नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा. प्रकाशशरण महतले नेपाली काङ्ग्रेसको प्रचार संयन्त्र कमजोर भएको र आफ्ना कुरा जनसमक्ष लैजान नसकेकोले स्थानीय निर्वाचमा काङ्ग्रेस दोस्रो पार्टी बन्नुपरेको बताउनुभएको छ ।
नेपाली काङ्ग्रेसको जारी केन्द्रीय समितिको बैठकमा सोमबार आफ्नो धारणा राख्दै उहाँले नेपाली काङ्ग्रेसले संविधान जारी भएदेखि आजसम्म देशमा संघीय लोकतन्त्रको संस्थागत विकास र संविधानको कार्यान्वयनका पक्षमा धेरै काम गरेको भए पनि यसलाई जनतासमक्ष पुर्याउन नसकिएको बताउनुभएको हो ।
सो बैठकमा उहाँले भन्नुभयो– ‘संविधान जारी गर्नेदेखि लिएर संविधानमा महिला र विभिन्न जातजातीको अधिकारको व्यवस्था, २० बर्षदेखि हुन नसकेको स्थानीय तहको निर्वाचन गर्ने तथा मधेशी जनतालाई पनि उनीहरूको भावना बुझेरै संविधान संशोधनको पहल र तीन चरण गरेर भएपनि उनीहरूलाई चुनावमा ल्याउने काम काङ्ग्रेसले नै गरेको हो तर त्यसलाई हामीले जनतासम्म जस्ताको त्यस्तै पुर्याउन सकेनौँ ।’
उता एमालेले भने चुनावको मुखमा आएर एकोहोरो र काङ्ग्रेसका विरुद्धमा अनर्गल प्रचार गरी चुनावमा मात्र केन्द्रित भएको र यस्तो प्रचारलाई पनि हामीले प्रतिरक्षा गर्नसक्नेगरी सञ्चारको संयन्त्र निर्माण गर्न नसकेको देखिएको उहाँले बताउनुभयो ।
तर पनि आफूले नेपाली काङ्ग्रेस र एमालेको बीचमा ३०÷४० हजारभन्दा बढी मतको अन्तर नरहेकोले यो अवस्थालाई हारको मानसिकताबाट कदापि नलिन आफूले समग्र काङ्ग्रेसका कार्यकतालाई सुझाव दिएको पनि उहाँले बताउनुभयो ।
अब झन् धेरै निर्वाचनहरू आइरहेकाले विगतको पाठबाट सिकेर बलियो रूपमा काङ्ग्रेस अघि बढ्नुपर्ने उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, अब सधैँ हारको मानसिकता लिने, नेतृत्वलाई मात्र गाली गर्ने र काङ्ग्रेस खतम भयो भन्नेजस्ता अभिव्यक्ति पार्टीकै जिम्मेवार व्यक्तिले भन्ने गर्नाले अबका निर्वाचनमा काङ्ग्रेसलाई झन कमजोर बनाउछ भन्ने तथ्य सबैले बुझ्नुपर्ने उहाँको सुझाव थियो ।
काङ्ग्रेसले इतिहासमा ठूला काम गरेको छ र देशमा महत्वपूर्ण परिवर्तनको घडीमा सधैँ काङ्ग्रेस नै चाहिएको वास्तविकतालाई अब पार्टीले दरिलो प्रचार संयन्त्रमार्फत जनतामा पुर्याउनुपर्ने काममा लाग्न उहाँले सबैलाई आग्रह पनि गर्नुभयो ।
प्रतिक्रिया