(कविता)आँट, पहाड नाँघ्न बाँकी नै छ

(कविता)आँट, पहाड नाँघ्न बाँकी नै छ


-सुमलकुमार गुरुङ
भन्छौ तिमी जिन्दगी चिप्लिएर जाँदैछ,
समय पकड्ने कोशिसमा जीवन सकियो
फुत्किएर जाने मौका यो कहिल्यै समातेनौ
जहिले पनि थाप्लोलाई दिँदै दोष
कहिलेसम्म बड्बडाउँछौ ?
आँखा खोलेर हेर तिम्रा मौकाहरु हत्केला भरिन्छन् ।

भन्छौ तिमी समयले साथ दिएन
गर्ने रहरहरुमा ग्रहण लाग्यो
कसैले साथ दिएन सबै अफान्तभित्र हराए
भएँ म एक्लो पथिक स्वार्थी दुनियाको मैलो आहालभित्र
भ्रष्टचार, नातावाद, कृपावादलाई कति गाली गर्छौ
मनलाई चिमोटेर हेर तिम्रा विश्वासहरु मरेका छैनन् ।

इच्छाको गागरी कहिल्यै नभर्ने
च्ााहना भोको पेट बन्दै जिन्दगीको बाटो बन्छ यो
अनि दगुर्दै जान्छौ रेसको घोडाझैं
अरुको तरक्की र उन्नतिको वेगमा आफै अतासिँदै
अनि भन्छौ तिमी भाग्यले साथ दिएन म माथि पुग्न सकिनँ
आफैलाई खोजेर हेर तिमीभित्रको अपार शक्ति निभेको छैन ।

ओह्राली उकाली, भन्ज्याङ जिन्दगी
बाटोहरु कहिल्यै राजमार्ग बनेनन्
गोरेटो खन्दै हिँडेका पाइलाहरुले काँडाहरु पन्छाउँदै
एउटा जिन्दगीबाट अर्को जिन्दगी खोज्ने मनहरु
अनि थाके म भन्छौ प्रत्येक बिहानको रेशमी उदाउँदा
विश्वास आफैलाई गर, आँट तिम्रो पहाड नाँघ्ने अझ बाँकी नै छ ।