नेपाली काङ्ग्रेसको सोमबार सम्पन्न केन्द्रिय कार्यसमिति बैठकमा पार्टीका प्रभावशाली नेता डा. रामशरण महतले स्थानीय तहको निर्वाचनमा पार्टीले अपेक्षित परिणाम हासिल गर्न नसक्नुमा पार्टीको व्यवस्थापकीय एवम् सङ्गठनात्मक कमजोरी एक कारकतत्व रहेको औंल्याउनुभएको छ । बैठकमा आफ्नो धारणा राख्दै नेता डा. महतले सङ्गठनात्मक र व्यवस्थापकीय कमजोरीका कारण शहरी क्षेत्रको भोट खस्किएको बताउनुभयो ।
काङ्ग्रेसले विगतमा गरेका सकारात्मक एवम् महत्वपूर्ण कामबारे आमजनतामा प्रभावकारी ढङ्गले लैजान र जनतालाई बुझाउन नसकेको उल्लेख गर्दै डा. महतले पार्टीको प्रचार संयन्त्र फितलो सावित भएको आरोपसमेत लगाउनुभयो । पहिलो नम्बरमा रहेको पार्टीले अनपेक्षित परिणाम ब्यहोर्नुमा विगतको सरकारका कतिपय निर्णय जिम्मेवार रहेको र त्यस्ता अलोकप्रिय निर्णयमा काङ्ग्रेसले दर्शाएको सहमतिलाई आम मतदाताले नरुचाएको उहाँको भनाई थियो ।
राजदूतको चयन, आइजीपी नियुक्तिमा विवादलगायतका पुराना मामलातर्फ सङ्केत गर्दै नेता महतले पार्टी–सभापतिले महत्वपूर्ण निर्णय गर्नुपर्दा पार्टीमा परामर्शको घेरा फराकिलो पार्नुपर्ने सुझाव दिनुभयो । विगतमा विद्रोही शक्तिका रूपमा चिनिएको माओवादीलाई लोकतान्त्रिकरणको मूल प्रवाहमा ल्याउन उसँग गरिएको सत्ता–साझेदारीले अहम् भूमिका खेलेको स्वीकार गर्दै डा. महतले पार्टी–बैठकमा भन्नुभयो– ‘प्रचण्ड तथा उनको पार्टीले संसद्वादलाई पछ्याउनु सकारात्मक भए पनि काङ्ग्रेसको काँध चढेर माओवादी केन्द्रले सत्ताको दुरुपयोग गरेको छ । काङ्ग्रेसले बढी नै पुल्पुल्याइदिँदा माओवादीले हैसियतभन्दा बढ्ता स्थान र मान पाएको छ, ज्यादा नै लाभ उठाएको छ । माओवादीलाई मूलप्रवाहीकरणमा आवद्ध गराउन खोज्दा नेपाली काङ्ग्रेसलाई भने चुनावमा ठूलै क्षति पुगेको छ ।’
प्रतिक्रिया