीहरूको यस्तो हर्कतले यतिबेला कर्मचारीमा सन्त्रास फैलिएको छ ।
प्राप्त जानकारीअनुसार खरेलको नियुक्तिको सम्बन्धमा भीमसेनले विरोध जनाएको भनी भीमसेनलाई योग्यता नपुगेको र तालिम नभएको भनी हाजिर गर्न रोक्का गरी जागिरबाटै हटाएको खुलासा भएको छ । यसका लागि खरेलले तत्कालीन खेलकुद मन्त्रालयका सहसचिव पौडेलमार्फत परिषद्मा पत्र लेख्न लगाई भीमसेनलाई हटाएको रहस्यको पर्दाफास भएको छ । यसैगरी खरेलदम्पतीले आफ्नो चलखेलको सिलसिला जारी राख्ने क्रममा पुनः डा. ज्ञानेन्द्रविक्रम शाहलाई हटाई अन्य डाक्टरलाई नियुक्ति गर्ने खेलमा लागेको जानकारीमा आएको छ । त्यसका लागि उनीहरूले दैनिक डा. ज्ञानेन्द्रको विरुद्धमा सदस्यसचिवको कान फुक्ने गरेको सुनिनमा आएको छ । त्यस्तै, सचिवालयका अधिकृत बाबुकाजी श्रेष्ठ, भण्डार प्रमुख सनतबम मल्ललाई त्यहाँबाट हटाउन खरेल हात धोएर लागेको स्रोतले बताएको छ ।
राखेपको सदस्यसचिवमा विष्ट नियुक्ति भएपछि एमालेनिकट कर्मचारी अधिकृत इन्द्रबहादुर कार्की, हक्की प्रशिक्षक बाबुराम नेपाल र पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष रविन नगरकोटी परिषद्मा आ–आफ्ना पत्नीलाई जागिर खुवाउन सफल भएका थिए । पछि यो नियुक्तिबारे अख्तियारमा उजुरी परेपछि म्याद नथपी उनीहरूलाई हटाइएको थियो । विडम्बना ! विभिन्न सरोकारवाला निकायले सरुवा, बढुवा र नियुक्ति नगर्नु भनी परिपत्र गरेको बेलामा राखेपमा नियुक्ति पाएका खरेलदम्पतीबारे राखेपले मौनता साँध्नुका कारण के हो ? त्यो अहिले खेलकुदमा चर्चाको विषय बनेको छ । त्यस्तै चूडामणि खरेलको नियुक्तिको सम्बन्धमा अख्तियार, सतर्कता केन्द्र, युवा तथा खेलकुद मन्त्रालयका उपसचिव महेश्वर शर्मासहितको तीनसदस्यीय टोलीले छानबिन गरी सदस्यसचिव विष्टलाई नियुक्ति गर्नुको कारण खुलाउन पटकपटक ताकेता गरिसकेको छ । साथै उक्त छानबिन समितिले अनुसन्धानको क्रममा रहेको कर्मचारीलाई हाजिर नगराउन र हाल तलब–सुविधा नदिनसमेत राखेपमा पेस गरेको प्रतिवेदनमा उल्लेख छ । तर, खरेलदम्पतीबारे राखेपले मौनता साँध्नुको पछाडिको रहस्य के हो ? त्यो रहस्यमयी बनेको छ । त्यसका पर्दाफास हुनु जरुरी छ ।
आखिर खरेल र विष्टबीचको सम्बन्ध के हो ? यो कुरा खेलकुदका आमकर्मचारीले जान्न चाहेका छन् । पारिवारिक रूपमा भन्ने हो भने उनीहरूको गोरु बेचेको साइनो पनि छैन । त्यस्तै राजनीतिक हिसाबमा पनि विष्ट एमाले हुन् भने खरेल माओवादी । कम्युनिस्ट भएको नाताले आन्द्रा जोडिएको हो भने त्यसलाई पत्याउने ठाउँ छैन । अन्यथा विष्टको निकटता खरेलसँग किन प्रगाढ भइरहेको छ यो शङ्काको घेरामा परेको छ । कतै विष्टले देखाउने दाँतको रूपमा खरेललाई प्रयोग गरिरहेका त छैनन् शङ्का गर्नु स्वाभाविकै हो । अन्यथा विष्टले खेलकुदका ठूलाठूला कार्यक्रम अर्थात् आम्दानी हुने ठाउँमा खरेललाई किन खटाउँछन् ? प्रश्न खडा भएको छ । प्राप्त जानकारीअनुसार गत ०७४ जेठमा सञ्चालन भएको सर्वाधिक पुरस्कार राशिको प्रथम प्रधानमन्त्री कप पुरुष राष्ट्रिय प्रतियोगिता र हालै यही असारमा सम्पन्न भारत चण्डीगढनिवासी आरएस डण्डीवालले आयोजना गरेको एपीएल टी–२० क्रिकेट यसका उदाहरण हुन् । यी प्रतियोगिताबाट खरेलले लाखौँ कमाएको खेलकुदमा चर्चा छ । अझ एपीएलमा खरेलको निभाएको भूमिका शङ्कात्मक रहेको कसैबाट छिपेको छैन । उनले यो प्रतियोगितामा जुन रूपमा चासो देखाए र आफूलाई सक्रिय गराए त्यसले पनि यहाँ ठूलो आर्थिक चलखेल भएको प्रमाणित गर्छ ।
प्रतिक्रिया