फेरि गरे प्रचण्डले एकताको आग्रह

फेरि गरे प्रचण्डले एकताको आग्रह


माओवादी केन्द्रसँग मिलेर अघि बढ्ने कल्पना आफूले नगरेको अभिव्यक्ति नयाँ शक्तिका डा. बाबुराम भट्टराईले दिन थालेकै बेला माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले विभिन्न धारामा विभक्त माओवादी समूहलाई एकतामा ल्याएरै छाड्ने दृढता प्रकट गरेका छन् । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको स्मृति दिवसका अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताले माओवादी मिल भन्ने जनादेश दिएको दाबी गरे । माओवादी आन्दोलनको मूल प्रवाह माओवादी केन्द्र नै भएको पुष्टि भएको उनको दाबी थियो ।

माओवादीको केन्द्रीय कार्यालयको विस्तारित बैठकले पार्टी एकताका लागि विशेष प्रस्तावसमेत पारित गरेको सम्झाउँदै उनले एकताको विकल्प अब नरहेको तर्क गरे भने एकतामा आउन मोहन वैद्य, नेत्रविक्रम चन्द र बाबुराम भट्टराईलाई प्रचण्डले आग्रह गरे । ‘अब छुट्टाछुट्टै बसेर जनता र राष्ट्रको चाहना पूरा हुन सक्दैन र क्रान्तिको उपलब्धिको समेत रक्षा हुन सक्दैन । आउनुस्, एउटै पार्टीमा बसेर नमिलेका कुरा मिलाउँला, एकता आजको प्रमुख आवश्यकता हो’- प्रचण्डको भनाई थियो ।