संघसंस्थाहरुबाट एक नेपालीको अन्त्यष्टि सम्पन्न

संघसंस्थाहरुबाट एक नेपालीको अन्त्यष्टि सम्पन्न


अल्डरशट । गत जुलाई २० तारिखका दिन स्वर्गबास भएका काशीराम थापा क्ष्ँेत्रीको यही १० अगष्टमा अल्डरशटमा दाह संस्कार कार्य सम्पन्न भयो । ९१ वर्षीय स्वर्गीय काशीराम क्षेत्रीको जन्म नेपालको गुल्मी जिल्लामा भई, पछि बुटबलमा बसोवास गर्दै आएका थिए । गत वर्ष मात्रै बेलायत आएका उनी कान्छी श्रीमती र कान्छी छोरीको साथमा अल्डरशट बस्दथे । बेलायतको १३ वर्ष लामो सरकारी सेवा कालमा उनले यस देशका लागि दोश्रो विश्व युध्दमा आफ्नो जीवनको बाजी थापी ५ वटा मेडल वा तक्मा पनि थापेर स्वदेश फर्कँदा आजसम्म कुनै पेन्सन नपाएको कुरा पारिवारिक सूत्र बताउँदछ ।
अल्डरशटमा आएर बसोबास गरेको एक वर्ष हुँदा पनि आफू बृध्द र खुट्टा नचल्ने भएका कारण कुनै संघ-संस्था वा कसैसँग पनि चिनजान नभएको र परिवारमा कमाइ गर्ने कोही नहुँदा आर्थिक अवस्था साह्रै नाजुक भएको कान्छी श्रीमती जमुनाले बताईन् । अल्डरशट निवासी सरोज क्षेत्रीले यस्तो दुःखद समाचार सुनी फेसबुकमा छोरीको नाम र फोन नं राखिदिएपछि मात्र अन्यले थाहा पाई सहयोगका हात अगाडि बढाएका थिए । सर्वप्रथम गुल्मी समाजका अध्यक्ष ओम थापाले परिवारका सदस्यलाई तत्काल भेटी आर्थिक राहतको आश्वासन दिँदै धैर्य गर्न भनेका थिए । त्यसपछि क्षेत्री समाज बेलायतका उपाध्यक्ष भीम बानिया र क्षेत्री समाज इकाइ कमिटि अल्डरशटका प्रतिनिधिहरुले भेट गरी आर्थिक सहयोग जुटाउने कार्य शुरु भएको थियो । यस पटक आर्थिक सहयोग जुटाउने क्रममा गुल्मी जिल्ला समाज, क्षेत्री समाज बेलायत, ग्रेटर रशमुर नेप्लिज कमिटि, वीजीडव्लूएस, सत्यसाइ केन्द्र, बाग्लुङ समाज, गेसो र विश्वकर्मा वेलफेयर समाजले अथक प्रयास गरेका थिए भने सहयोग गर्नेहरुले पनि दिल खोलेर एक नेपालीका लागि अर्को नेपाली भनी सहयोग गरे ।
गत १० तारिखको दाहसंस्कार कार्यक्रमा अल्डरशटस्थित विभिन्न संघसंस्थाका प्रतिनिधि, एनआरएन यूकेका अध्यक्ष सूर्य गुरुङ र ठूलो समूहमा स्थानीयवासीहरुको उपस्थिति थियो । कार्यक्रम गुल्मी जिल्ला समाजका अध्यक्ष ओम थापाले स्व. काशिरामको संक्षिप्त जीवनी र सहयोग दाताहरुलाई धन्यवाद दिँदै संचालन गरेका थिए भने क्षेत्री समाज बेलायतका भीम बानियाले आज सहयोगका हात बर्ढाई सबैले नेपाली एकताको उदाहरण दिएको भनेका थिए । मान्छे जन्मेपछि कहाँ गएर मर्नुपर्छ भन्ने कुरा कसैलाई थाहा नहुने हुँदा कसैले पनि म सम्पन्न वा धनी छु, मलाई कसैको सहयोग चाहिँदैन नभन्न काशीरामजीको प्रदेशमा भएको निधनवाट बुझ्नु पर्दछ भन्ने मन्तव्य दिएका थिए ।
-भीम, मेस