चिकित्सा शिक्षा ऐन, डा.केसीको मुख्य माग

चिकित्सा शिक्षा ऐन, डा.केसीको मुख्य माग


मेडिकल क्षेत्र सुधारका लागि प्रयासरत डा.गोविन्द केसीले चिकित्सा शिक्षा ऐन पारित र त्रिवि पदाधिकारी बर्खास्त गर्नु पर्नेसहितका माग राखेर अनसन सुरु गरेका छन् । उनको ११ औं अनसनको मुख्य माग चिकित्सा शिक्षा ऐन पारित र त्रिवि पदाधिकारी बर्खास्त रहेका छन् ।

सरकारले दुई दिन अगाडि डा.केसीलाई पत्र पठाउँदै माग पूरा गर्ने प्रक्रिय रहेको हुँदा अनसन नबस्न आग्रह गरेको थियो । डा.केसीका मागसहितका विषयमा छलफल गर्न संसदको महिला बालबालिका तथा समाजकल्याण समितिले भोलि मंगलबार ३ बजेलाई बोलाएको छ।

महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालको इएनटी बिल्डिङ, तेस्रो तला लबीमा भेला भएका सञ्चारकर्मीबीच आफ्ना माग पढेर सुनाउँदै उनले अनसन थालेका हुन् । आज बिहान पूर्वस्वस्थ्यमन्त्री गगन थापासहित त्रिवि उपकूलपति तीर्थ खनियाँ र केसी पक्षीय चिकित्सकहरुको बैठक गरी समाधान खोज्ने प्रयास भएको थियो ।

त्यही बैठकमा गरेको प्रतिबद्धताअनुसार त्रिविले सोमबार दिउँसो आइओएममा क्याम्पस प्रमुखलगायतका रिक्त पदाधिकारीको नियुक्ति गरेको थियो । मेडिकल माफियाविरुद्ध संघर्षरत उनको यो ११ औं अनसन हो ।सो क्रममा त्रिविले आइओएमको खोसिएको भनिएको अधिकार आइओएमको प्रस्ताव आधारमा फिर्ता गर्ने बचनसमेत उपकुलपति खनियाँले दिएका थिए ।

गत वैशाखमा त्रिविले नियमावली संशोधन गरी शुल्क र सिट निर्धारणको अधिकार आइओएमबाट खोसेको थियो। डा.केसीले भने राजनीतिज्ञ तथा त्रिवि पदाधिकारीहरुको बोली र व्यवहारको ठेगान नभएको भन्दै सर्वसाधारणलाई आफूले उठाएका मुद्दामा साथ दिएर अघि बढ्न अनसनको विकल्प नभएको उल्लेख गरेका छन् ।