लण्डन । हिजो आइतवार, २१ अगस्तको दिनमा जोर्डनस्थित याक एण्ड यती रेस्टुरेन्टमा अपरान्ह साढे एकबजेदेखि तीनबजेसम्म एनआरएन हङकङको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई जेबी पुनले सञ्चालन गरेका थिए । यस कार्यक्रममा विभिन्न हङकङका संघसंस्थाहरुलाई निमन्त्रणा गरिएको थियो । हङकङका विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, पत्रकारहरु र एनआरएनका पदाधिकारीहरु र सदस्यहरुको सहभागितामा सो कार्यक्रम सञ्चालन भएको थियो । कार्यक्रमको मूल उद्धेश्य सम्पूर्ण हङकङेली नेपालीहरुलाई समेटेर विगतमा एनआरएनप्रति सञ्चारमाध्यमहरुबाट सम्प्रेषित केही भ्रमहरु, एनआरएनले हालै प्रदान गर्न थालिएको एनआरएन कार्डप्रतिको जानकारी र विभिन्न संघ-संस्थाहरुलाई एनआरएनसँग समन्वय गरी नेपालीहरुका हकहितका लागि कसरी अघि बढ्न सकिने तथा नेपालमा हुन गइरहेको आगामी अन्तर्राष्ट्रिय गैरआवासीय नेपालीहरुका अधिवेशनमा कार्यक्रमबाट प्राप्त जानकारीहरु प्रस्तुत गर्ने रहेको थियो ।
जेबी पुनले सञ्चालन गरेका सो अन्तरक्रिया कार्यक्रममा सबैभन्दा पहिले हङकङबाट प्रकाशित हुने एभरेष्ट साप्ताहिकका सम्पादक किशन राईलाई एनआरएन हङकङ जातीयकरण भएको भनी उनले केही समयअघि प्रकाशित गरेका कुरा उठाएर उनलाई सञ्चालकले सोधेका थिए । किशन राईले तत्कालीन माहौललाई इंगीत गरेर एनआरएन हङकङको अधिवेशनमा केवल गुरुङ जातिका अतिथिहरुलाई आसन ग्रहण गराइएका, तर, अन्य संघसंस्थाबाट उपस्थित अध्यक्षहरुलाई वास्ता नगरेकाले सो घटनाबारे आफूले समाचार सम्प्रेषन गरेको भनी व्यक्त गरेका थिए । उनको अर्को भनाइमा समावेशी नभएको धारणा व्यक्त गरेका थिए । उनले समग्र एनआरएनप्रति आफ्नो सकारात्मक धारणा रहेको कुरा बताएका थिए । उनको अभिव्यक्तिपछि सञ्चालकले पावर प्वोइन्टबाट हङकङका एनआरएनको सदस्य संख्यामा गुरुङहरुको बाहुल्यता रहेकोले पदाधिकारीहरु र सदस्य संख्या पनि गुरुङहरुको नै बढी रहेको तथा भोटिङ गरे पनि गुरुङहरुले नै जित्ने कुरा उल्लेख गरेका थिए । अन्तरक्रियाको क्रममा सञ्चालकले महासंघका अध्यक्ष प्रदीप थापामगरलाई किन एनआरएनको सदस्य संख्या बढाउन नसकिएको र यस विषयमा महासंघले पहल गर्न नसकेको बारे प्रश्न गरेका थिए । उनले आफ्नो कार्यकालमा आफूले प्रयास गर्दै गरेको व्यक्त गरे तर आफूभन्दा पहिलेकाहरुले किन प्रयास गरेनन त्यो थाहा नभएको कुरा व्यक्त गरेका थिए । यसै सन्दर्भमा एनआरएनप्रति भिन्नै दृष्टिकोण राखिएको धारणा व्यक्त गरेर सञ्चालकले विभिन्न संघसंस्थाका प्रतिनिधिहरुबाट उनीहरुका प्रतिक्रिया सोधेका थिए ।
यसै क्रममा आदिवासी महासंघका अध्यक्ष भूपेन्द्र चेम्जोङले सम्बन्धित संस्थाले पहल गर्नुपर्ने तथा जनजातिप्रति चासो नभएको र हङकङको सन्दर्भमा एनआरएन कार्डको कुनै औचित्य नरहेको कुरा व्यक्त गरेका थिए । कृष्ण प्रसाद पाण्ड्ये, एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषदका सदस्यले महासंघसँग एमओयुमा हस्ताक्षर गरेको सन्दर्भलाई व्यक्त गर्दै विगतमा महासंघ र एनआरएन हङकङ हातेमाले गर्दै संस्थालाई अघि बढाउने कुरा व्यक्त गरेका थिए । एनआएरएन कार्डको बारेमा सहभागी सदस्य टम गुरुङले आफूलाई आवश्यकता नरहेको सान्दर्भिक नभएकोले तथा एनआरएन कार्डको औचित्य नरहेकोले एनआरएन कार्ड नलिएको कुरा बताएका थिए । सुमल कुमार गुरुङले एनआरएन सदस्यको बारेमा र नागरिक प्रमाणपत्रको बारेमा सोधेका थिए । धारणाहरु व्यक्त गर्ने क्रममा तमू ट्हो ह्यूल हङकङका अध्यक्ष अर्जुन गुरुङ, अधिवक्ता एक नारायण शर्मा, डासुराम पराजुली, बुद्धि बहादुर थापा, एनआरएन अध्यक्ष दुर्गा प्रसाद गुरुङ, देउमान गुरुङ, हङकङ वाणिज्य दूतावासका किरण शाक्य तथा अन्य सहभागीहरुले एनआरएन कार्डको फाइदावेफाइदाबारे आ-आफ्नो प्रतिक्रिया पोखेका थिए । अन्तमा धेरै सहभागीहरुका प्रतिक्रियाहरुलाई थाती राखी समयको पाबन्दीलाई ध्यानमा राखेर सञ्चालकले ठीक दुई घण्टाभित्र कार्यक्रम समापन गरेका थिए । महासंघका पूर्व अध्यक्ष हेम लिम्बूले आफ्नो प्रतिकिया र अरुको पनि धेरै कुराहरु छन् भन्दाभन्दै कार्यक्रम समापन भएको थियो । -सुमल, मेस, हंगकंगबाट ।
प्रतिक्रिया