संविधान संशोधनमा सघाउन आग्रह गर्दै काङ्ग्रेस बैठक सम्पन्न

संविधान संशोधनमा सघाउन आग्रह गर्दै काङ्ग्रेस बैठक सम्पन्न


नेपाली काङ्ग्रेस केन्द्रिय कार्यसमिति बैठक संविधान संशोधन विधेयक पारित गरी संविधानको स्वीकार्यता विस्तार गर्न र आगामी सबै तहका निर्वाचनको वातावरण सहज बनाउन सबै राजनीतिक दललाई अपिल गर्ने निर्णय गर्दै सम्पन्न भएको छ । स्थानीय तहको दुई चरण निर्वाचनको समीक्षामा बढी नै समय खर्चिएको काङ्ग्रेस बैठकले व्यवस्थापिका संसदमा विचाराधीन रहेको नेपालको संविधान संशोधन विधेयकको संशोधन प्रक्रियामा सहयोग गर्न प्रमुख प्रतिपक्षीलगायत सबै राजनीतिक दललाई अपिल गरेको छ ।

पार्टी केन्द्रीय कार्यालयमा सानेपामा सोमबार सम्पन्न बैठकले संसदमा विचाराधीन संविधान संशोधन विधेयक पूर्वसहमति अनुरुप पेश गरी पारित गर्न पार्टी तयार रहेको जनाउँदै बैठकले नेकपा (माओवादी केन्द्र), लोकतान्त्रिक मधेशी मोर्चा, संघीय गठबन्धन, राष्ट्रिय जनता पार्टीलगायत सबै राजनीतिक दलसँग विगतमा भएका सबै सहमति कार्यान्वयन गर्न कांग्रेस प्रतिबद्ध रहेको र ती सहमतिअनुरुप कार्य गर्न सरकारसँग आग्रह गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री एंव पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको सो बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचन सम्पन्न गर्न कानूनी व्यवस्था र शान्ति सुरक्षालगायतका सबै आवश्यक प्रबन्ध गर्न तथा राजनीतिक वातावरण बनाउन सरकारलाई अनुरोध गर्दछ ।’

संविधानको सर्वस्वीकार्यता स्थापित गर्ने, संविधानको कार्यान्वयन गर्दै संविधानमा उल्लेख भएको समय सीमाभित्र स्थानीय तह, प्रदेश सभा र संघीय संसद्को निर्वाचन गर्नु राष्ट्रिय एजेण्डा भएको सो पार्टीले जनाएको छ ।

स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचन स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण ढंगले सम्पन्न हुनु संविधानको कार्यान्वयनको सन्दर्भमा अत्यन्त महत्वपूर्ण कार्य भएको उल्लेख गर्दै विज्ञप्तिमा यस ऐतिहासिक कार्यको कांग्रेसले नेतृत्व गर्न सफल भएकोमा गर्वानुभूति गरिएको जनाइएको छ ।
उम्मेदवारी चयनमा ढिलाइ हुनु, आन्तरिक द्वन्द्व, असन्तुष्टि व्यवस्थापन गर्न समयको अभाव र कतिपय स्थानमा पार्टीकै साथीबाट असहयोग र अन्तरघात भएका कारण स्थानीय तहको दुई चरणको निर्वाचनमा आशा गरेअनुसारको पार्टीले परिणाम प्राप्त गर्न नसकेको ठहर पनि बैठकले गरेको छ ।

निर्वाचनका सन्दर्भमा पार्टीबाट भएका कमी कमजोरी सच्याउने र निर्वाचनमा पार्टीका उम्मेदवारलाई असहयोग गर्ने वा अन्तरघात गर्ने पार्टी सदस्यलाई पार्टीको विधान र नियमावलीबमोजिम आवश्यक कारवाहीका लागि आन्तरिक प्रक्रिया प्रारम्भ गर्ने कांग्रेसको भनाई छ ।

बैठकले तेस्रो चरणको स्थानीय तहको निर्वाचनका सन्दर्भमा यही साउन ५ र ६ गते काठमाडौँमा सम्पन्न प्रदेश नं २ का केन्द्रीय सदस्य, जिल्ला सभापति, जिल्ला सभापतिका निकटतम प्रतिस्पर्धी, सांसद, पूर्व केन्द्रीय सदस्य, पूर्वमन्त्री, पूर्व सांसद, क्षेत्रीय सभापति, संविधानसभा सदस्य निर्वाचन २०७० का प्रत्यक्ष तर्फका उम्मेदवारका प्रत्यासी, नगर सभापति समेतका नेताको भेलाले निकालेको निष्कर्षलाई सकारात्मक रुपमा ग्रहण गर्ने निर्णय गरेको छ ।

बैठकलाई सम्बोधन गर्दै सभापति देउवाले निर्वाचनको प्रक्रियामा मुलुकका सबै राजनीतिक दलहरु आउनु भनेको लोकतान्त्रिक मूल्य मान्यता र संघीयता कार्यान्वयनमा ठूलो उपलब्धि हासिल भएको बताए । स्थानीय तहको पहिलो र दोस्रो चरणमा निर्वाचनको समीक्षा, प्रदेश नं २ को निर्वाचनको तयारी एंव समासायिक विषयमा केन्द्रित तीन दिनसम्म चलेको उक्त बैठकमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, महासचिव डा. शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, केन्द्रीय सदस्य प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, पूर्णबहादुर खड्का, डा. रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, महेश आचार्य, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, रमेश रिजाल, डा. नारायण खड्का, डा मीनेन्द्र रिजाल, डा प्रकाशशरण महत, फरमूल्लाह मन्सुर, मानबहादुर विश्वकर्मालगायत नेताले आ–आफ्नो धारणा राखेका थिए ।